PahiloPost

Nov 18, 2024 | ३ मंसिर २०८१

राज्यको नजरमा नपरेको बौद्ध आन्दोलन : 'चिनियाँ लामा'का कारण बौद्धमा कसरी फैलियो अशान्तिको बादल?



सहयोग रञ्जित

राज्यको नजरमा नपरेको बौद्ध आन्दोलन : 'चिनियाँ लामा'का कारण बौद्धमा कसरी फैलियो अशान्तिको बादल?

२०७६ साल असार ९ गते सोमवार। बिहान करिब ११ बजे विश्व सम्पदामा सूचीकृत बौद्ध स्तुप परिसरमा अप्रत्यासित रुपमा मानिसको जमघट बाक्लियो।

हातहातमा प्लेकार्ड बोकेका उनीहरु अजिमा मन्दिर अगाडि हुँदै गुरु ल्हाखाङ् गुम्बा अगाडि उभिएर नारा लगाउन थाले। गुम्बाको प्रवेशद्वारमा प्रहरीको उपस्थिति पनि बाक्लियो। बाहिर नारा लागिरहँदा प्रवेशद्वारमा प्रहरीसँग केही व्यक्तिको ठेलमठेल भयो। यसैबीच उनीहरुले गुम्बामा रहेको बौद्ध तथा मेलम्ची घ्याङ गुठीको कार्यालयमा तालाबन्दी गरिदिए।

तालाबन्दी गर्नेहरु बाहिरका थिएनन्। त्यही घ्याङ गुठीकै सदस्य र बौद्धकै स्थानीय थिए। उनीहरु बौद्धका 'प्रमुख पुजारी' रहेका उत्तरधर्म गुरु रिम्पोछे चिनियाँ लामा अर्थात् भूपति बज्रविरुद्ध प्रदर्शन गरिरहेका थिए। चिनियाँ लामा भनेर चिनिने भूपति बज्र बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख पनि हुन्।

तर, कथा यत्तिमै टुंगिएन। स्थानीयले तालाबन्दी गरेर गएपछि दिउँसो फेरि ताला खोलियो। स्थानीयको भाषामा- 'भूपति बज्रले गुन्डा लगाएर ताला तोडे।'

त्यसपछि माहोल झनै बिग्रियो। बिहान नारा लगाउँदै आएका मानिसभन्दा धेरै स्थानीय गुम्बा अगाडि भेला भए। 'भूपति बज्र मुर्दावाद, बौद्ध छोड' को नारा लाग्यो।

त्यतिखेर भूपति बज्र पनि त्यही गुम्बाभित्रै थिए। स्थानीयले ताला तोडेको आरोप लगाएका 'गुन्डा'हरु पनि गुम्बाभित्रै थिए। प्रहरीले प्रवेशद्वारमा पहरा दिइरहेको थियो।

प्राय: शान्त रहने बौद्ध परिसरमा दिउँसो ३ बजेदेखि साँझसम्मै अशान्ति फैलियो। आन्दोलनको नेतृत्व स्थानीयहरु मध्येकै खड्गजीत लामाले गरिरहेका थिए। उनीहरुलाई बौद्धनाथ क्षेत्र विकास समितिको साथ थियो।

स्थिति 'कन्ट्रोल' नगरे जे पनि हुन सक्ने आवाजहरु सुनिए। उल्टै प्रहरीले गुम्बाभित्र रहेका 'गुन्डा'लाई सुरक्षा दिइरहेको भन्दै केही स्थानीय प्रहरीसँग जुहारी खेल्न थाले। साँझ पर्दै गयो तर स्थानीयले धर्ना र नारा लगाउन छाडेनन्। करिब ८ बजेपछि प्रहरीले गुम्बाको प्रवेशद्वारबाट मास्क लगाएका केही व्यक्तिलाई स्कर्टिङ गर्दै बाहिर निकाल्यो। सबैलाई भ्यानमा राखेर लग्यो। स्थानीयहरुका अनुसार मास्क लगाएर भ्यानमा लगिएका ती व्यक्ति 'गुन्डा' थिए। उनीहरुलाई बाहिर ल्याउँदा केहीबेर स्थानीयलाई सम्हाल्न प्रहरीलाई हम्मेहम्मे पर्‍यो।

त्यसदिनयता बौद्धमा आन्दोलनका विविध कार्यक्रम अनवरत छ।

***

किन आन्दोलन?

बौद्धमा चिनियाँ लामाको विरोध हुनु नौलो होइन। वर्तमान चिनियाँ लामाको विरोध यसअघि पनि हुँदै आएको छ। उनीभन्दा अघिका चिनियाँ लामाहरुको पनि विरोध भएकै थियो।

बौद्धको 'पुजारी'मा भूपति बज्रको नियुक्तिदेखि नै उनीमाथि प्रश्न उठ्दै आएको छ। तर, पछिल्लो ८ महिनामा उनले दुईपटक बौद्धका स्थानीयको ठूलै विरोध सहनुपर्‍यो।

गतवर्ष पुसमा मात्र स्तुपमा किला ठोकेको, जेनरेटरको प्रयोग गरेको आरोपमा बौद्धमा उनीविरुद्ध प्रदर्शन भयो। प्रदर्शन चर्किएपछि गुठीले जेनरेटर र किला हटायो। तर, यसपटकको विवादले भने बौद्धलाई कैयौं दिनदेखि अशान्त बनाइरह्यो।

यसपटक विवाद हुनुमा चिनियाँ लामा नेतृत्वको गुठी र सरकारको स्वामित्वमा रहेको बौद्धनाथ क्षेत्र विकास समितिबीच क्षेत्राधिकार विवाद नै मुख्य कारण रह्यो।

असार ९ गतेभन्दा केही दिनअघि समितिले आफ्नै सदस्यलाई बौद्ध क्षेत्रस्थित 'बुद्धचित्त' का बोटमा फलेका दाना टिप्न समिति सदस्य मोहन लामालाई अख्तियारी दियो। उनले अख्तियारीअनुसार माला बनाउन रुखबाट 'बुद्धचित्त' का दाना टिपे। यता, भूपति बज्र नेतृत्वको घ्याङ गुठीले आफ्नो अनुमतिबिना बौद्धमा रहेका रुखबाट दाना टिपेको भन्दै मोहनलगायतलाई चोरीको आरोप लगाउँदै प्रहरीमा उजुरी दिने प्रयास गर्‍यो। त्यसपछि माहोल बिग्रिएको बताउँछन् बौद्ध बचाउ भूपति हटाउ संघर्ष समितिका संयोजक खड्गजीत लामा।

भन्छन्, 'वंशका आधारमा नियुक्त भएका भूपतिले बौद्धमा अहंकारी र स्वेच्छाचारी ढंगले काम गर्न थाले। पूजा गर्न नियुक्त मान्छेले यहाँका अन्य लामाहरुलाई महत्व नै दिएनन्। यो बौद्ध आफ्नो मात्रै हो भन्ने जस्तो व्यवहार देखाए। अहिले स्थानीयलाई चोरीको आरोप लगाउँदै पक्राउ गर्ने, गुम्बामा 'गुन्डाहरु' ल्याएर धम्काउन खोज्ने जस्ता काम गरेका छन्। यहींकै स्थानीयलाई चोर भनेपछि समुदाय त आक्रोशित हुन्छ नै।'

विकास समितिले भने बुद्धचित्तका रुख आफ्नो क्षेत्राधिकार भित्र पर्ने दाबी गरेको छ। चिनियाँ लामाले रुखका दाना चोरेको आरोप लगाएका समितिका सदस्य मोहन लामाले भने, 'उनीहरुले लाखौंमा मालाको डिल गर्न लागेको कुरा बाहिरिएको थियो। त्यसैले त्यसको संरक्षणका लागि भनेर समितिले मेरो संयोजक्तवमा कर्मचारी खटायो। आफ्नो काम गर्दागर्दै उल्टै हामीलाई नै थुनाउने प्रयास भयो।'

मोहनका अनुसार चिनियाँ लामाले उनीलगायत कर्मचारीलाई थुनाउन महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिने प्रयास गरेका थिए। प्रहरीले उनलाई टेकुमा बोलायो पनि। उनीसहित समितिका सदस्यहरु आइतबार टेकु गएका थिए। कुरा बुझ्दा भूपतिले उजुरी दिन लागेको तर दर्ता चाहिँ नभएको उनले बताए।

भने, 'आफूलाई बौद्धको राजा हो भन्ने मान्छे हो भूपति। उसको विरुद्धमा बोल्यो कि मुद्धा हाल्ने जस्तो काम गरिरहन्छ। तर, हामीसँग कानून छ। प्रमाण छ। नभए अहिले हामीलाई थुनिसक्थ्यो नि।'

विवादका बारेमा चिनियाँ लामासँग कुरा गर्न प्रयास गर्दा अहिले उनी चीनमा रहेको बताइयो। उनी चीनमा रहँदा स्थानीयहरुले आन्दोलनलाई थप चर्काउँदै हाललाई गुम्बामा हुने नित्य पूजाका लागि गुठीबाट नै पूर्ण लामालाई अख्तियारी दिन सफल भएका छन्।

चिनियाँ लामा बौद्धको पुजारीबाट हटेपछि मात्रै अबको आन्दोलन रोकिने खड्गजीत बताउँछन्।

९ गतेको घटनापछि संघर्ष समितिले बौद्ध परिसरमा दैनिक विभिन्न विरोधका कार्यक्रमहरु गरिरहेको छ। उनीहरुले गुठी संस्थान, जिल्ला प्रशासन कार्यालय, पुरातत्व विभाग, भूमि व्यवस्था मन्त्रालय, संस्कृति मन्त्रालय, प्रधानमन्त्री कार्यालयमा भूपतिलाई हटाउन निवेदन दिइसकेका छन्। गत १९ गते त स्थानीयहरुले गुठी संस्थानको मुख्य कार्यालयमा धर्ना नै दिए। गुठी संचालक समितिसँगको छलफलपछि हाललाई पूर्ण लामालाई अस्थायी पुजारीको काम गर्न दिने सहमति भएको थियो।

यता, चिनियाँ लामाका प्रतिनिधिले भने बुद्धचित्त गुठीअन्तर्गत रहेको बताएका छन्। यसभन्दा अघिका चिनियाँ लामाले सो बुद्धचित्त रोपेको भन्दै त्यसमा गुठीको अधिकार रहने उनीहरुको दाबी छ।

हाल चिनियाँ लामा बाहिर रहे पनि घटना भएको दिन उनले केही स्थानीय संचारमाध्यमसँग कुरा गर्दै यसरी बिना अधिकार बुद्धचित्त निकाल्नु राम्रो नभएको भन्दै आफूहरुले सो बुद्ध चित्त बेच्न लागेको आरोप प्रमाणित गर्न चेतावनी नै दिएका थिए।

बौद्धमा किला ठोक्ने प्रकरण हुँदा उनले आफू र गुठीलाई बदनाम गराउने षड्यन्त्र भइरहेको बताएका थिए।

उच्च सुरक्षामा रहेका चिनियाँ लामालाई गत पुसमा बौद्ध पिपलबोटस्थित गुम्बामा भेट्न पुग्दा उनले पहिलोपोस्टसँगको कुरामा बौद्धनाथ परिसरको स्वामित्व गुठीको अधिनमा रहेको दाबी गर्दै भनेका थिए, 'उच्च अदालतले हाम्रो पक्षमा फैसला सुनाएको छ। कोषको यहाँ स्वामित्व नै छैन। हाम्रो पुर्खाहरुले त्यसको संरक्षण गर्दै आएका हुन्। बौद्ध क्षेत्रको व्यवस्थापन हाम्रो जिम्मेवारी हो।'

यो पनि पढ्नुस् : बौद्ध स्तुपमा प्वालैप्वाल : के हो विवाद? यस्तो छ चिनियाँ लामाको ‘कनेक्सन’

तर काठमाडौं वडा नम्बर ६ का वडा अध्यक्ष दीपेन्द्र लामा भने चिनियाँ लामाको भनाइ गलत रहेको बताउँदै भन्छन्, 'गुठीले बौद्ध क्षेत्रभित्र धार्मिक र सांस्कृतिक कार्य गर्न पाउँछ भनेर अदालतले फैसला गरेको हो। बौद्धमा उजुरी गर्ने उहाँहरुले नै हो। तर, यसको अर्थ विश्व सम्पदा सूचीमा रहेको बौद्धनाथ परिसर गुठीको हो भन्न मिल्दैन। यो त विश्वकै सम्पत्ति हो। हाम्रो गौरव हो।'

अदालतको फैसलालाई अपव्याख्या गर्दै गुठीले मनोमानी ढंगले कार्य गरेको बताउने वडा अध्यक्ष लामासँग यसपटकको घटनाबारे प्रश्न गर्दा उनले भने, 'यो घटना चिनियाँ लामाको अदक्षताको प्रमाण हो। उनीविरुद्ध आन्दोलन भइरहँदा उनी चीन उडे। स्थानीयहरुले आएर गुठीमा तालाबन्दी गरे। उनले प्रशासनको सट्टा गुण्डा ल्याएर ताल्चा खुलाउने, स्थानीयलाई धम्काउने प्रयास गरे। मानिसहरु कति आक्रोशित थिए। धन्न अप्रिय घटना केही भएन।'

स्थानीयको आन्दोलनपछि अब उप्रान्त गुठीयारबाटै पुजारी नियुक्त गर्न गुठी संस्थानका अधिकारीहरु सहमत भएको आभाष भएको जस्तो देखिएको उनले बताए।

लामा थप प्रस्ट्याउँछन्, 'उहाँको विरोध हाम्रो बाध्यता हो नि। चिनियाँ लामाका रुपमा उहाँले पूजाआजा गरिरहेको भए यो यहाँ विरोध नै हुँदैन थियो। तर, उहाँ आफू यहाँको सबैभन्दा ठूलो भन्दै यहाँका स्थानीय अग्रज लामाभन्दा ठूलो भन्दै हिँड्नु भयो। स्थानीयहरुलाई पूजा गर्न रोक्नु भयो। समस्याको जड नै यही हो।'

उनी चिनियाँ लामा नियुक्ती प्रक्रिया नै गलत ढंगले भइइरहेको भन्दै यो आन्दोलन त्यो व्यवस्था परिवर्तनका लागि समेत भएको बताउँछन्। भन्छन्, 'दक्ष र योग्य मान्छे लामा हुनुपर्नेमा यहाँ त वंशजका आधारमा लामा भएको छ। हामी त्यही गलत परम्पराविरुद्ध छौं।'

जंगबहादुरको हस्तक्षेपपछि बौद्धमा 'चिनियाँ लामा'को प्रवेश

मानदेवको पालामा निर्मित स्तूपलाई तामाङ भाषामा 'खस्योर' भनिन्छ भने नेपाल भाषामा 'खास्ती'। कालान्तरमा सो स्तूप बौद्धनाथ स्तूप नामले परिचित भयो।

स्तूप स्थापनापछि ककनी, बौद्ध र आसपासका ६० घरे तामाङहरुले त्यहाँको रेखदेख गर्ने गरेको बताउँछन् मानवशास्त्री तथा तामाङ इतिहास अध्येता डा. मुक्तसिंह लामा। उनीहरुकै सहभागितामा बौद्ध स्तपूमा पुजाआजा गर्न श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठी स्थापना भएको थियो। पहिला गुठीमै रहेका ६० घरे तामाङहरु मध्येबाट नै एक जना बौद्धको मूल पुजारी हुन्थे। नित्य पूजादेखि बौद्धमा हुने विविध कार्यक्रम उनको नेतृत्वमा हुन्थ्यो।

तर, जंगबहादुर राणाले सन् १९१५ मा गुठी भित्रका स्थानीयबाट पूजारी नियुक्त हुने परम्परा तोड्दै बौद्धमा चिनियाँ लामाको प्रवेश गराएको बताउँछन् डा. लामा।

१९११ मा नेपाल र तिब्बत युद्ध हुँदा तत्कालीन पुजारीले युद्धमा सहयोग नगरेकाले जंगबहादुर क्रुद्ध भएका थिए। फलस्वरुप उनले बौद्धको पुजारी रहेका छेवाङ सितार लामालाई हटाउँदै तिब्बतबाट नेपाल घुम्न आएका भिक्षु ताइफोसिङलाई बौद्धको पुजारीका रुपमा नियुक्त गरेको उनी बताउँछन्। सो कुराको उल्लेख ज्ञानमणि नेपालद्वारा लिखित नेपाल भोट सांस्कृतिक सम्बन्ध किताबमा समेत रहेको छ।

डा. लामा भन्छन्, 'जंगबहादुरले यहाँका स्थानीयहरुलाई हटाएर चिनियाँ मूलको भिक्षुलाई बौद्धको लामा बनाए। चीनबाट आएकाले उनीहरुलाई चिनियाँ लामा भनिएको हो। त्यही बेलादेखि नै यहाँका स्थानीयभन्दा बाहिरबाट आएका लामा हाबी भए।'

जंगबहादुरले तीनवटा सर्तमा ताइफोसिङलाई बौद्धको प्रमुखमा नियुक्त गरेको बताउँछन् लामा। सर्तअनुसार उनले स्तूपमा पूजाआजा गर्नुपर्ने, चिनियाँ भाषा पढाउनु पर्ने र नेपालमै बिहे गरेर यहीं बस्नु पर्ने थियो। तिब्बतसँग युद्ध चलिरहेकोले चिनियाँ भाषा सिक्नुपर्ने बाध्यता थियो।

हामीसँगको भेटमा भूपति बज्रले चिनियाँ लामा राज्यले दिएको पदवी भएको बताएका थिए। तर, डा लामा वंशका आधारमा बौद्धमा पुजारी नियुक्त हुने परम्परा नरहेको बताउँछन्। यो त जंगबहादुरको पालामा जबरजस्ती लागू गरिएको थियो।

'बौद्धमा नियुक्त हुने पुजारी वंशका आधारमा हुने नै होइन। लामा पद्वी पाउन त निश्चित दक्षता चाहिन्छ। चिनियाँ लामा त उनलाई चीनबाट आएकोले भनिएको हो। पुजारी त गुठीयारहरुबाटै छानिएर नियुक्त हुनुपर्ने हो। तर, त्यसबेला कसैले प्रतिरोध गर्न सकेनन्। राजतन्त्रमा पनि बोल्न सकेनन्। तर अहिले त देशमा लोकतान्त्रिक गणतन्त्र छ। गुठीयारहरुले आफ्नो आवाज उठाउन खोजेका छन्' उनले भने।

हाल गुठीकै सदस्यहरु भूपतिविरुद्ध सडकमा ओर्लिनुको कारण इतिहासको यो पक्ष पनि भएको उनको बुझाइ छ।

'स्थानीयलाई हटाएर बाहिरबाट आएका भिक्षुलाई राख्न ल्याएपछि उसमा यो सबै आफ्नै हो भन्ने भ्रम विकास हुन्छ। यहाँ पनि त्यस्तै भएको देखिन्छ। प्रजातन्त्रिक प्रक्रियाले गुठीयारहरु मिलेर पुजारी छान्ने प्रक्रियामा एकाएक वंशवाद हाबी भएकोले नै आजको अवस्था देखिएको हो' डा लामाले भने।

वडा अध्यक्ष दीपेन्द्र लामा पनि अध्येता डा लामाको मतसँग सहमत छन्। भन्छन्, 'राजसंस्था हटिसकेको अवस्थामा त्यही पुरानो नजिर (जंगबहादुरको) दिएर चिनियाँ लामालाई स्थापित गर्ने प्रयास भइरहेको छ। त्यसैको विरोध स्वरुप हामीले गुठी संस्थानलाई खबरदारी गरिरहेका छौं।'

निकास 'चिनियाँ लामाको राजीनामा'?

चिनियाँ लामा अदालतले आफूहरुलाई अधिकार दिएको भन्दै टसमस नहुने अडानमा देखिन्छन्। यता आन्दोलनरत पक्ष भने भूपतिबज्रले राजीनामा दिनुपर्ने र चिनियाँ लामा परम्परा अन्त्य हुनुपर्ने माग गरिरहेका छन्।

वडा अध्यक्ष लामा र संघर्ष समितिका संयोजक खड्गजित आन्दोलन रोकिने आधार भनेकै चिनियाँ लामाको पतन रहेको बताउँछन्।

आन्दोलनपछि बौद्धमा पुजारीको अस्थायी कार्यभार पाएका गुरु पूर्ण लामा सहमतिको बाटोबाट समाधान निकाल्नुपर्ने बताउँछन्। उनी चिनियाँ लामा पद्धति अन्त्य गर्दै गुठीयारमाझबाट नै पुजारी छनोट गरेर बौद्धको विकासमा लाग्नुपर्ने मत राख्छन्। चिनियाँ लामाको पालामा बौद्धमा हुँदै आएका विविध जात्राहरु राम्ररी संचालन नभएको भन्दै बौद्धको धार्मिक र सांस्कृतिक कार्यहरु गर्नका लागि बृहत् समिति बनाएर काम गर्नुपर्ने र विकास समितिले बौद्ध क्षेत्र विकाससम्बन्धी काम गर्नुपर्ने उनको भनाइ छ।

अध्येता डा लामा पनि अब बौद्ध क्षेत्रलाई अशान्तीको बाटोमा लाने रोक्न आन्दोलन गरिरहेका गुठीयार र स्थानीयहरुको माग सम्बन्धित निकायले सम्बोधन गर्नुपर्ने बताउँछन्। राज्यस्तरबाट यस आन्दोलनमा चासो नदिनुले समस्या बल्झनसक्ने उनको मत छ।

भन्छन्, 'अहिले चिनियाँ लामा पनि गुठीकै सदस्य छन्। गुठीमा गुठीयारको भूमिका महत्वपूर्ण हुन्छ। उनीहरुलाई समान सम्मान, हेरचाह र भूमिका दिनुपर्छ। मै ठूलो भनेर बस्यो भने द्वन्द्व बढ्छ। सबै मिलेर प्रजातान्त्रिक प्रक्रियाबाट पुजारी नियुक्त गरी काम अघि बढाए विवाद हुँदैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell