
कोपा अमेरिकामा अर्जेन्टिना तेस्रो भएको छ। आइतबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले चिलीलाई २–१ ले पराजित गर्यो।
अर्जेन्टिनाका लागि सर्जियो अग्युरो र पउल डिबालाले गोल गरे। दुवै गोल खेलको पहिलो हाफमा भएका थिए। १२औँ मिनेटमा अर्जेन्टिनाका लागि अग्युरोले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। २२औँ मिनेटमा डिबालाले गोल गर्दै अग्रता दोब्बर बनाए।
खेलको ३७औँ मिनेटमा अर्जेन्टिनाका लिओनल मेसी र चिलीका ग्यारी मेडाल दुवैले रेड कार्ड पाएका थिए। दुवैले एक अर्कालाई ठेलाठेल गरेपछि रेफ्रीले कार्ड दिएका थिए।
मेसीले १४ वर्षपछि करिअरमा दोस्रो रातो कार्ड पाएका हुन्।
खेलको ५९औँ मिनेटमा चिलीले पेनाल्टीमार्फत गोल फर्काएको थियो। अर्टुरो भिडालले पेनाल्टीमार्फत गोल गरेका थिए।
कोपा अमेरिकाको उपाधिका लागि ब्राजिल र पेरु एकापसमा भिड्दैछन्।