PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

कोटेश्वर - कलंकी सडकको त्रुटि अब विस्तार हुने महाराजगञ्ज -कलंकीमा पनि दोहोरिएला?



दिनेश खड्का

कोटेश्वर - कलंकी सडकको त्रुटि अब विस्तार हुने महाराजगञ्ज -कलंकीमा पनि दोहोरिएला?

काठमाडौं : कलंकीदेखि कोटेश्वरसम्म चिनियाँ सहयोगमा सडक बिस्तार भएर हस्तान्तरण समेत भइसकेको छ। केही प्राविधिक त्रुटिसहित तयार भएर हस्तान्तरण भएको आठ लेनको यो मार्ग पछि केही सुधार पनि भयो। फराकिलो सडक र तीव्र गतिमा सवारी कुदाउने प्रवृत्तिले कलंकी कोटेश्वर खण्डमा दुर्घटना पनि बढ्यो। यस खण्डले दिएको ज्ञान अब बिस्तार हुने सडकमा कति लागू हुन्छ?

चक्रपथको दोस्रो खण्ड कलंकी-महाराजगंज सडक विस्तारको काम सुरु हुने तयारीसँग यस्तो प्रश्न उठ्नु स्वभाविक पनि हो। किनकि अब बिस्तार हुने सडकमा तिनैखालको गल्ती दोहरिने त होइन?

एक साताभित्रै नेपाली र चिनियाँ अधिकारीबीच काम सुरु गर्ने विषयमा सहमति हुन लागेको सडक विभागका विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए। उनका अनुसार ५/७ दिनभित्रै चिनियाँ टोली नेपालमा आउनेछन्। अर्थ मन्त्रालयको समन्वयमा द्वीपक्षीय छलफल र सहमति गर्न लागिएको छ।

आइतबार प्रधानमन्त्री कार्यालयमा कलंकी- महाराजगंज सडकबारे सबै निकाय राखेर छलफल समेत भएको छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वन विभागका महानिर्देशक,खानेपानी तथा ढल निकास विभाग लगायतका सम्बन्धी सबै निकाय राखेर साइट क्लियरको विषयमा छलफल गरिएको हो।

‘चिनियाँहरुले तत्कालै बिजुलीका पोलहरु हटाएर साइट क्लियर भए काम अघि बढाउने भनेका छन्,‘ महाशाखा प्रमुख थापाले भने, ‘हामीले अलिकति चाँडै नै साइट क्लियर गर्नुपर्ने अवस्था आएको छ।‘ महाशाखाका अनुसार केही ठाउँमा भने काम सुरु नगरी विद्युतका पोलहरु हटाउन नमिल्ने अवस्था छ। नेपाल विद्युत प्राधिकरण महानिर्देशक घिसिङले बसुन्धरा- महारागंज होचोस्थानमा रहेको ठाउँमा पोल राख्न नसकिने बताए। यो सडकको पोल हटाउनका लागि अर्थ मन्त्रालयले बजेट समेत दिइसकेको छ।

यो खण्डका लागि पौने ११ करोड रुपैयाँ दिएको हो। प्राधिकरणले पोल हटाउनका लागि ठेक्का मूल्याङकन अन्तिम चरणमा पुर्‍याएको छ। महाशाखाका अनुसार साइट क्लियर भए तीन वर्षभित्र यो सडक तयार हुनेछ। स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयले सडक निर्माणलाई तीब्रता दिन आफैले समन्वय समेत गर्दैछ।

महाशाखाका अनुसार सडक विस्तारको क्रममा केही प्रहरी चौकी र पेट्रोल पम्प हटाउनुपर्छ। सामाखुशीमा रहेको प्रहरी र हलचोकमा रहेको सशस्त्र प्रहरीको पेट्रोल पम्प हटाउनुपर्छ भने सितापाइलामा रहेको नेपाली सेनाको ब्यारेक पनि केही पर्छ। यो बाहेक सडकमा करिब १८ सय वटा रुख काट्नुपर्नेछ। वन विभागले रुख कटानका लागि प्रकृया अघि बढाइसकेको छ। थापाले महाराजगंज क्षेत्रमा सडक विस्तारका लागि सबैभन्दा ठूलो समस्या रहेको बताउँदै तीन सय मिटर खण्डमा सडकको केन्द्रबाट १५/१५ मिटर मात्रै रहेको जानकारी दिए।

‘चक्रपथ निर्माणकै क्रममा स्थानीयले तत्कालीन राजालाई विन्तीपत्र हालेर ३ सय मिटरमा १५ मिटर पाएका रहेछन्,’ उनले भने, ‘चक्रपथको सडक सीमा सेन्ट्रल लाइनबाट २५/२५ मिटर कायम गरिएको छ। त्यहाँ अण्डरपास भए पनि नपुग्ने भएकाले १० मिटर थप लिनुपर्छ।‘

महाशाखा प्रमुख थापा ‘चिनियाँ टोलीले डिपिआर बनाएपछि महाराजगंजको समस्या समाधान हुने विश्वास व्यक्त गर्छन्।

डिपिआरको ड्राफ्ट अनुसार गोगबु र महाराजगंजमा कलंकीको जस्तै अण्डरपास वे निर्माण गरिनेछ। सडक पहिलो फेजमा जस्तै ८ लेनको हुनेछ। तर, डिजाइन भने नयाँ हुनेछ। सडकको बीच भागमा ग्रीनरी मेडियन हुनेछ। सोलार बत्ती, पर्याप्त जेब्रा क्रसिङ, ओभरहेड ब्रिज निर्माण हुनेछ। पहिलो खण्डमा डिजाइनमै त्रुटि भएको पाइएपछि दोस्रो खण्डमा त्यसलाई सुधार गर्न लागिएको छ। यो खण्ड विस्तारका लागि ६ अर्ब लाग्ने अनुमान गरिएको छ। यो सडक चिनियाँ अनुदानमा निर्माण गर्ने गरी द्वीपक्षीय सम्झौता भएको छ।

त्यसैगरी कोटेश्वरदेखि तिलगंगा नेपाल सरकार आफैले बनाउने उनले बताए। अहिले तत्काल कलंकी - महाराजगंज खण्डमा चिनियाँहरुले काम गर्नेछन्। अनि त्यसपछि महाराजगंज- तिलगंगा तेस्रो फेजमा काम हुनेछ। यो खण्ड विस्तार गर्नका लागि चिनियाँसँग आग्रह गरिने छ। यही बीचमा नेपाल सरकारले पनि तिलगंगा-कोटेश्वरको काम अघि बढाउनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell