काठमाडौँः आइसीसी टी-ट्वान्टी वर्ल्डकप एसिया रिजन छनोट खेल्ने नेपाली टोलीको बिदाई गरिएको छ। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले खेलाडीको बिदाई गरेका हुन्।
कप्तान पारस खड्काको नेतृत्वमा रहेको सदस्य सचिव सिलवालले बिदाई गरेका हुन्। नेपाली टोली आज १ बजे मलेसिया प्रस्थान गर्दैछ।
पारससहित १२ खेलाडी, मुख्य प्रशिक्षक उमेश पटवाल, म्यानेजर रमन शिवाकोटी र फिजियो दिनेश भट्ट गरी १५ जना आज जाँदैछन्। १४ सदस्यीय टिममा रहेका मध्ये दुई खेलाडी रोहित कुमार पौडेल र पवन सर्राफल भने हाल मलेसियामा रहेकोले उतैबाट टिममा सामेल हुने म्यानेजर रमन शिवाकोटीले जनाएका छन्। रोहित यू-१९ टिमका कप्तान र पवन उपकप्तान हुन्।
नेपालले मलेसियामा दुई खेल खेल्नेछ। त्यसपछि सिंगापुर प्रस्थान गर्नेछ।
विदेशी प्रशिक्षक उमेश पटवालले टिम सम्हालेपछि नेपालले खेल्न लागेको यो पहिलो प्रतियोगिता हो। पटवालले नेपालको उदेश्य सिंगापुरमा हुने क्वालिफायर जितेर ग्लोबल क्वालिफायरमा पुग्नु नै रहेको बताए। उनले त्यसको लागि तयारी पनि राम्रो भएको बताए।
यस्तै कप्तान पारस खड्काले नेपाली टिम वरीयतामा अरु भन्दा माथि रहेपनि सहज रुपमा नलिएको बताएका छन्। 'टी २० फर्म्याट हो। वर।वर्ल्ड कपको लागि क्वालिफायर हो। त्यसैले पनि हामीले कुनै पनि खेललाई इजी रुपमा लिएका छैनौँ।' पारसले भने 'नेपालले वर्ल्ड कप खेल्ने हो भने यहाँ देखि नै बाटो सुरु हुनेछ।'
सन् २०२० मा अष्ट्रेलियामा हुने टी २० विश्वकपको लागि दोस्रो खुड्किलोको रुपमा रहेको एसियन क्वालिफायरबाट विजेता टिम मात्र ग्लोबल क्वालिफायरमा पुग्नेछ। त्यसैले नेपालको लागि यो क्वालिफायर महत्वपूर्ण छ।
त्यसअघि नेपालले मलेसियामा दुई टी २० म्याच खेल्नेछ। नेपाल र मलेसियाबीच जुलाई १३ र १४ मा किनरारा ओभलमा खेल हुनेछ। मलेसिया दुई खेलका साथै तयारीपछि नेपाल जुलाई २० मा सिंगापुर जानेछ।
सिंगापुरमा जुलाई २२ देखि हुने क्वालिफायरमा नेपाल, मलेसिया, सिंगापुर, कतार र कुवेतले राउण्ड रोविन लिगमा प्रतिस्पर्धा गर्नेछन्। जसबाट अंकतालिकामा शीर्ष स्थानमा रहने टिम विजेता हुादै युएईमा हुने ग्लोबल क्वालिफायर पुग्नेछ।
नेपालले पहिलो खेल जुलाई २३मा कतारसँग खेल्नेछ।
नेपाली टोली : पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), शरद भेषावकर, बसन्त रेग्मी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, प्रदित ऐरी, सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी, ललित नारायण राजवंशी, अभिनाश बोहरा, रोहित कुमार पौडेल, पवन सर्राफ
रमन शिवाकोटी : म्यानेजर/टेक्निकल एनालिस्ट
उमेश पटवाल : कोच
दिनेश भट्ट : फिजियो