
साबिक विजेता अष्ट्रेलियालाई पराजित गर्दै घरेलु टोली इंग्ल्याण्ड आइसीसी विश्वकप २०१९ को फाइनलमा प्रवेश गरेको छ। अष्ट्रेलिया बाहिरिएपछि अब विश्वकपले नयाँ विजेता पाउने पक्का भएको छ। इंग्ल्याण्डले उपाधिका लागि अब न्यूजिल्याण्डसँग खेल्नेछ।
दुबै टोलीले अहिलेसम्म उपाधि जित्न सकेका छैनन्। न्यूजिल्याण्ड भारतलाई पराजित गर्दै लगातार दोस्रो पटक फाइनल पुगेको हो। यसअघि सात पटक सेमिफाइनल खेल्दा अपराजित रहेको अष्ट्रेलिया पहिलो पटक सेमिफाइनलमा पराजित भएको हो। इंग्ल्याण्ड भने चौथो पटक फाइनल पुगेको हो। इंग्ल्याण्ड २७ वर्षपछि फाइनल पुगेको हो।
ब्रिमिङहमस्थित एडबास्टनमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलिया इंग्लिस बलरको उत्कृष्ट प्रदर्शनपछि ४९ ओभरमा २२३ रनमा अलआउट भएको थियो।
२२४ रनको लक्ष्य घरेलु टोली इंग्ल्याण्डले ३२.१ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो।
इंग्ल्याण्डका लागि ओपनरद्वय ज्यासन रोए र जोनी बेयर्स्टोवले पहिलो विकेटका लागि शतकीय साझेदारी गर्दै जितको आधार तय गरेका थिए। यी दुईले १७.२ ओभरमै १२४ रन जोडेका थिए। रोएले सर्वाधिक ८५ रन बनाए। उनले ६५ बल खेल्दै ९ चौका र ५ छक्का प्रहार गरे। यस्तै बेयर्स्टोबले ४३ बल खेल्दै ५ चौकाको मद्दतमा ३४ रन जोडे।
बेयर्स्टोबलाई एलबिडब्लु आउट गर्दै स्टार्क एउटै विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी बने। यस विश्वकपमा २७ विकेट लिएका स्टार्कले सन् २००७ मा अष्ट्रेलियाकै ग्लेन म्याग्राले लिएको २६ विकेटको कीर्तिमान तोडेका हुन्।
१४७ रन बनाउँदा दोस्रो विकेट गुमाएको इङ्ग्याण्डका लागि कप्तान इयोन मोर्गन र जोए रुटले अर्धशतकीय साझेदारी गर्दै जित दिलाए। तेस्रो विकेटका लागि मोर्गन र रुटले नटआउट रनको ७९ साझेदारी गरे।
अष्ट्रेलियाका लागि मिचेल स्टार्क र प्याट कमिन्सले १-१ विकेट लिए।
त्यसअघि स्टिभ स्मिथको अर्धशतक मद्दतमा अष्ट्रेलियाले मध्यम स्कोर तयार पारेको थियो। खराब ब्याटिङ गरेको अष्ट्रेलियाले १४ रनमै सुरुवाती ३ विकेट गुमाएको थियो। अष्ट्रेलियाको इनिङ्स स्मिथ र एलेक्स केरीले सम्हालेका थिए। यी दुईले चौथो विकेटका लागि १०३ रनको साझेदारी गरे।
तर केरी ४६ रन बनाएर २८औँ ओभरमा आउट भएपछि भने अष्ट्रेलियाली इनिङ्स धर्मरायो। त्यही ओभर मार्कुस स्टोइनिङ खाता नखोली आउट भए। दुबै खेलाडीलाई अदिल रसिदले आउट गरे। ग्लेन म्याक्सवेल २२ रन बनाएर आउट भए। त्यसपछि प्याट कमिन्स ६ रन बनाएर आउट हुँदा अष्ट्रेलियाले १६६ रनमा ७ विकेट गुमायो।
स्मिथ र मिचेल स्टार्कले अर्धशतकिय साझेदारी गर्दै इनिङ्स अगाढि बढाएका थिए। तर स्मिथ ४८औं ओभरको पहिलो बलमा रनआउट भएपछि अष्ट्रेलियाको आठौँ विकेट गुम्यो। त्यसको अर्को बलमा स्टार्क पनि आउट भए। स्टार्कले २९ रन बनाए।
स्मिथले ११९ बल खेल्दै ६ चौकाको मद्दतमा सर्वाधिक ८५ रन बनाए।
इंग्ल्याण्डका लागि क्रिस वोक्सले ८ ओभरमा २० रन खर्चेर ३ विकेट लिए। अदिल रसिदले ३ विकेट लिन १० ओभरमा ५४ रन खर्चे। जोफ्रा आर्चरले १० ओभरमा ३२ रन खर्चेर २ विकेट लिए।