
घरेलु टोली ब्राजिलले कोपा अमेरिका २०१९ को उपाधि जितेको छ। विश्वकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिताको रुपमा रहेको कोपाको सोमवार बिहान सम्पन्न ४६औं संस्करणको फाइनलमा पेरुलाई ३-१ ले पराजित गर्दै ब्राजिल च्याम्पियन बनेको हो। ब्राजिलका लागि गोलकर्ता गाब्रीएल जेससलै दोस्रो हाफमा रातो कार्ड पाउँदा दश खेलाडीमा रहेर खेल अन्त्य गरेको थियो।
२००७ मा अर्जेन्टिनालाई हराउदै च्याम्पियन बनेयता ब्राजिलले पहिलो उपाधि जितेको हो। ब्राजिलको यो समग्रमा नवौं उपाधि हो। सर्वाधिक उपाधि जित्नेमा उरुग्वे (१५) र अर्जेन्टिना (१४) ब्राजिल भन्दा अगाडि छन्।
माराकाना रंगशालमा भएको खेलमा ब्राजिलका लागि गाब्रिएल जेसस, एभरटन र रिचिलर्सनले एक-एक गोल गरे। पेरुका लागि पउलो गुरेरले पेनाल्टीमा एक गोल फर्काए। समूह चरणमा यी दुई टोलीबीच खेल हुँदा ब्राजिलले ५-० को जित हात पारेको थियो।
घरेलु मैदानमा एभरटनले १५औं मिनेटमा गोल गर्दै ब्राजललाई अग्रता दिलाएका थिए। ४४औं मिनेटमा गुरेरोले पेरुका लागि पेनाल्टीमा बराबरी गोल पर्काए। पहिलो हाफको इन्जुरी टाइममा जेससले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए।
७०औँ मिनेटमा जेसस रातो कार्ड खाँदै मैदान बाहिरिँदा ब्राजिल दश खेलाडीमा झर्यो। तर त्यसको फाइदा पेरुले उठाउन सकेन। उल्टै इन्जुरी टाइममा रिचिलर्सनले गोल थप्दै ब्राजिलको जित पक्का गरेका थिए।
ब्राजिललाई १२ वर्षपछि उपाधि जिताउने कप्तान डानी अल्भेज प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए। यस्तै ३ गोल गर्नुका साथै १ असिस्ट गरेका ब्राजिलकै एभरटनले सर्वाधिक गोलकर्ताको अवार्ड पाए भने ब्राजिलका गोलकिपर एलिसन बेकरले गोल्डेन ग्लोभ्स अवार्ड पाए।
फियर प्लेको अवार्ड पनि ब्राजिलले नै पायो।