PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

कुँदेको काठभित्र इन्द्रप्रसादको पुर्ख्यौली शिल्प

कुँदेको काठभित्र इन्द्रप्रसादको पुर्ख्यौली शिल्प

सहयोग रञ्जित/पहिलोपोस्ट


२२ वर्ष अगाडी इन्द्रप्रसाद शिल्पकार स्कुले विद्यार्थी थिए। विद्यालयमा अध्ययनरत छँदा घरमा भने उनको ध्यान घरकै रहेको काठ र ज्यावलमा जान्थ्यो।

उनका बुवा इन्द्रकाजी शिल्पकार काठको काम गर्थे। उनको दैनिकी काठमा चित्र बनाउँदै त्यसलाई विभिन्न आकृति दिँदैमा बित्थ्यो। छोरा इन्द्रप्रसाद आफ्नो बुवाको काष्ठ कलालाई नियाल्ने काम गर्थे।

काठ कुँदेको हेरेर मात्रै मन बुझेन उनको। इन्द्रप्रसादले बाल्यकालमै बुवाले झैँ हातमा ज्यावल (टुचा,लचा) समाए र काठ कुँद्ने प्रयास थाले।

तर बुवा भने उनलाई रोक्ने गर्थे। इन्द्र सम्झन्छन्,'बुबाले काठको काम नगर भन्नु भयो। यसमा राम्रो भविष्य छैन। पैसा पनि कमाउन सकिन्न भन्नुहुन्थ्यो।'

त्यस बेला काठको काम मात्रै गरेर जीविकोपार्जन गर्न गाह्रै थियो। मिहिनेत धेरै लाग्ने ज्याला भने कम पाउने। त्यसैले पनि बुवाले आफूलाई काठको काम गर्न रोक्न खोजेको हुन सक्ने उनले महसुस गरेका छन् अहिले।

बुवाले काठको काम नगर्न भन्दा उनले मानेनन्। मिनपचासको बिदामा घरमा हुँदा ज्यावल समाइ हाल्थे। काठमा बुट्टा भर्न सुरु गर्थे। एसएलसी सकाएर भने इन्द्रप्रसादले पुर्ख्यौली काष्ठ कलाको पेशालाई नै निरन्तरता दिने सोच बनाए।

भक्तपुरबाट काठमाडौँ आए र भोटाहिटीस्थित ललितकला क्याम्पसमा भर्ना भए। त्यहाँबाट स्नातक सकाए र त्रिभुवन विश्वविद्यालयबाट समसामयिक मूर्तिकलामा स्नातकोत्तर गरे।

हाल उनै शिल्पकार आफ्नो पुर्खौली कलाको जगेर्नामा छन्।

बुवासँग विभिन्न मठ मान्दिर घुमेर त्यहाँका काष्ठ कलाबारे अध्ययन गरेका उनी आफ्नो पहिलो एकल काष्ठ कला प्रदर्शनीमा व्यस्त छन्।

बौद्ध टुसालमा रहेको तारागाउँ म्युजियममा एक हप्तादेखि उनले बनाएका काष्ठ कलाको प्रदर्शनी भइरहेको छ। प्रदर्शनीमा उनले बनाएका विभिन्न मन्दिरमा रहेका काष्ठ कलाका प्रतिमूर्ति 'रेपिल्का' राखिएको छ।

कृतिमुख, श्रदुल, टुँडाल,तुँडाल, गन्धर्व, किन्नर, मकर भगीरथ, ग: झ्या, गणेश, बुद्ध, इन्द्र लगायतका कला प्रदर्शनीमा राखिएका छन्।

प्रदेशनी हेर्न आउनेले आफ्नो कामको प्रशंसा गरेकोमा शिल्पकार सन्तुष्ट छन्। धेरैको ध्यान उनले बनाएको यौन सम्बन्धी 'इरोटिक आर्ट' मा जाने गर्छ। यौन शिक्षा दिने हेतुले पहिला मन्दिरका डालहरुमा भगवानको तल यौन समागमका दृश्य राखिने चलन थियो। अहिले मानिसहरूले त्यसलाई अश्लीलताका रूपमा मात्रै व्याख्या गर्न नहुने उनको तर्क छ। प्रदर्शनीमा भने धेरैले यक्त कलालाई सामान्य रूपमा लिइएको उनको भनाई छ।

पाटनमा निर्माण भइरहेको भाइदेगमा समेत सहभागी हुँदै आएका उनी कुशल शिल्पकार नभइदिँदा इतिहास तथा कला, संस्कृत विलीन हुने त होइन भन्ने चिन्तित छन्।

प्रदर्शनी आज सकिँदैछ।



ट्रेन्डिङ पोस्ट

Ncell