PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

नेपाल-मलेसिया टी २० सिरिज भोलीदेखि, यस्तो छ हेड टु हेड



पहिलोपोस्ट

नेपाल-मलेसिया टी २० सिरिज भोलीदेखि, यस्तो छ हेड टु हेड
फोटो सौजन्य : नेप्लेज

काठमाडौं : आइसीसी टी २० विश्वकप एसिया रिजन छनोट फाइनलको तयारीमा रहेको नेपालले मलेसियालसँग दुई खेलको टी २० अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ।

सिंगापुरमा यही जुलाई २२ देखि हुने छनोटका लागि हाल मलेसियामा तयारी गरिरहेको नेपालले मलेसियासंग दुईपक्षिय सिरिज खेल्न लागेको हो।

दुई खेलको सिरिजको पहिलो खेल शनिवार हुँदैछ। जुलाई ९ मै मलेसिया पुगेको नेपालले केही दिन मलेसियामा प्रशिक्षण समेत गरिसकेको छ। शुक्रवार भने नेपाली टोली रेस्टमा छ।

एकदिनको रेस्टपछि नेपालले शनिवार मलेसियासँग पहिलो टी २० खेल खेल्नेछ। खेल नेपाली समयअनुसार बिहान पौने ८ बजे किनरारा ओभल मैदानमा शुरु हुनेछ।

यस्तै दोस्रो खेल आइतवार खेल्नेछ। मलेसियामा दुई खेलसँगै १० दिनको तयारीपछि नेपाली टोली उतैबाट जुलाई २० मा सिंगापुर जानेछ।

सिंगापुर र मलेसियाको कन्डिसन उस्तै भएकोले मलेसिया भ्रमण नेपालको लागि फाइदाजनक हुने कप्तान र प्रशिक्षकले बताएका छन्।

मलेसिया विरुद्धको खेल जित्नका लागि भन्दा पनि कन्डिसन अनुसार तयार हुन र टिमको अवस्थाबारे बुझ्न सहयोग हुने टिमको विश्वास छ।

पारस खड्काको कप्तानीमा रहेको नेपाली टोलीमा मलेसियामै केही दिनअघि सम्पन्न एसीसी यू-१९ इस्टर्न रिजनमा नेपाललाई च्याम्पियन बनाएको कप्तान रोहित कुमार पौडेल र पवन सर्राफ जस्ता युवा खेलाडी पनि समावेश छन्।

यस्तै पछिल्लो पटक युएई टूरमा नरहेका शरद भेषावकरले पनि टिममा पुनरागमन गरेका छन्।

यस बाहेक ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, सोमपाल कामी, विनोद भण्डारी, सन्दीप लामिछाने, करण केसी, प्रदिप ऐरी, अभिनाश बोहरा जस्ता खेलाडी टिममा यथावत छन्। दिपेन्द्र सिंह ऐरीको औँलाको चोटका कारण मलेसिया विरुद्ध खेल्ने/नखेल्ने निश्चित छैन। नेपालमा भएको प्रधानमन्त्री कपका बेला चोट लागेका दिपेन्द्र टिमसँगै छन्। उनले मलेसियामा पनि टिमसँगै प्रशिक्षण गरिरहेका छन्।

सिंगापुरमा हुने क्वालिफायरमा नेपाल र मलेसियासहित सिंगापुर, कतार कुवेत छन्। राउण्ड रोविन लिगपछि अंकतालिकामा शीर्ष स्थानमा रहने टोली युएईमा हुने ग्लोबल क्वालिफायरमा छनोट हुनेछ।

 

५ महिनापछि पहिलो सिरिज

नेपालले युएईसँग गत माघमा खेलेपछि पहिलो पटक टी २० आई सिरिज खेल्न लागेको हो। युएईमै भएको उक्त सिरिज नेपालले २-१ ले जितेको थियो। मलेसियासँग भने टी २० आई सिरिज खेल्न लागेको पहिलो पटक हो।

नेपालले आइसीसी ओडिआई मान्यता पाएपछि खेल्न लागेको यो दोस्रो टी २० आई  सिरिज हो। ओडिआई मान्यता पाएपछि नेपालले मलेसियासंग यसअघि एक खेल खेलिसकेको छ। आइसीसी टी २० विश्वकपकै एसिया पहिलो चरणको क्वालिफायरमा नेपालले मलेसियालाई हराएको थियो।

 

हेड टु हेडमा नेपाल अघि

नेपाल र मलेसियाबीच अहिलेसम्म टी २० मा चार पटक भेट भएको छ। जसमा नेपालले ३ खेल जित्दा मलेसियाले १ खेल मात्र जितेको छ।

सन् २००७ को एसीसी टी २० मा नेपालले मलेसियालाई २१ रनले पराजित गरेको थियो। त्यसको दुई वर्षपछि भएको २००९ को एसीसी टी २० कपमा भने मलेसियाले नेपाललाई ६ विकेटले पराजित गरेको थियो।

सन् २०१३ मा नेपालमै भएको एसीसी टी-२० कपमा भने नेपालले मलेसियालाई १९ रनले हराएको थियो।

पछिल्लो पटक मलेसियामै भएको टी २० विश्वकपको छनोटमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell