ललितपुर: वर्षा र सहकालका देवता करुणामय बुंगद्य: (रातो मछिनद्रनाथ) र मीननाथ को रथयात्रा जेठ २६ गते सकिएको थियो।
त्यस दिन जावलाखेलमा भोटोजात्रा पछि रातो मछिन्द्रनाथको मूर्तिलाई छ्वाली बालेर बुंगमतीमा विराजमान गरिन्छ। मानिसहरु मूर्तिलाई बुंगमती पुर्याएसँगै रातो मछिन्द्रनाथको जात्रा समापन भएको ठान्छन्। तर, त्यसो होइन।
त्यस दिन रातो मछिन्द्रनाथ र मीननाथको रथयात्रा मात्रै सकिएको हो। तान्त्रिक विधिबाट जात्राको औपचारिक समापन आज मात्रै भयो।
साइत अनुसार आज बिहान ११ बजेदेखि लगनखेलमा रहेको बटुक भैरव मन्दिरमा पानेजु (पुजारी) हरुले तान्त्रिक विधिमा पूजा गर्न व्यस्त थिए। उनीहरुले त्यहाँ मछिन्द्रनाथ र मीनानाथ को जात्रा समापन भएको सूचना इन्द्रलोक र यमलोक (पाताल) पठाउनका लागि बौद्ध तान्त्रिक विधिबाट मासाहुती यज्ञ गरेका थिए।
यज्ञ समापन भएपछि पानेजुहरुले एक जोडी भंगेरा उडाए। भंगेराले स्वर्गमा इन्द्र देवतालाई गएर रातो मछिन्द्रनाथ र मीनाथको जात्रा समापन भएको सन्देश प्रवाह गर्ने जनविश्वास रहेको छ।
त्यसपछि रातो कपडा लगाएका एक पानेजुले एक जोडी माछा रहेको पहेंलो बाल्टिन हातमा लिए र सप्तपाताल पोखरी तिर लागे। सप्तपाताल पोखरीमा छोडिएको एक जोर माछाले पातालमा रहेको नाग देवताकहाँ जात्रा समापन भएको सन्देश पुर्याउने मान्यता छ।
त्यसैलाई निरन्तरता दिँदै आज बेलुकी पानेजुहरु सप्तपाताल पोखरी पुगे।
तर, पानेजुहरुले सप्तपाताल पोखरीमा विधिपूर्वक माछा छोड्न भने सकेनन्। कारण - हाल सप्तपाताल पोखरी पानीले होइन झारपातले भरिएको छ। करिब १४ रोपनीमा फैलिएको पोखरी हाल फोहोर फ्याक्ने स्थान भएको छ।
पोखरी झारपातले भरिएपनि विधिपूर्वक पोखरीमा नै माछा छाड्नु पर्ने थियो। त्यसैले माछा छोड्न भएपनि फोहोर र झारपातले भरिएको पोखरीमा सानो खाल्डो बनाइयो र ट्याङकरबाट खाल्डोमा पानी राखियो।
पानेजुहरु झारपातले भरिएको 'पोखरी' तिर लागे र कृत्रिम रुपमा बनाइएको खाल्डोलाई पोखरी मानेर एक जोडी माछा छाडिदिए।
करिब १५ वर्ष भन्दा बढी भइसक्यो पानेजुहरुले तान्त्रिक विधि पुर्याएर सप्तपातालमा माछा छाड्न नपाएको। यसरी कृत्रिम खाल्डोमा छोडिएका माछाहरुले पातालमा गएर जात्रा सकिएको सन्देश देलान भन्नेमा पानेजुहरुलाई शंका छ।
**
लगनखेलबाट सातदोबाटो जाने बाटोमा करिब दुई हजार वर्ष पुरानो अशोक स्तूप छ। स्तूपको बायाँ पट्टी रहेको सप्तपाताल पोखरीलाई अहिले भने स्तूप र पोखरीलाई मालपोत कार्यालय जाने सानो बाटोले छुट्याएको छ।
स्थानीय प्रकाश अमात्यका अनुसार करिब १४ रोपनीमा फैलिएको सप्तपाताल पोखरी अहिले करिब करिब दुई रोपनीमा सिमित हुँदै 'डम्पिङ साइट' भएको छ।
हाल लगनखेलबाट सातदोबाटो निस्कने बाटोको दायाँ पट्टी नेपाल सेना रहेको ब्यारेक र पेट्रोल पम्प, ललितपुर जिल्ला अदालत ,मालपोत कार्यालय लगायत सरकारी कार्यलयहरु रहेको छ। अमात्य सप्तपाताल पोखरीको जग्गामा नै यी सरकारी कार्यालयहरु ठडिएको बताउँछन्। हाल ती कार्यालयहरुले पोखरीको सार्वजनिक जग्गा पनि कित्ताकाट गरेर लगिसकेको स्थानीय बताउँछन्।
यसको जवलन्त उदाहरण हो सप्तपाताल पोखरीको जग्गामा निर्माण भएको मछिन्द्र माध्यामिक विद्यालय। सार्वजनिक ' सप्तपाताल पोखरी'को लालपूर्जा विद्यालयकै नाममा रहेको बताउँदै अमात्य भन्छन्,' विद्यालयमा रहेका केही व्यक्तिको नीजि स्वार्थमा बांकी रहेको पोखरीको जमिनमा भौतिक संरचना बनाउने प्रयास भइरहेको छ। केही महिना अघि मात्रै पोखरीको जग्गामा भवन बनाउन लागिएको थियो। विरोधपछि त्यो हुन सकेन। जबकी यो पोखरीको मुद्दा सर्वोच्चमा विचारधीन रहेको छ।'
२०६१ सालमा नै पोखरी बचाउन भनेर अदालतमा स्थानीयहरुले मुद्दा दायर गरेका थिए। एकपटक त मुद्दा जिते पनि। पछि मुद्दा सर्वोच्चसम्म पुग्यो। तर अहिले सम्म पोखरीका बारेमा अन्तिम निर्णय हुन सकेको छैन।
त्यसैको फाइदा उठाउँदै स्कूलले पोखरी पुनर्निमाणमा समेत अवरोध गरिरहेको प्रकाश बताउँछन्। भन्छन्,' ललितपुर महानगरपालिकाले पोखरी ब्युताउँने भन्दै बजेट छुट्याउने भनेको छ। तर यता विद्यालय भने पोखरीको जमिन आफ्नो रहेको भन्दै त्यसो गर्न दिइरहेको छैन। लालपूर्जा भएपनि ऐतिहासिक प्रमाणहरु हामीसँग छन्। तस्विरहरुमा त्यहाँ विशाल पोखरी रहेको देखिएको छ। मालपोतको फिल्ड बुकमा त्यहाँ पोखरी नै छ।'
सर्वोच्चबाट मुद्दाको फैसला के हुने हो थाहा छैन। तर, त्यो बेलासम्म आफ्नो संस्कृति र परम्परा मेटिन नदिन ललितपुरका स्थानीयहरु हरेक वर्ष सप्तपाताल पोखरी पुगेर खाल्डोमा भएपनि माछा छोडिरहेका छन्।
प्रकाश भन्छन्,' यसपटक पनि खाल्डोमा ट्याङकरबाट पानी हालेर मन बुझायौं। कहिले सम्म यसरी मन बुझाउनुपर्ने हो थाहा छैन। हामीलाई बांकी रहेको पोखरीमा पनि भवन बन्ला भन्ने डर छ। यसरी त मछिन्द्रनाथको जात्रामै असर पर्छ।'
यो पनि : 'अस्थायी मन्दिर' मा रातो मछिन्द्रनाथ