
काठमाडौँः अविरल वर्षासँगैको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ४८ पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार बाढी पहिरोमा परी २७ पुरुष र २१ जना महिलाको मृत्यु भइसकेको छ।
बाढी पहिरोमा परी २५ जना घाइते भएका छन्। ३५ जना बेपत्ता छन्। प्रहरीले अहिलेसम्म एक हजार १०४ जनाको उद्धार गरेको छ।
बाढी पहिरोमा परेकाको उद्धार र व्यवस्थापनका लागि २७ हजार नेपाल प्रहरी खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
सबैभन्दा धेरै उपत्यकामा आठ हजार ८५६ जना प्रहरी परिचालन गरिएको छ। प्रदेश नम्बर १ मा ६ हजार ३०५ जना, प्रदेश नम्बर २ मा पाँच हजार ७०२, प्रदेश नम्बर ३ मा तीन हजार ४०५ जना र कर्णाली प्रदेशमा तीन हजार ११२ जना प्रहरी खटिएका छन्।
बाढी पहिरोमा उपत्यकामा ८ जनाको मृत्यु भएको छ। जसमा ललितपुरमा पाँच जना र काठमाडौँमा तीन जनाको मृत्यु भएको छ।
प्रदेश नम्बर १ मा १७ जनाको मृत्यु भएको छ। प्रदेश नम्बर २ मा ७ जना, प्रदेश नम्बर ३ मा १२ जना, प्रदेश नम्बर ५ मा दुई र कर्णालीमा दुई जनाको मृत्यु भएको छ।