विश्वकप क्रिकेट अन्तर्गत वर्षाका कारण अवरुद्ध भएको भारत र न्यूजिल्याण्डबीचको पहिलो सेमिफाइनलको बाँकी खेल आज पुनः हुँदैछ। वर्षाले अवरुद्ध भएकै स्थितिबाट बाँकी खेल आज हुनेछ।
मंगलबार पहिलो इनिङ्सको अन्त्यतिर पानी परेपछि खेल रोकिएको थियो। त्यसपछि वर्षा र मैदानको अवस्थाका कारण खेल हुन नसकेको हो।
म्यानचेष्टरमा टस जितेर पहिले ब्याटिङ गरेको किवी टोलीले ४६.१ ओभर खेल्दै ५ विकेट गुमाएर २११ रन बनाउँदा पानी पर्न सुरु गरेको थियो। त्यसको ४ घण्टापछि पनि पानी पूर्ण रुपमा नरोकिएपछि खेल स्थगित गरिएको थियो।
रिजर्भ डेमा आज खेल हुन लागेको हो। २११-५ को स्थितिमा रहेको न्यूजिल्याण्डले आफ्नो इनिङ्समा २३ बल खेल्न बाँकी छ। न्यूजिल्याण्डका रोस टेलर र टम लाथम क्रिजमा छन्। टेलर ६७ रन बनाएर खेलिरहेका छन्।
त्यसपछि भारतले जवाफी ब्याटिङ गर्नेछ।
आज पनि खेल हुन नसकेमा भारत फाइनलमा प्रवेश गर्नेछ। आइसीसीको नियम अनुसार लिग चरणमा धेरै अंक जोडेको टिम बिजेता घोषित हुनेछ। लिग चरणमा न्यूजिल्याण्डभन्दा अघि भारत छ। लिग चरणमा भारत पहिलो स्थानमा थियो।