PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

सुदूरपश्चिममा बजेट विवाद : सत्तारुढ दलकै सांसदको चेतावनी - 'आफै मिल्न नसके सरकार धेरै दिन टिक्दैन'



एम बम

सुदूरपश्चिममा बजेट विवाद : सत्तारुढ दलकै सांसदको चेतावनी - 'आफै मिल्न नसके सरकार धेरै दिन टिक्दैन'

कैलाली : सुदूरपश्चिम प्रदेश सरकारको बजेट माथि सत्तारुढ दलमै असन्तुष्टि बढेको छ। प्रदेश सरकारले असार १ गते ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै प्रतिपक्षीले अवरोध गरेपछि लगातार ९ पटक सारिएको सुदूरपश्चिम प्रदेश सभाको बैठक आइतबारबाट संचालनमा आएको थियो। शनिवार प्रतिपक्षीसँग भद्र सहमति भएपछि बजेट आएको २२ औँ दिनमा बैठक सञ्चालन भयो।

शनिवार सरकार र प्रतिपक्षी बीच छैटौँ पटकको वार्तामा भद्र सहमति भयो। भद्र भनिएको सहमतिमा के–के कुराहरू उल्लेख छ, त्यो भने बताइएको छैन। यद्यपि, बजेटमा रहेका कमजोरी सच्याउने, बजेट कार्यान्वयन र विकास निर्माणका काममा प्रतिपक्षीलाई पनि सँगै लैजाने जस्ता विषयहरूमा सहमति भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले सहमतिपछि बताएका थिए।

आइतबार बजेटमाथि सामान्य छलफलको बाटो खुलेपछि बजेट आएको २२ दिनपछि सोमबारबाट बजेटमाथिको छलफल सुरु भयो। बजेटमाथि छलफल सुरु भए पनि सोमबार बजेट विरुद्ध साङ्केतिक विरोध स्वरूप सत्तारुढ दलका सांसद भने छलफलमा सहभागी भएनन्। सांसदले छलफलमा भाग लिन नमानेपछि सत्तारुढ दलका प्रमुख सचेतक तारा लामा तामाङ आफैँ छलफलमा सहभागी भएका थिए।

मङ्गलवार बजेटमाथिको छलफलका क्रममा कञ्चनपुरको क्षेत्र नम्बर २ को १ बाट निर्वाचित सत्तारुढ दलका संसद् महेशदत्त जोशीले बजेटमाथि असन्तुष्टि जनाए। प्रतिपक्षीसँग सरकारले गरेको सहमतिलाई इङ्गित गर्दै उनले सरकारले सबैलाई मिलाएर लैजानुपर्ने बताए।

‘सरकार र प्रतिपक्षीबीच भएको भद्र सहमति किन लुकाइयो?,’ उनले प्रश्न गर्दै भने, ‘१४ भाइ मिलेर घ्यू खाने होइन, घ्यूको कटौरा जनतालाई देखाउनुपर्‍यो।’

सो क्रममा आफूहरूले पनि योजनाको माग राखेर सरकारलाई हस्ताक्षर बुझाएको कुराको खुलासा गर्दै उनले भने, 'योजना मागेर त हामीले पनि सरकारलाई हस्ताक्षर बुझाएका थियौँ। प्रतिपक्षी जस्तो थिएन, २५ भाइको त क्लियर थियो, सरकार परिवर्तनको कुरा होइन। योजना मागेर हामी पनि मुख्यमन्त्रीज्युलाई हस्ताक्षर बुझाएका हौँ। त्यसको १२ नम्बरमा मैले पनि दस्तखत गर्‍या छु। पत्रकार साथी माग्दै थिए, दिइन मैले त्यो मेरो काम होइन।’

उनले सरकारले सबैलाई समेटेर लैजान नसके सरकार आफै ढल्ने समेत बताए।

‘२५ भाइसित पनि सम्झौता गरियोस् सरकार,’ उनले अगाडि भने, ‘आफ्ना भाइ यदि गए भने सरकार धेरै दिन टिक्दैन फेरि।’

जोशीले आफ्नो निर्वाचन क्षेत्रका लागि यस भन्दा अघिको बजेट आउँदा देखि नै टिपोट गराइँदै आएका सबै योजना कुनै पनि मन्त्रालयले नसमेटेको भन्दै आपत्ति जनाए।

यस अघि बजेटको विषयमा असन्तुष्टि जनाउँदै सत्तारुढ दलका २४ जना सांसदले सरकारलाई हस्ताक्षर बुझाएका थिए। त्यो गोप्य राखिएको छ।

मङ्गलवारको छलफलमा सत्तारुढ दलकै सचेतक अक्कल बहादुर रावलले पनि सरकारले ल्याएको बजेट सन्तुलित नभएको बताए। उनले सरकारमा बसेका पात्रहरूले आफ्नो क्षेत्रमा मात्रै बजेट राख्ने प्रवृत्ति नौलो नभएको भन्दै यसलाई तोड्नुपर्ने बताए।

बजेटको व्यङ्ग्य गर्दै उनले भने, ‘एउटा हामी गीत पनि सुनिराख्या हुन्छौँ, “रिसाउँदा नि आफ्नै, खुसी हुँदा नि आफ्नै” आखिर जे गरे नि आफ्नै भन्ने जुन एउटा गीत छ, त्यो भन्दै आफ्नो सरकार भएको हुनाले सत्तापक्षको तर्फबाट म यो बजेटको समर्थन गर्दछु।’

यस अघि सोमबारको बैठकमा बजेट विरुद्ध साङ्केतिक विरोध स्वरूप सत्तारुढ दलका सांसदले भाग लिन नमानेपछि सत्तारुढ दलका प्रमुख सचेतक तारा लामा तामाङ आफै सहभागी भएका थिए। सो क्रममा उनले पनि सरकारलाई व्यङ्ग्य गरेका थिए। छलफलको सुरुमै सरकारको व्यङ्ग्य गर्दै उनले भने, ‘एकदमै लोकप्रिय सरकारको एकदमै लोकप्रिय बजेट आएको छ। सरकारले सुदूर पश्चिमवासीका चाहनालाई ध्यान दिएको छु भनेको छ, दिएको पनि होला, छ भनेर भन्नु पर्ने पनि छ।’

उनले प्रदेश सरकारले पहिलो बजेट ल्याउने बेला नै दिएका आफ्ना योजना अहिलेसम्म नसमेटिएको प्रति असन्तुष्टि व्यक्त गरे।

‘गत वर्ष समेटिएका योजनाले यो वर्ष पूर्णता पाउलान् भनेको त कतिपय शून्य बजेटमा गए कतिपय हाइड नै गराइयो,’ उनले अगाडि थपे, ‘कम्युटरको प्रयोगकर्तालाई मात्रै थाहा हुने गरी फाइलहरू हाइड फोल्डरमा राखे जसरी सरकारले योजनाहरू हाइडमा राखिदिएको छ। सायद प्रमुख सचेतकको हो भनेर राखेको होला जस्तो लागेको छ मलाई।’

बजेटले धेरै सांसदहरूको मन खुम्च्याउने काम गरेको बताए। उनले भने, 'सरकारले पक्ष–प्रतिपक्ष नभनी सबैलाई मिलाएर लैजान्छौँ भनेकै छ। त्यसैले हामी विश्वस्त छौँ । त्यसमा विश्वास गर्नु पनि पर्छ।’

बजेट आएदेखि नै त्यसमा असन्तुष्टि जनाइरहेका प्रतिपक्षी दलका सांसदले सरकारले आफूहरूसँग गरेका सम्झौता कार्यान्वयनमा जोड दिँदै आएका छन्। बजेटमाथिको छलफलका क्रममा मङ्गलवार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले सरकारले मनगणन्ते बजेट ल्याएको बताए।

‘विगतमा आफूले ल्याएका आफ्नै योजना पनि सरकारले बिर्सिँदै गएको छ,’ उनले भने, ‘आज सदन एकातिर सरकार एकातिर हुने स्थिति देखिएको छ।’

उनले बजेटले नीतिगत भ्रष्टाचार समेत मौलाउने वातावरण सरकारले गराएको बताए। सत्तारुढ दलका सांसदलाई इङ्गित गर्दै उनले भने, ‘कतिपय बाध्यता होलन, तर आज यहाँ मुटु माथि ढुङ्गा राखी हाँस्नु पर्‍या छ भन्ने जस्तो स्थिति देखिएको छ कतिपय साथीहरूको।’

प्रतिपक्षीका सांसदहरूले सांसदका भन्दा बढी मन्त्री र मन्त्रीका आसेपासे कार्यकर्ताका क्षेत्रमा बढी बजेट गएको आरोप लगाएका छन्।

असार १ गते सुदूरपश्चिम प्रदेश सरकारले २८ अर्ब १६ करोडढ २० लाखको बजेट सदनमा प्रस्तुत गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell