PahiloPost

Dec 10, 2019 | २४ मंसिर २०७६

एक युवतीको डरले यसरी गुम्यो मेरो दश रुपैयाँ



सविन ढकाल

एक युवतीको डरले यसरी गुम्यो मेरो दश रुपैयाँ

उफ्! अफिस कसरी जाने होला?

बिहान आँखा खोलेदेखि नै यही प्रश्नले सताइरहेको थियो। रातिदेखि नै परिरहेको असारे झरीले नराम्ररी अत्त्याएको थियो। देशको केन्द्रीय राजधानी भएर के गर्नु, यस्तो सिकसिके बाटोमा? सडकमा केही मिटरको दुरीमा भेटिने भैसी आल बस्ने जस्ता दह पार गर्ने हिम्मत सजिलै जुट्दैन।

नियमित झैं आज पनि मुलपानीदेखि १० किलोमिटरको दुरीमा रहेको पहिलोपोस्ट अफिस दरबारमार्ग पुग्नु थियो। सधैं झै परिस्थिति अलिकति फरक। एक्सिलेटर दबाएर खुट्टा स्कुटीको च्यापमा राखेर हिलो, खाल्डो छल्दै वा पर्दै हिँड्ने अवस्था थिएन। अघिल्लो साँझ झरीले नै स्कुटी स्टार्ट भएन। गाडीमा घर गइयो।

स्कुटी विना हिँड्ने बानी छुट्नुको पीर पनि कम्तीको हुने रहेनछ। झरी केही मत्थर हुँदै थियो। एउटा निर्णय गरें- आज सार्वजनिक सवारीमा जाने हो। चार वर्ष भएछ राजधानीमा सार्वजनिक सवारी नचढेको। कलेज पढ्दा, काम गर्न जाँदा सार्वजनिक सवारीका धक्कामुक्का खाएको मस्तिष्कमा आलै थियो। पुगिसरीले होइन, परिस्थितिले निजी सवारी चढ्न बाध्य तुल्यायो। सार्वजनिक सवारी सहज भए फेरि निजी सवारीको यात्रा गर्ने  रहर छैन। तर, स्कुटर यात्राले लत चाहिँ बिगारेछ।

घरबाट निष्किएँ। फिटफिटे चप्पल लगाएँ। जुत्ता स्कुटरको डिकीमा नै थियो। राजधानीको बाटो जुत्ता जोगाउन साहै मुस्किल। घरबाट चप्पल लगाएर अफिससम्म। अफिस पुगेर जुत्ता मोजा लगायो अनि डिकीमा चप्पल। फर्कँदा उही प्रकृया। फेरि जुत्ता खोल्यो अनि चप्पल। असारे झरी परेदेखि नियती नै बनेको थियो यस्तो।

गोजीमा भएको मास्क निकालें अनि हिलो बाटो हेर्दै हाम्रो नियतीलाई सराप्दै सार्वजनिक सवारी पाउने बाटोतिर लम्किएँ। खै के भयो कुन्नी मुखबाट कहिले खोल्न मन नलाख्ने माक्स खोल्न मन लाग्यो। प्रधानमन्त्रीको बोली सम्झिएँ- माक्स लगाउने मेरा विरोधी हुन्। तर, प्रधानमन्त्रीको समर्थनमा होइन है, हिँड्दै गर्दा बढेको स्वाँ स्वाँले मास्क फुकाल्न प्रेरित गर्‍यो। प्रधानमन्त्रीले आफ्नो कालो सीसाबाट देखेका थिए भने भन्थे होलान् - केटो मेरै रहेछ। ओलीले त्यो अवसर चुकाए।

वाग्मती किनारमा गएर गाडी पर्खिएँ। खासै कुर्नै परेन। निलो माइक्रो खाली नै जस्तो आयो। हात दिएँ, रोक्यो।

'दाइ मित्रपार्कसम्म मात्र है।'

पुग्नु थियो दरबारमार्ग। आधा बाटोसम्म किन जाने? अर्को आउँला नि। जान्न भन्दिएँ।

केही मिनेटमा नै अर्को माइक्रो आयो। एक जना मात्र पेसेन्जर। हात दिए। ड्राइभर नजिकैको सिटमा बसें।

केही मिटरमात्रै गुडेको थियो। यात्रुको भिड थपियो।

'त्यो अगाडिको माइक्रोले मान्छे छानेर लियो कि के हो?'

माइक्रोका चालक आफैंलाई प्रश्न गर्दै बोले।

प्रश्न मेरा लागि थियो या थिएन? तै पनि जवाफ दिएँ - खै मित्रपार्कसम्म मात्र भन्थ्यो।

उनी कडा आवाजमा बोले, 'हुन्छ मित्रपार्कसम्म? छानेर मान्छे लगेछ।'

अफिस टाइममा माइक्रोबसको मनपरी अझै तोडिएको रहेनछ। चारवर्ष अघि नयाँ बानेश्वरबाट जोरपाटी जाने माइक्रोबसले पनि चाबहिलसम्म मात्र जान्छ भन्दै यात्रु चढाएको सम्झिएँ। मन्त्री फेरिएछन्, सिन्डिकेट तोडिएछ। तर, समस्या त ज्यूँका त्यूँ नै रहेछ।

१०/१२ जना यात्रुले हात दिए। तर, माइक्रो रोकिएन। चालक म पनि किन लग्छु भन्दै गाडी हुत्याइरहेका थिए।

भने, 'दाइ यस्तो गर्न पाइन्छ? अहिले अफिस टाइम छ। एकछिनमा यात्रु नभेट्दा तपाईँ बोलाउँदै हाल्नुहुन्छ।'

उसको माइक्रोको गति केही कम गर्‍यो। अनि ब्याक गरेर यात्रु भएको ठाँउमा नै लग्यो। मेरो बोली वा आफैं के मनन गरेर हो थाहा भएन। तर, हात दिने यात्रुले माइक्रोबस चढ्न पाए।

'रत्नपार्क हो दाइ?' यात्रु सोध्दै थिए। उनी चुप थिए।

माइक्रो यात्रुले भरिए। कतिलाई मैले नै इसारले रत्नपार्क नै हो सम्म भन्ने संकेत गरें।

'सबै विद्यार्थी! यसरी कसरी हुन्छ?' चालक भुत्भुतिँदै थिए।

'यहाँ बसम्?'

एक युवतीले भनिन्।

मैले हुन्छ पनि भनिनँ। अनि हुँदैन पनि। म अलिकति पर सरेँ। मतलब बस्न अनुमति दिएँ। २२/२३ वर्षकी युवती मसँगै बस्न खोज्दा नाइ किन भन्न सक्थें? यो सार्वजनिक सवारी थियो। मेरो स्कुटरको पछिल्लो सिट थिएन।

मलाई असहज भयो। उनको स्पर्श र उपस्थितिले होइन। एकातिर घरीघरी ड्राइभरले चलाउने गियर र साँघुरो ठाँउ। उनको शरीरलाई मैले पेलेर आफ्नो सिटको क्षेत्रफल फैलाउने हिम्मत पनि गर्न सकिनँ। बीचमा यात्रुले हात दिन्थे। माइक्रो रोकिन्थ्यो। एउटा भिड नै छिर्थ्यो।

'बाहिर नझुन्डिनु है। अस्ति यही ठाँउमा माइक्रो पल्टिएको हो।'

चालकले यसो भनिरहँदा केही दिनअघि त्यही बाटोमा माइक्रो दुर्घटनामा परी घाइते भएका पूर्व सहकर्मी रमेश वाग्लेलाई सम्झिएँ।

'जति भन्दा पनि मान्दैनन् के गर्नु?' चालकले भन्दै थिए।

कस्तो बाध्यता नै ज्यान नै जोखिमा राखेर यात्रा गर्नुपर्ने। समृद्ध नेपालको परिकल्पना, पानी जहाजदेखि रेलसम्मको सपना। तर, सार्वजनिक सवारीको हबिगत जहाँको तहीँ। चालक प्वाक्क बोले- 'टुक्के प्रधानमन्त्री भष्ट्रे नेता परे के गर्नु।'

केही अगाडि सडकमा ठूलठूला पानी जमेका दहहरु। दह छल्न थप एक किलोमिटर भित्र सडकबाट घुम्नुपर्दा चालकको पीडा पोखिन्थ्यो।

म सँगैकी युवतीसँग म मिलेसम्म सिटमा दुरी राख्न चाहन्थें। किनकि मेरो मन डराएको थियो। रहर के थियो भन्दिन, मन भयभित थियो। चालक र म गफ गर्दा उनी के बुझ्थिन् थाहा भएन। न मौखिक न सांकेतिक, कुनै प्रतिकृया थिएन। मित्रपार्कको उकालोमा गएर माइक्रो अडियो। उकालोमा तान्न नै सकेन। चालकले यात्रुलाई ओर्लिन भने। केही यात्रु ओर्लिए। अनि माइक्रोबस धकेल्न थाले।

अफिसमै रहेको मेरो बिरामी स्कुटरलाई 'अस्पताल'सम्म पुर्‍याउँदै गर्दा त्यही माइक्रो धकेलेको याद आयो। माइक्रोबस अड्किँदा धकेल्ने हातहरु थिए। मेरो स्कुटी धकेल्न किन कोही छैनन्? धत् निजी भनेको यही होला। राजधानी र शहरको बसाइ पनि निजी नै भएको छ। अझ स्वार्थी एउटा सानो घटनाले मलाइ कहाँ पुर्‍याएको?

गाडीको गन्तव्य आइपुग्न लाग्दै थियो। चालकले भाडा माग्न थालिसकेका थिए। धेरैले विद्यार्थी कार्ड देखाउँदै पैसा दिँदै थिए।

'दाइ गणेशस्थानसम्मको कति भाडा?' मलाई भाडादर थाहा नभएकाले सोधें। जवाफ आयो - पच्चिस रुपैयाँ, कार्ड नभए।

नियमित विद्यार्थी थिइनँ। तर, एलएलबी प्रथम वर्षको परीक्षा दिइरहेको थिएँ। गोजीमा ल क्याम्पसको कार्ड थियो।

कार्ड!

झट्ट एउटा घटना याद आयो।

केही समयदेखि राजधानीमा सिरिन्ज आतंक चलिरहेको थियो। केही दिनअघि मात्र काभ्रेमा एक जना शिक्षकलाई सिरिन्ज हानेको भन्दै बसमा यात्रुले कुटेर प्रहरी कहाँ बुझाएका थिए।

अघिल्लो दिन काभ्रेका एसपीसित मेरो कुरा भएको थियो। उनले त्यो मान्छे निर्दोष देखियो भन्दै थिए। काँही कतै पढेको थिएँ- बसमा भाडा तिर्न निकालेको कार्डले घोचेको रहेछ भन्ने। त्यो सत्यता चेक गरेको थिइनँ। तर, उनी निर्दोष भएको पीडित र प्रहरीले पुष्टि गरेको थियो।

उनी निर्दोष सावित भए। तर, 'पब्लिक धुलाई' र समाचारमा उनका तस्विरले उनलाई दोषी करार गरिसकेको थियो। हैट! कार्ड निकाल्दा सँगै बसेकी युवतीलाई घोच्यो र त्यसरी नै कराइन भने?

अनि केही समय अगाडि महाजगञ्जमा एक युवतीलाई सडकमा हिँडिरहेका युवकको औंठीले घोच्दा सिरिन्ज भन्दै चिच्याएको घटना याद आयो जुन एक प्रहरीले मलाई सुनाएका थिए। खल्तीमा रहेको कार्ड झिकेर १० रुपैयाँ बचाउने हिम्मत गरिनँ।

पुतलीसडक वारी माइक्रो रोकियो। सँगै बसेकी युवती झरिन्। अघिसम्म मौन बसेकी युवती माइक्रोको ढोका लगाउँदै म तिर हेरिन्। अनि मुसुक्क हाँसिन्। उनका आँखाले सायद, बाई भन्दै थिए होलान! यतिकैमा गाडी हुत्तियो।



एक युवतीको डरले यसरी गुम्यो मेरो दश रुपैयाँ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell