PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

देशभर निरन्तर वर्षाः वीपी, मध्यपहाडी राजमार्गसहित पाँच सडक अवरुद्ध



पहिलोपोस्ट

देशभर निरन्तर वर्षाः वीपी, मध्यपहाडी राजमार्गसहित पाँच सडक अवरुद्ध

काठमाडौँः निरन्तरको अविरल वर्षाका कारण देशका विभिन्न भागमा राजमार्गहरु अवरुद्ध भएका छन्। वीपी राजमार्ग, बुटवल पाल्पा सडक खण्डसँगै भोजपुर धरान जाने बाटो बन्द भएको छ। गृह मातहतको राष्ट्रिय आपत्कालीन परिचालन केन्द्रका अनुसार चारवटा राजमार्ग अहिलेसम्म बन्द भएका छन्।

काभ्रेको रोशी गाउँपालिकाको दुई स्थानमा पहिरो जाँदा वीपी राजमार्ग अवरुद्ध भएको छ। गाउँपालिकाको वडा नम्बर ११ को कालढुङ्गामा र वडा नम्बर ७ मा रोशी खोलाको पुल नजिक पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो।

यस्तै बुटवलबाट पाल्पा जाने बाटो पनि बन्द भएको छ। लमजुङ हुँदै मनाङ जाने बाटो पनि वर्षापछिको पहिरोका कारण बन्द भएको छ। भोजपुर धरान सडकखण्ड पनि अवरुद्ध भएको छ।

राससका अनुसार मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ। सिन्धुलीको  गोलन्जोर गाउँपालिकामा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो।अवरुद्ध राजमार्ग हटाई सवारी आवागमन सञ्चालन गर्न गाउँपालिका अध्यक्षसँग समन्वय भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख विष्णु बस्नेतले जानकारी दिए। बिहानको समय भएकाले अहिले थोरै सङ्ख्यामा मात्र सवारी जाममा परेको उनको भनाई छ। आवश्यक समन्वय गरी डोजर ल्याएर पहिरो पन्छाउने उनको भनाई छ।

गोलन्जोर गाउँपालिकाले साइकल जोन भन्दै राजमार्गभन्दा माथि डोजर चलाएर सडक खनेपछि पटक–पटक राजमार्ग अवरुद्ध हुँदै आएको छ। सामान्य वर्षातमा समेत माथिबाट लेदो खस्दा राजमार्ग अवरुद्ध हुने गरेको छ। राजमार्गभन्दा माथि जथाभावी खनिएका ग्रामीण सडकका कारण पानी पर्ने बित्तिकै अवरुद्ध हुने गरेका छन्। राजमार्ग अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका यात्रु बीचमै अलपत्र परेका छन्।

यस्तै भारी वर्षाको कारण प्रदेश १, २, ३ का चुरे र पहाडको क्षेत्रबाट बहने प्राय नदीहरूमा जलसतह सतर्कता तह आसपास पुगिसकेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। थप वर्षा हुने क्रम जारी रहेकाले तटीय क्षेत्रमा  उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

यता मौसम पूर्वानुमान महाशाखाले मनसुन पूर्ण सक्रिय भई देशभर पूर्ण बदली भई पानी परिरहेको जनाएको छ। महाशाखाका अनुसार शुक्रवार र शनिवार देशका अधिकांश स्थानहरूमा वर्षा हुनेछ।  केही स्थाहरुमा भारी वर्षा हुने र थोरै स्थानहरूमा अत्यधिक वर्षा हुने सम्भावना रहेको महाशाखाको भनाई छ। उच्च सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell