- हरि भीष्म-
काठमाडौं: जल तथा मौसम विज्ञान विभागले मौसम तथा बाढीको विषम अवस्था आइतवारसम्म रहने जनाएको छ। आइतवारसम्म पानी परिरहने भएकोले नदी किनार आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन पनि मौसम विभागले अनुरोध गरेको छ।
विगत केही दिनदेखि नेपालमा मनसुन सक्रिय भइरहेको र बिहीवारदेखि मनसुन थप सक्रिय भएको छ। बिहीवारदेखि नेपालका मध्य तराई क्षेत्रमा शसक्त न्यून चापीय प्रणालीसमेत विकसित भएको छ। जसका कारण मध्य तथा पूर्वी नेपालको पहाडी र तराई क्षेत्रमा अविरल वर्षा भई शुक्रवार बिहानदेखि वाग्मती र कमला लगायत सो क्षेत्रका स–साना नदीमा समेत बाढीले खतराको तह पार गरेको छ।
विभागकै मौसम पूर्वानुमान महाशाखाले मुलुकका अधिकांश स्थानमा निरन्तर मनसुनी वर्षा सक्रिय भएपछि बिशेषतः हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिविलिटिका कारण अवरोध आउने सक्ने भन्दै उच्च सतर्कता अपनाउन सुझाएको छ।
मुलुकको पूर्व र मध्य क्षेत्रका केही स्थानमा र पश्चिमका एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाका मौसमविद् समीर श्रेष्ठले बताए। पूर्व र मध्यका भागका तराई र पहाडका एक दुई ठाउँहरुमा धेरै भारी वर्षा हुने सम्भावना छ। यसको कारणले पूर्व र मध्य क्षेत्रका पहाडी भागमा पहिरो जान सक्ने र पूर्व र मध्य तराई क्षेत्रका नदिहरुमा जलको वहाव, स्तर बढ्न सक्ने भएकोले उच्च सतर्कता अपनाउन सुझाव दिइएको छ। हाल मनसुन न्यून चापिय रेखा मध्य र पूर्वी नेपालको तराई र पश्चिमी नेपालको पहाडी भू–भाग नजिक अवस्थित छ।
शनिबार र आइतबार पनि देशभर वर्षा जारी रहने सम्भावना छ। पूर्व र मध्य क्षेत्रका तराई र पहाडी भागका केही स्थानमा र पश्चिमी भागको तराई क्षेत्रका केही स्थानहरूमा भारी वर्षाको सम्भावना छ। पूर्व र मध्य क्षेत्रका पहाड र तराईका एक दुई ठाउँहरुमा धेरै भारी वर्षा हुने महाशाखाले जनाएको छ।
ज्यान जोगाउन रुख चढेका एकजनाको २४ घण्टापछि उद्दार
कमला नदीको बाढीबाट जोगिन रुख चढेका एक जनाको २४ घण्टापछि उद्धार गरिएको छ। बाढीबाट जोगिन बिहीबार रुख चढेका सिरहाको कर्जन्हा नगरपालिका–२ का ५५ वर्षीय बेत्रु मुखियाको शुक्रवार साँझ नेपाली सेनाको टोलीले उद्धार गरेको हो।
प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीका अनुसार कमला नदीको बीचमा रहेको रुखमा चढेका मुखियालाई धनुषाको पोर्ताहा क्षेत्रबाट गएको सेनाको टोलीले उद्धार गरेको हो।
दिनभर पानीको बहाव नघटेका कारण उद्धारमा कठिनाइ भएको थियो। प्रतिकूल मौसमका कारण उद्धारका लागि काठमाडौँबाट हेलिकप्टर आउन सकेको थिएन। मुखिया कमला नदीको बगरमा टहरा बनाएर तरकारी खेती गर्दै आएका थिए। बाढीले टहरा बगाएपछि मुखिया ज्यान जोगाउन रुख चढेका थिए।
-रासस
तस्वीर- रासस