
इंग्ल्याण्ड र वेल्समा भइरहेको १२औं आइसीसी क्रिकेट विश्वकप २०१९ मा खराब प्रदर्शनपछि अफगानिस्तान राष्ट्रिय क्रिकेट टिमको कप्तान परिवर्तन भएको छ।
अफगानिस्तान क्रिकेट बोर्डले शुक्रवार स्पीनर रसिद खानलाई एक दिवसीयसहित तीन वटै फर्म्याटको कप्तान नियुक्त गरेको हो।
@rashidkhan_19 appointed as Team Afghanistan's new Captain across all three formats while Asghar Afghan appointed as Vice-Captain. pic.twitter.com/s78Nso67aF
— Afghanistan Cricket Board (@ACBofficials) July 12, 2019
अफगानिस्तानले गुल्बदिन नैबको कप्तानीमा विश्वकप खेलेको थियो र उनको कप्तानीमा अफगानिस्तानले सबै ९ खेल हार्यो। विश्वकपअघि मात्र बोर्डले नियमित कप्तान अस्गर अफगानलाई हटाउँदै तीन वटा फर्म्याटमा फरक फरक कप्तान चयन गरेको थियो। जसमा रसिद टी २० को मात्र कप्तान थिए। यस्तै टेष्टको कप्तान रहेमत शाहलाई तोकिएको थियो।
अब रसिद खानले नै सबै फर्म्याटको कप्तानी गर्नेछन् र उनलाई पूर्व कप्तान अस्गर अफगानले उपकप्तान बनेर सघाउने भएका छन्।
यस पटक विश्वकपमा अफगानिस्तानले कुनै खेल जित्न नसक्दा कुनै पनि खेलाडीको प्रदर्शन सम्झनलायक रहेन। रसिदले पनि राम्रो प्रदर्शन गर्न सकेनन्। उनले जम्मा ६ विकेट लिए।