PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

सोलार मिनी ग्रिडले फेरिदैँ गुटुवासीको जीवनशैली, बिजुली बाल्न रिचार्ज कार्ड



पी बी खड्का

सोलार मिनी ग्रिडले फेरिदैँ गुटुवासीको जीवनशैली, बिजुली बाल्न रिचार्ज कार्ड

सुर्खेत: ‘पहिला केही व्यवसाय गरौँ भन्दा बिजुली नहुँदा केही गर्न सकिएन। अहिले कुखुरा पालन शुरु गरेको छु। बल्ल अब केही गर्न सकिन्छ कि!’ चौकुने गाउँपालिका—८ गुटुका खगेन्द्र खत्री ढुक्क देखिए। यसअघि व्यवसाय गर्न चाहेर पनि नसकिएको उनी गाउँमा आएको सोलार मिनी ग्रिडले उद्योगमा सघाएको बताउँछन्।

‘अहिले सानो भए पनि गाउँमै व्यवसाय गरेको छु,’ उनले भने, ‘केही महिनाअघि गाउँमा आएको सोलार सिस्टमबाट बिजुली बाल्न पाएका छौँ। सानो तिनो पेशा व्यवसाय गर्न सजिलो भएको छ।’ 

यसअघि वैदेशिक रोजगारीमा गएका उनी सोलार मिनी ग्रिड जडान भएपछि अहिले आफुजस्तै व्यवसाय गर्ने बढेको बताए। ‘यसअघि गाउँमा कुनै उद्योग थिएन, व्यवसाय गर्ने आँट पनि,’ उनले भने, ‘अहिले गाउँमा कसैले कुखुरा पाल्ने, फर्निचर उद्योग खोल्ने, ग्रिल उद्योग खोलेका छन्।’

उनको भनाईअनुसार पछिल्लो समय चौकुने गाउँपालिका–८ मोतिसेराभित्र उद्योग खुल्ने क्रम बढेको छ। ग्रामीण विद्युतीकरणमा सोलार मिनी ग्रिड जडानपछि यहाँका नागरिकले कुखुरा व्यवसाय, ग्रिल तथा फर्निचर उद्योग, चाउमिन फ्याक्ट्री, मसलालगायत त्यस क्षेत्रमा २४ भन्दा बढी उद्योग सञ्चालन भएका छन्।

सोलार मिनी ग्रीडले निकै खुशी छिन् स्थानीय पवित्रा आचार्य पनि। ‘घरमा केही इलेक्ट्री सामान थिएन। एक महिनाअघि फ्रिज र आइरन किनेको छु,’ आचार्यले भनिन्, ‘समय का पुगिसक्यो। हामीले भने अहिलेसम्म बिजुली बत्ती बाल्न पाएका थिएनौँ।’ 

अहिले चौकुनेको यो गाउँमा सर्वसाधारण नागरिक पैसा तिरेरै घर झलमल बनाइरहेका छन्। बत्ती बाल्नेमात्रै नभएर उनीहरुको क्षमताअनुसारको पेशा व्यवसाय गरी आम्दानी गर्ने बाटोसमेत खुलेको छ।

साढे पाँच करोडको परियोजना

चौकुने गाउँपालिकाको यो गाउँमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ‘ग्रामीण जीवनका लागि नवीकरणीय ऊर्जा कार्यक्रम’ मार्फत अहिले ३ सय ४४ घरमा विद्युतीकरण गरिएको छ। गत वैशाखको १५ गतेदेखि सञ्चालनमा आएको थियो।

एडिबीको ९० प्रतिशत अनुदानमा र स्थानीय उपभोक्ताको तर्फबाट १० प्रतिशतको लगानीमा झण्डै साढे ५ करोडको लागतमा गुटु सोलार मिनी ग्रीड परियोजना तयार गरिएको गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले बताए। एडिबीले ४ करोड ५० लाख र ऊर्जा प्रवर्द्धन केन्द्रले ६७ लाख बढीको लागतमा निर्माण गरिएको हो। यस परियोजनामा थप गाउँपालिका र स्थानीय उपभोक्ताले गरी झण्डै ५० लाख रुपैयाँ लगानी गरेको अध्यक्ष शाहीको भनाई छ।

पहिला पैसा, त्यसपछि बिजुली

परियोजनामा स्थानीय उपभोक्तालाई विद्युत प्रयोग गर्न प्रिपेड मिटर सिस्टम गरिएको छ। जुन सिस्टम पहिले पैसा तिरे पछिमात्र बिजुली पाइन्छ। पाँच सयदेखि हजारसम्म स्थानीयले रिचार्ज कार्ड लिन्छन् र पछि प्रयोग गर्दै जाँदा पैसा घट्दै जाने र सकिएपछि लाइन आफै बन्द हुने सिस्टम गराइएको छ। यो परियोजनाले हरेक घरमा ६ वटा बल्ब बाल्न सकिने व्यवस्था गरेको छ।

पाँच वर्षमा गाउँपालिकानै विद्युतीकरण

गाउँमा यो परियोजनाले पेशा व्यवसाय गर्नेलाई निकै अवसर प्रदान गरेको अध्यक्ष शाहीको भनाई छ। कर्णाली प्रदेशमा अहिले २७ प्रतिशत नागरिकको पहुँचमा पुगेको बिजुलीले राहत नदिएको ठाउँमा यस्ता सोलार परियोजनाले निकै फाइदा पुगेको उनी बताउँछन्।

‘गाउँपालिकाले चौकुने उज्यालो कार्यक्रम’मार्फतबाट आगामी पाँच वर्षभित्र विद्युतीकरण गर्ने लक्ष्य लिएको छ। यसअघि दुई वटा लघुजलविद्युत आयोजना निर्माण गरिसकेको गाउँपालिकाले थप नयाँ ४ वटा लघुजलविद्युत आयोजनाको टेण्डर प्रक्रिया सुरु गर्ने भएको छ।

‘विद्युतको केन्द्रफय प्रसारण लाइन पाँच वर्षभित्र आएन भने पनि मेरो कार्यकालमा गाउँपालिकाभित्र विद्युतीकरण गर्ने योजनामा छु,’ उनले भने, ‘नीति तथा कार्यक्रमसहित बजेटको व्यवस्था गरेर र स्थानीयको अपनत्व हुने गरी काम गर्छु।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell