
काठमाडौं : फिफा महिला फुटबलको विश्व वरीयतामा नेपालले सुधार गरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रवार जारी गरेको नयाँ वरीयतामा नेपाल दुई स्थान फड्को मार्दै १०१औं स्थानमा पुगेको हो।
यसअघि नेपाल १०३औं स्थानमा थियो। २०२० को ओलम्पिक पुटबलमा दोस्रो चरण पुगेको नेपाली महिला टोली भारतमा भएको हिरो वुमन्स गोल्डकपमा दोस्रो भएको थियो। यस्तै घरेलु मैदानमा भएको पाँचौ साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो।
यसअघि ११८१ प्वाइन्ट रहेको नेपालको अहिले ११९६ प्वाइन्ट छ।
दक्षिण एसियालीमा भारत सबैभन्दा माथि ५७औं स्थानमा छ। भारतले वरीयतामा ६ स्थान सुधार गरेको हो।
विश्व वरीयतामा भने केही दिन अघि महिला विश्वकप जितेको अमेरिका शीर्ष स्थानमा यथावत छ। यस्तै जर्मन दोस्रो स्थानमा कायम छ भने विश्वकपमा उपविजेता बनेको नेदरल्याण्ड्स पाँच स्थान सुधार गर्दै तेस्रो स्थानमा पुगेको छ। फ्रान्स चौथो र इंग्ल्याण्ड पाँचौ स्थानमा छन्।