
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा संघीयतालाई सिमित अर्थमा बुझिएको बताएका छन्। उनले संघीयतालाई संकुचित रुपमा नबुझ्न पनि आग्रह गरे। राजधानीको याक एण्ड यति होटलमा बोल्दै प्रधानमन्त्री ओलीले तीन अहिलेको संघीयता न्यायिक, प्रशासनिक र विधायकी अधिकारसहितको संघीयता भएको बताए।
उनले स्थानीय तहले आफू पनि सरकार भएको अनुभूति कमै मात्रामा गरेको सुनाए। ‘स्थानीय निकायले आफू सरकार भएको अनुभूति कमै मात्रामा गरेको छ, उनले भने, ‘त्यसो होइन हामीले तीन तहको सरकार बनायौँ। सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्याउने भनेर तीन तहको सरकार बनाएका हौं।‘
उनले स्थानीय तहले बिस्तारै संघीयताको अनुभूत र अभ्यास हुँदै जाने स्पष्ट पारे। ‘अहिले प्रदेश छुट्टै राज्य हो कि भनेर कुरा गर्छन्। त्यो यथार्थ होइन। प्रदेश एउटा सरकार हो,’ प्रधानमन्त्री ओलीले भने, ‘तर यो स्वतन्त्र र सार्वभौम सरकार होइन।‘
आज रातो कार्पेटको फोटो खिच्ने पत्रकार आएनछन्
प्रधानमन्त्रीले बुधवारको त्रिभुवन विश्वविद्यालयको कार्यक्रममा पुगेका थिए। उक्त कार्यक्रममा जाँदा हिलाम्मे सडकमाथि रातो कार्पेट ओच्छ्याइएको फोटो चर्चित भएको थियो। सोही फोटोको चर्चाबारे टिप्पणि गर्दै ओलीले भने, ‘हिलो भएछ। हिलोमाथि कार्पेट ओच्छ्याइएको रहेछ। त्यो देशको ठूलो समाचार बन्यो। आज पनि कार्पेट ओछ्याएको रहेछ। तर फोटो खिच्ने पत्रकार देखिएनन्।’
उनले अहिले सरकारलाई कमजोर र नालायक देखाउन मिसन पत्रकारिता भइरहेको आरोप लगाए। ‘अहिले केही भएन भन्दै प्रचार गरिएको छ। केही काम भएको छैन भनिएको छ,’ उनले भने, ‘जति नै भ्रम फैलाए पनि सरकार अघि बढिरहेको छ।’
एक बर्षमा कालोपत्रे गर्न सकिँदैन
मिसन पत्रकारिता भइरहेको आरोप लगाउँदै गर्दा ओलीले समाचारहरुको खिल्ली उँडाउन नि भुलेनन्। सरकार बनेको एक बर्षमा पनि बाटो कालोपत्रे भएन भन्दै नकारात्मक टिप्पणि छापिने गरेकोतर्फ संकेत गर्दै उनले भने, ‘अखबारमा हेरेँ। नेपालमा अझै कालोपत्रे नगरिएको बाटो गाउँमा भेटिएछ। पहिलो पृष्ठमा छापिएको छ, सरकार बनेको एक वर्षमा पनि कालो पत्रे भएन भनेर।‘
बाटो कालोपत्रे नभएको स्विकार गर्दै उनले भने, ‘एक वर्षमा कालोपत्रे नभएको विषय आयो। शिर निहुर्याएर मान्नुपर्छ। सरकार बनेको एक वर्षमा सबै बाटाहरु कालोपत्रे गर्न सकिन्नँ।’