कैलाली: विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीले सुदूरपश्चिमका ६ दर्जन बढी स्थानीय तहका कार्यालयमा तालाबन्दी गरेको छ। तराईका २ र पहाड सात जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख कार्यालय र वडा कार्यालयहरूमा तालाबन्दी गरिएको हो।
तालाबन्दीपछि तराइका जिल्लामा प्रहरीको अगुवाइमा ताला फोड्ने र कामकाज सुचारु गर्ने कार्य भएको छ। पहाडमा पनि अधिकांश कार्यालयमा ताला फोडेर कामकाज सुरु गरिएको र कतिपय विकट स्थानीय तहमा भने ताला खोलेर काम गर्न असहज देखिएको छ।
कैलालीका विभिन्न वडा कार्यालयमा गरिएको तालाबन्दी फोडेर कामकाज सहज रूपमा सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए। '१२ वडा कार्यालयमा तालाबन्दी र १३ वडा कार्यालयमा सेती महाकाली ब्युरो लेखिएको पर्चा राखेको पाइएको छ। काम भने अहिले सबै ठाउँमा सुचारु भइसकेको छ,' बस्नेतले भने।
अछाममा ७ वटा वडा कार्यालयमा तालाबन्दी गरिएको पाइएको अछामका प्रहरी नायव उपरीक्षक जनकबहादुरी शाहीले बताए। ३ वटा कार्यालयको ताला फोडेर काम सञ्चालन भइरहेको र अरू खोल्ने क्रम जारी रहेको उनले बताए। 'बस्ती र भाटाकाटीया क्षेत्रमा भने पुग्न अझै ६/७ घण्टा लाग्ने देखिएको छ,’ उनले भने ‘त्यहाँ ताला खोल्न केही ढिला हुनसक्छ। हामीले प्रहरीका २ टोली परिचालन गरिसकेको छौँ।’
कञ्चनपुरमा भीमदत्त नगरपालिका, बेदकोट र शुक्लाफाँटा नगरपालिकाको कार्यालयमै तालाबन्दी गरिएको पाइएको कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए।
अहिले प्रहरीले ताला फोडेर काम सञ्चालनमा सहजता प्रदान गरेपछि सेवा प्रवाह भइरहेको उनको भनाई छ।
विप्लव निकटका नेताहरूले पूर्व घोषित कार्यक्रम अनुसार स्थानीय तहमा तालाबन्दी गरिएको जनाएका छन्। सेती महाकाली ब्युरोको पूर्व घोषित कार्यक्रम अनुसार सुदूरपश्चिमका ६ दर्जन बढी वडा कार्यालयमा तालाबन्दी गरिएको विप्लवका एक नेताले बताए।
'दलाल पुँजीवादी संसदीय व्यवस्थाको अन्त्यका लागि हामीले सामाजिक दलाल पुँजीवादी सरकारका सम्पूर्ण सरकारी अखडाहरूमा तालाबन्दी गरेका हौँ,’ उनले भने ‘संवैधानिक व्यवस्थामै उल्लेखित अधिकारको प्रयोग गरेर शान्तिपूर्ण ढङ्गबाट पार्टीले आफ्ना कामकाज अगाडि बढाउँदा बढाउँदै पनि राज्यले हामीमाथि प्रतिबन्ध लगाएर युद्धको घोषणा गरेको छ। सरकारले जनताका अधिकारलाई बन्दुकले कुल्चने काम गर्छ भने त्यसको जवाफ हामीले पनि त्यसरी नै दिन तयार छौँ।’