PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

प्रहरीको कुटाइबाट पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कार्की गम्भीर घाइते



पहिलोपोस्ट

प्रहरीको कुटाइबाट पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कार्की गम्भीर घाइते

सिन्धुलीः नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की (राजन) प्रहरीको कुटाइबाट गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत दुई प्रहरीले गएराति पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कार्कीलाई कुटपिट गरेका हुन्।

घाइते कार्कीको सिन्धुलीमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ लगिएको छ। शनिबार राति सिन्धुलीको शिवनगरको एक होटलमा खाजा खाँदै गर्दा जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत काभ्रे खावा -६ घर भएका ३० वर्षीय प्रहरी हबल्दार सनमसिं लामा र काभ्रे पनौती–७ बस्ने २८ वर्षीय प्रहरी जवान विकास स्याङतानले तरिकाले कुटपिट गरेका हुन। अध्यक्ष कार्कीको टाउकोमा गम्भीर चोट लागेको सिन्धुली अस्पतालले जनाएको छ।

पत्रकार महासंघ सिन्धुली शाखा पूर्वअध्यक्ष मीनकुमार दाहालसँग कुरा गरिरहेका बेला प्रहरी हबल्दार सनम लामाले मोबाइलमा भिडियो कैद गरेको र भिडियो किन खिचेको डिलिट गर्नुस् भन्दा दुई प्रहरीले मोटरसाइकलको हेल्मेटलगायतका अन्य वस्तुले टाउकोमा हिर्काइ भागेको दाहालले बताए।

पहिला फोटो खिचेर बाहिर कतै पठाएको अनि पछि भिडियो खिच्ने बहाना बनाएर कुटपिट भएको उनको भनाइ छ। प्रहरीको कुटाइबाट आफू पनि सामान्य घाइते भएको उनले बताए।

नेपाल पत्रकार महासङ्घले घटनाको विरोध गर्दै घाइतेको उपचार र दोषीलाई कानूनी कारवाही गर्न माग गरेको छ। पत्रकार महासंघ सिन्धुलीका अध्यक्षलाई प्रहरीले नै कुटपिट गरेको तर प्रहरी प्रमुख तथा प्रमुख जिल्ला अधिकारीबाट घटनाको विषयमा सन्तोषजनक सम्बोधन नभएको पत्रकार महासंघ सिन्धुलीका उपाध्यक्ष विमला पाण्डेले बताए।

यता जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा राति नै पत्रकारले कार्यालय घेराउ गरेपछि प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले दुवै प्रहरी नियन्त्रणमा रहेको र आवश्यक अनुसन्धान गरेर दोषी भए कारवाही गर्ने बताएको छ। घाइतेको उपचार गर्ने व्यवस्था मिलाउने प्रतिबद्धतासमेत उनले गरेका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell