काठमाडौं : कंकेश्वरी बस्ने राममाया डंगोल बिहानै डुल्लु हुँदै स्वयम्भू पुग्थिन्। कंग अजिमाभन्दा केही पर घर भएकी उनी त्यहाँ रहेको झोलुंगे पुल पार गर्दै लखतीर्थ, चागल, डल्लु हुँदै स्वयम्भू 'मर्निङ वाक' गर्न पुग्नु उनको दैनिकी थियो।
तर, शनिवार विष्णुमती पानीको सतह बढी भएर कंकेश्वरीबाट विष्णुमती नदी वारपार गर्ने झोलुंगे पुलको पश्चिम पट्टीको भाग नै बगायो।
त्यस दिनयता उनी खोला पार गर्न केही मिनेट टाढा रहेको पक्की पुलको प्रयोग गरिरहेकी छिन्। तर, त्यहाँसम्म पुग्ने बाटो कालोपत्रे नहुँदा पानी जम्ने समस्या छ। तर, उनी हिलोबाटै यात्रा गर्न बाध्य छिन्।
पहिला विष्णुमतीबाट चागल पुग्ने नदीमाथि बनाइएको पुलको लम्बाई धेरै थियो। पछि सडक निर्माणका लागि भनेर झोलुंगे पुलको लम्बाई घटाइ नदीको दायाँबायाँ ढुंगाको पक्की पर्खाल बनाइयो।
सो फलामे पुलले कंकेश्वरी (वडा १९) लाई लखतीर्थ (वडा १५)लाई जोडेको थियो। पहिला त्यहाँ कमलाक्षीका मानन्धरहरुले काठको पुल बनाएका थिए। पछि भने त्यहाँ फलामे पुल बनेको बताउँछन् वडा नम्बर १९ का अध्यक्ष शशीलाल श्रेष्ठ।
शनिवार आएको बाढीले फलामे पुललाई भने खासै असर गरेको छैन। पानीको बहावले पुलको पश्चिम पट्टी ओर्लने सानो पक्की पुल भत्किएको हो। पुल भत्किएको ४ दिन बितिसक्दा पनि पुलको मर्मत नहुँदा आवतजावतमा समस्या परेको छ। कंकेश्वरीबाट लखतीर्थ जाने सो पुलमा मानिसहरु निर्वाध प्रवेश गरिरहेकाले दुर्घटना हुने सम्भावना छ।
पुल प्रवेश गर्न नदिन कंकेश्वरीमा एउटा बाँसले छेकिएको छ। कुनै सूचना राखिएको छैन। मानिसहरु पुलको अन्त्यसम्म पुगेर फेरि फर्किन बाध्य छन्। केही भने भत्किएको पुलमाथि बाटै हाम्फालेर लखतीर्थ पुग्ने गरेका छन्। त्यस क्रममा धेरै जना नदीमा खस्ने गरेको स्थानीय बताउँछन्। उता लखतीर्थमा भने ढुंगा र प्लास्टिकको बोराले छेकबार लगाउने प्रयास भएको छ। तर, पनि मानिसहरु तारबारबीचबाटै पुल तर्ने प्रयास गरिरहेका भेटिन्छन्।
वडा अध्यक्ष श्रेष्ठ एक हप्ताभित्र पुल निर्माण हुने बताउँछन्। भन्छन्, 'महानगरपालिकासँग कुरा गरेको छु। महानगरका प्रवक्ता र १५ वडाका अध्यक्ष ईश्वरमान डंगोलले एक हप्तामा पुल निर्माण कार्य संचालन गर्ने भनेका छन्।'
स्थानीयले हाल भत्किएको कंक्रिटको संरचना धेरै पुरानो भएको र त्यसको मर्मत सम्भार नभएको भन्दै वडा र महानगरलाई सचेत गर्दै आएका थिए। श्रेष्ठ भने अब नदीको वहावलाई थेग्न सक्ने त्यहाँ फेरि पक्का संरचना निर्माण हुने बताउँछन्।