PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

विश्वकप क्रिकेट : भारत भर्सेस न्यूजिल्याण्डबीचको खेल वर्षाका कारण पूरा हुन सकेन, बाँकी खेल बुधबार हुने



पहिलोपोस्ट

विश्वकप क्रिकेट : भारत भर्सेस न्यूजिल्याण्डबीचको खेल वर्षाका कारण पूरा हुन सकेन, बाँकी खेल बुधबार  हुने

आइसीसी विश्वकप क्रिकेट २०१९ अन्तर्गत भारत र न्यूजिल्याण्डबीचको बाँकी खेल भोली खेलाइने भएको छ। वर्षाका कारण प्रभावित बनेको खेलको पहिलो इनिङ्सको अन्त्यतिर पानी परेपछि खेल रोकिएको थियो। त्यसपछिको वर्षा र मैदानको अवस्थाका कारण खेल पुन: सुरु हुन नसकेको हो।

म्यानचेष्टरमा टस जितेर पहिले ब्याटिङ गरेको किवी टोलीले ४६.१ ओभर खेल्दै ५ विकेट गुमाएर २११ रन बनाउँदा पानी पर्न सुरु गरेको थियो। त्यसको ४ घण्टापछि पनि पानी पूर्ण रुपमा नरोकिएपछि आजलाई खेल स्थगित गरिएको हो।

आइसीसीले बनाएको नियम अनुसार सेमिफाइनल खेल तोकिएको दिन हुन नसकेमा रिजर्भ डे मा खेलाइनेछ। त्यसै अनुरुप अब बाँकी खेल भोली अगाडि बढ्नेछ। खेल ५०-५० ओभरकै हुनेछ। न्यूजिल्याण्डले २११-५ बाट खेल अगाडि बढाउनेछ। यसको अर्थ भारतलाई केही फाइदा हुनेछ।

भोली पनि वर्षाले खेल हुन नसके वा बिचमै रोकिए भारत फाइनल पुग्नेछ। लिग चरणमा धेरै अंक जोडेको कारण भारतलाई यो फाइदा हुनेछ।
खेलको अन्तिम नतिजा आउनको लागि कम्तीमा पनि भारतले २० ओभर ब्याटिङ गर्नै पर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell