PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

बाढीले दुहबीको बुढी खोलाको पुल क्षतिग्रस्त, मोरङमा सय हेक्टर जमिन डुबानमा



अनन्तराज न्यौपाने

बाढीले दुहबीको बुढी खोलाको पुल क्षतिग्रस्त, मोरङमा सय हेक्टर जमिन डुबानमा

विराटनगर: लगातारको वर्षाका कारण आएको बाढीले धरान–विराटनगर सडक खण्डको दुहबीमा पर्ने बुढी खोलाको पुल क्षतिग्रस्त भएको छ।

मोरङ र सुनसरी जिल्लाको सिमाना पर्ने पुलको उत्तरपट्टि पश्चिम तर्फको स्पर बाढीले भत्काएपछि पुल क्षतिग्रस्त भएको हो।

इलाका प्रहरी कार्यालय, दुहबीका प्रहरी निरीक्षक रामनारायण माझीका अनुसार स्परसहित पुलको उत्तरतर्फको माटो बाढीले बगाएको थियो।

पुलको उत्तरपट्टिको भाग क्षतिग्रस्त भएपछि पुलमाथिबाट चलाइने सवारी साधनमा नियन्त्रण गरिएको छ।‘हामीले अहिले पुलबाट एक पटकमा एक सबारीसाधन मात्र सञ्चालन गर्न दिएका छौँ’, प्रहरी निरीक्षक माझीले भने, ‘पुललाई धेरै लोड नपरोस् र थप क्षति नहोस् भनेर एक पटकमा एउटा मात्र सवारी साधन चल्न दिएको हो।’

उनले पुलको भत्किएको स्परमा वर्षाले थप क्षति नगरोस् भनेर प्लास्टिकको त्रिपाल र बोराले छोप्ने काम गरिएको जानकारी दिए। पुलमा खतराको सङ्केतस्वरूप रातो झन्डा पनि गाडिएको छ।

निरीक्षक माझीले पुल क्षतिग्रस्त हुँदा सडक विभाग र सम्बन्धित निकायबाट हालसम्म प्राविधिकको टोली नआएको बताए।

यसैबिच मोरङमा बाढीबाट १ हजार ९ सय ६० व्यक्ति विस्थापित भइसकेका छन्।

मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीका अनुसार  खोला किनारमा बसोबास गर्ने अधिकांश सुकुम्बासी विस्थापित भएका हुन्।

विस्थापित हुनेलाई स्थानीय जनप्रतिनिधि समेतको सहयोगमा सुरक्षित स्थानमा सारिएको छ।

बाढीका विराटनगर महानगरपालिकाका वडा नम्बर १, ८, ६, १२ र १६ का बासिन्दा सबैभन्दा बढी  प्रभावित बनेको प्रजिअ केसीले बताए ।

उनले मोरङको दक्षिण पूर्वमा पर्ने जहदा गाउँपालिका, कटहरी गाउँपालिका र धनपालथान गाउँपालिका बाढीबाट बढी प्रभावित भएको जानकारी दिए।

मोरङको रंगेली–कानेपोखरी सडक खण्डको कानेपोखरी–२ स्थित गेउरिया खोलामा बिहिबारदेखि बेपत्ता भएका एक व्यक्ति अझै फेला परेका छैनन्।

करिब २५÷३० वर्षका युवकलाई गेउरिया खोला तर्ने क्रममा खोलाले मोटरसाइकल सहित बगाएको र उनी हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बगेका युवकको पहिचान खुल्न नसकेको प्रहरीले बताएको छ।

एक सय हेक्टर तरकारी खेती डुबानमा

विराटनगर महानगरपालिकासित जोडिएको र तरकारीको पकेट क्षेत्र मानिएको कटहरी गाउँपालिकामा लगाइएको एक सय १० हेक्टर तरकारी खेती पनि डुबानमा परेको छ।

मोरङको लोहन्द्रा खोला र जुडी खोलामा आएको बाढीले  उक्त तरकारी खेती डुबानमा परेको हो। डुबानमा परेको तरकारी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत लगाइएको थियो।

तरकारी किसान कोपिन्द्र सिंहका अनुसार उक्त तरकारी ब्लकमा एक सय ४० किसानको सहभागिता छ।

ब्लकमा घिरौला, काँक्रा, भिन्डी, बोडी, भन्टा, लौका, करेला लगायतका तरकारी छन्। बारीमा ३ फिटसम्म पानी जमेको जानकारी दिँदै किसान कोपिन्द्रले अब घाम लागेपछि तरकारीका जरा कुहिने सम्भावना भएको उल्लेख गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell