PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

देशभर अविरल बर्षा, चारवटा राजमार्ग अवरुद्ध, एकजनाको मृत्यु: देशभर कहाँ कहाँ के के भयो?



पहिलोपोस्ट

देशभर अविरल बर्षा, चारवटा राजमार्ग अवरुद्ध, एकजनाको मृत्यु: देशभर कहाँ कहाँ के के भयो?
फाइल फोटो

काठमाडौँः मनसुन शुरु भएपछिको अविरल वर्षाका कारण देशका विभिन्न भागमा राजमार्गहरु अवरुद्ध भएका छन्। वीपी राजमार्ग, बुटवल पाल्पा सडक खण्डसँगै भोजपुर धरान जाने बाटो बन्द भएको छ। गृह मातहतको राष्ट्रिय आपत्कालीन परिचालन केन्द्रका अनुसार चारवटा राजमार्ग अहिलेसम्म बन्द भएका छन्।

काभ्रेको रोशी गाउँपालिकाको दुई स्थानमा पहिरो जाँदा वीपी राजमार्ग अवरुद्ध भएको छ। गाउँपालिकाको वडा नम्बर ११ को कालढुङ्गामा र वडा नम्बर ७ मा रोशी खोलाको पुल नजिक पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो।

यस्तै बुटवलबाट पाल्पा जाने बाटो पनि बन्द भएको छ। लमजुङ हुँदै मनाङ जाने बाटो पनि वर्षापछिको पहिरोका कारण बन्द भएको छ। वर्षाको कारणदेश भर कहाँ के भयो? शुक्रबार बिहान १० बजेसम्म देशभरबाट प्रहरीलाई प्राप्त सूचना  यस्तो छ-

कैलाली- १४ परिवारलाई सुरक्षित ठाउँमा सारियो

गए रातिदेखि परेको बर्षाको कारण भजनी नगरपालिका ५ मा रहेको कान्द्रा नदी बढ्न गई जोखिमको सम्भावना रहेकोले यस क्षेत्रमा बसोबास गर्ने १४ घर परिवारका ३५ जनालाई घरमा रहेको अति आवश्यक सामग्रीहरु सहित हुलाकी राजमार्गको सुरक्षित स्थानमा सारिएको छ।

मोरङ- डुबान

बिराटनगर महानगरपालिका ८ स्थित सिंगिया खोलामा बाढी आई खोलाको डिलमा बसोबास गर्ने डुम समुदायको सुकुमबासी बस्तीमा घर आँगनमा पानी पसेको छ।

बुढीगंगा गाउँपालिका ७ डंग्राहा स्थित खदाम खोलाको किनारमा बसोबास गर्ने उराउ र सरदार समुहका १३ परिवारको घरमा पानी पसी बस्न नसक्ने भएकोले १३ घर परिवारका मानिसहरु नजिकै रहेको श्री प्रगतिशिल विद्यालयको पुरानो भवनमा गई बसेका छन्।

सुन्दरहरैचा नगरपालिका १ लक्ष्मीपुरस्थित दुईवटा घरको भुइँतलामा आकाशे पानी पसी बस्न नसक्ने भएकोले छिमेकीको घरमा बसेका छन्।

धनकुटा- सडक अवरुद्ध

बर्षाको कारण पाख्रिबास नगरपालिका ७ मा पर्ने माङमाया खहरे खोल्सामा आएको बाढीले धनकुटा-भोजपुर सडक अबरुद्ध भएको छ।

बर्षाको कारण चौबिसे गाउँपालिका २ शुक्रवारे बस्ने ३५ वर्षीय दोर्ण तुम्साको पाली घर पहिरोले बगाउँदा करिब ३ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

सप्तरी- सडक अवरुद्ध

तिलाठी कोईलाडी गाउँपालिका १ तिलाठीस्थित खाडो खोलामा बाढी आएर राजविराजबाट भारतको कुनौली जाने सडक-खण्ड अवरोध भएको छ।

उदयपुर-सडक अवरुद्ध

बर्षाको कारण कटारी नगरपालिका १४ स्थित भदौरे खोला, किण्डुक खोला र वनडाँडा खोलामा बाढी आएपछि घुर्मी-कटारी सडक खण्ड अबरोध भएको प्रहरीले जनाएको छ।

रौतामाई गाउँपालिका ५ अँधेरी खोलास्थित गाइघाट-खोटाङ भित्रि सडक खण्डमा पहिरो गएपछि बाटो अवरोध भएको छ।

ललितपुर- एकजना घाइते, कान्ति लोकपथ अवरुद्ध

वर्षाको कारण महाँकाल गाउँपालिका ३ गोटीखेलस्थित खहरे खोलाले बाटो बगाउँदा मकवानपुर-ठिंगन-चापागाँउ (कान्ति लोकपथ)सडक खण्ड अवरोध भएको।

बाग्मती गाउँपालिका ३ भट्टेडाँडा देविस्थान स्थित बा ४ ख ८६४ नम्बरको गाडी गुडिरहेको अवस्थामा माथिबाट ढुंगा खसी गाडीको पछाडि सवार ३५ वर्षीय दिपक घलेको टाउकोमा चोट लागी घाइते भएकोले स्थानीय स्वास्थ्य चौकी लगि उपचार भइरहेको छ।

भोजपुर- एकजनाको मृत्यु

बर्षाको कारण रामप्रसाद राई गाउँपालिका ७ बासिखोरा बस्ने ६६ वर्षीय जगतबहादुर राईको फुसको छानो भएको १ तले कच्ची घर अगाडिको पर्खाल भत्किँदा पिंढींमा सुतिरहेका जगतबहादुर राईको पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

पाँचथर- घर बगायो

मिक्लाजुङ गाउँपालिका ७ लुवाङदिन बस्ने पदमबहादुर तामाङको ढुंगा माटोले बनेको टिनको छानो भएको १ तले २ कोठे कच्ची घर पहिरोले आधा भाग बगाएकोले निजको परिवारका ५ जना सदस्य आफ्नै गाइगोठमा बसेका छन्।

खलढुंगा

बर्षाको कारण खिजिदेम्बा गाउँपालिका ५ चुप्लुभञ्याङस्थित पहिरो आएर पासाङ शेर्पाको ढुङगामाटोले बन्दै गरेको टिनको छानो भएको २ तले घरको पूर्वपट्टीको पर्खाल भत्केको छ।

कालिकोट

राष्कोट नगरपालिका १ बस्ने गोरे भण्डारीको २ तले, ४ कोठे टीनले छाएको घरको आँगन भास्सिन गई घर अगाडिको तला माथिको दुईवटा कोठा भत्किएको प्रहरीले जनाएको छ।

काठमाडौं- घर भत्कियो

काठमाडौं महानगरपालिका २१ लगनस्थित बिना शाक्यको ढुंगा माटोले बनेको कच्ची पुरानो घर भत्किएको छ। सो घरमा मान्छे बस्ने नगरेकोले जनधनको क्षति नभएको प्रहरीले जनाएको छ।

काभ्रे

रोशी गाउँपालिका ११ माम्त, कालढुंगा, पिप्ले र लाशकोटस्थित बिपी राजमार्गको ४ स्थानमा पहिरो गएपछि बाटो अवरोध भएको छ।

भक्तपुर

चाँगुनारायण नगरपालिका ६ नगरकोटस्थित जस्ता र फलामले बनेको प्रभाग नगरकोटको ट्रष्ट हावाहुरीले उडाएको साथै कार्यालय प्रयोजनको लागि रहेको कम्प्युटरमा क्षति पुगेको छ। कार्यालयको कागजपत्रहरू भिजेकोले सामान सोही प्रभागको अर्को भवनमा सारिएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell