
काठमाडौं : परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले 'एक्सन रुम' निर्माण गर्ने तयारी भइरहेको बताएका छन्। 'नेपालको कुटनीतिक अभ्यास राजदूतहरुको अनुभव' पुस्तक सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै उनले परराष्ट्र मन्त्रालयमा एक्सन रुम तयारीबारे जानकारी दिएका हुन्।
राजदूतहरुले नियमित रिपोर्टिङ गर्नेगरी एक्सन रुम बनाएर अगाडि बढ्ने तयारी भइरहेको उनले बताए। उनले कुटनीतिक क्षेत्रमा असहज अवस्थामै काम गरिरहेको बताए।
उनले नेपालले आफ्नो स्वार्थलाई हेरेर कुटनीतिलाई अगाडि बढाउने दावी पनि गरे। ठूला देशहरुले आफ्नै ढंगले कुटनीतिलाई अगाडि बढाउने भए पनि नेपालजस्तो सानो देशले आफ्नो हितलाई सर्वोपरी राखेर अगाडि बढ्नुपर्ने बताए।
'हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किमलाई उत्तर पानमुनजोममा पुगेर हात मिलाएर फर्किए। हाम्रो जस्तो सानो मुलुकले उत्तर कोरियासँग त्यो सम्बन्ध राख्न सहज नहोला,' उनले अगाडि भने, 'ठूला देशहरुले आफ्नो अरु सामर्थ प्रयोग गर्लान, परम्परा भत्काउँदै नयाँ बसाल्न सक्लान् तर हाम्रो जस्तो देशले प्रयोग गर्ने भनेको कुटनीतिक कोशल नै हो। हामी रुल वेस मल्टिलेटरिज्मलाई हेरेर अगाडि बढ्ने हो।'
राजनीतिक रुपान्तरणको बलमा नेपालले कुटनीतिक बार्गेनिङ क्षमता बढाउनुपर्ने उनको तर्क थियो। 'यसले हाम्रो कुटनैतिक महत्त्व बढ्छ। पासपोर्टको वेट बढ्छ,' उनले भने।
सरकारले राजदूतहरुको नियुक्तिका लागि निर्देशिका तयार गरेको भन्दै मन्त्री ज्ञवालीले उपलब्धहरुबाट राम्रो मान्छे खोज्ने प्रयास गरेको बताए। ५०-५०को अनुपातमा समावेशी समानुपातिक ढंगले राजदूतहरुको नियुक्तिलाई ध्यानमा राखिएको उनको भनाइ थियो।
उनले राजदूतहरुमा तीन वटा महत्त्वपूर्ण गुण हुनुपर्ने समेत बताए। यसरी राजदूत नियुक्त हुनेहरुमा विषयगत ज्ञान हुनुपर्ने उनको भनाइ थियो।
नेपालको बारेमा जानकारी, आफू जाने देशको जानकारी, दुई देशबीचको सम्बन्ध तथा दुई देशबीचको स्वार्थको विषयमा राजदूतहरुमा जानकारी हुनुपर्ने मन्त्री ज्ञवालीले जानकारी दिए।
त्यसका लागि मन्त्रालयले नेपालले कुटनीतिक सम्बन्ध स्थापना गरेका देशहरुको विषयगत प्रोफाइल तयार गरिरहेको जानकारी दिए। 'यसले आगामी दिनमा राजदूत नियुक्त भएर जानेहरुलाई सहज हुनेछ,' उनको भनाइ थियो।
त्यस्तै राजदूतहरु निष्ठावान हुनुपर्ने उनको भनाइ थियो। कतिपय राजदूतहरुले आफ्नो निष्ठा र इमान्दारिता एवं मर्यादा कायम गर्न नसक्दा बेलाबेलामा असहज परिस्थिति व्यहोर्नुपरेको उनको भनाइ थियो।
मन्त्री ज्ञवालीले राजदूतहरुमा नविन सोच हुनुपर्नेसमेत बताए।
'कतिपय प्रतिकुल परिस्थितिमा के गर्ने भन्ने निर्णय क्षमता राजदूतहरुमा हुनुपर्छ,' उनले भने, 'काम गर्दै जाँदा यहाँ मध्यरात होला। कर्मचारी तथा सचिवहरु निद्रामा हुनुहोला। त्यस्तो बेलामा परिस्थितिलाई मूल्यांकन गरेर निर्णय लिन सक्नुपर्यो।'
हामी कुनै अलायन्समा छैनौं
यसैबीच मन्त्री ज्ञवालीले नेपाल कुनै पनि अन्तर्राष्ट्रिय अलाइन्समा नभएको बताएका छन्। पछिल्लो समय अमेरिकाले अगाडि सारेको इन्डो प्यासिफिक स्ट्र्याटेजीको नेपाल सदस्य भएको प्रतिवेदन अमेरिकी रक्षा मन्त्रालयले सार्वजनिक गरेको थियो।
उनले इन्डो प्यासिफिक स्ट्राटेजीको नाम नलिइ भने, 'हामी कुनै अलाइन्समा छैनौँ। कोहीलाई एक्लुसनमा राखेर हुने अलाइन्समा हामी जोडिने छैनौँ। '
नेपालले सबैसँग मित्रता कायम गर्ने बताए। 'मित्रताबाहेक हामीसँग अर्को स्वार्थ छैन। हामीले हाम्रो राष्ट्रिय हितको प्रवर्द्धनका लागि सबैसँग मित्रता राख्छौँ,' उनले भने।
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले प्रकाशन गरेको पुस्तकको सम्पादन विष्णु रिजालले गरेका हुन्। पुस्तकमा २० पूर्व राजदूतहरुको अनुभवलाई समेटिएको छ।