
काठमाडौं : चौथो संस्करणको ललित स्मृति यू-१८ च्याम्पियनसिपको क्वाटरफाइनल पुग्ने ८ वटै टोलीको टुङ्गो लागेपछि अब नकआउट चरणको खेलहरु आइतबारदेखि सुरु हुने भएको छ।
आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रवार क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेल हुने मिति समेत सार्वजनिक गरेको छ।
यस्तै क्वाटरफाइनलको समिकरण एन्फाले सार्वजनिक गरिसकेको छ।
सहभागि १४ टोलीलाई एन्फाले तीन समूहमा विभाजन गरेर प्रतियोगिता खेलाएको थियो। समूह चरणको खेलपछि तीनवटै समूहको विजेता र उपविजेता अनी तेस्रो हुने तीनमध्ये उत्कृष्ट दुई टोली पनि क्वाटरफाइनल पुगेका हुन्।
समूह ‘ए’बाट हिमालयन शेर्पा क्लब विजेता र मच्छिन्द्र क्लब उपविजेता, समूह ‘बी’बाट त्रिभुवन आर्मी क्लब विजेता र नेपाल एपीएफ क्लब उपविजेताका हुँदै क्वाटरफाइनल पुगेका थिए। यस्तै समूह सी बाट ब्रिगेड ब्वाइज क्लब विजेता र नेपाल पुलिस क्लब उपविजेताका रुपमा क्वाटरफाइनल पुगेको हो।
तेस्रो हुने तीन मध्ये उत्कृष्ट दुई टोलीका रुपमा समूह बी बाट मनाङ मर्स्याङ्दी क्लब र समूह सी बाट जावलाखेल क्लब क्वाटरफाइनलमा पुगेका हुन्।
क्वाटरफाइनलअन्तर्गत पहिलो खेल आइतबार हिमालयन शेर्पा र मनाङ मर्स्याङ्दीबीच हुनेछ। यस्तै आइतवारै ब्रिगेड ब्वाइज र एपीएफबीच पनि खेल हुनेछ।
सोमबार त्रिभुवन आर्मी र जावलाखेल तथा नेपाल पुलिस र मछिन्द्रबीच क्वाटरफाइनल खेल हुनेछ।
त्यसपछि दुई दिन रेस्ट हुनेछ र साउनको २ गते दुवै सेमिफाइनल खेल हुनेछ। फाइनल खेल साउन ५ गते हुनेछ।
एन्फाका पुर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा एन्फाले आयोजना गरेको यस प्रतियोगिताको विजेताले ३ लाख प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ५० हजार हात पार्नेछन्।