PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

अफ्रिका कप : दुई नाटकीय सेमफाइनलपछि सेनेगल र अल्जेरिया फाइनलमा



पहिलोपोस्ट

अफ्रिका कप : दुई नाटकीय सेमफाइनलपछि सेनेगल र अल्जेरिया फाइनलमा

अफ्रिकी महादेशको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता अफ्रिका कप २०१९ को उपाधिका लागि सेनेगल र अल्जेरिया भिड्ने भएका छन्।

इजिप्टमा भइरहेको प्रतियोगितामा दुई नाटकीय सेमिफाइनलपछि सेनेगल र अल्जेरियाले फाइनलमा स्थान बनाएका हुन्। अतिरिक्त समयसम्म पुगेको पहिलो सेमिफाइनलमा आत्मघाती गोलको मद्दतले सेनेगलले ट्युनिसियालाई १-० ले हरायो।

अर्को सेमिफाइनलमा रियाद महारेजले इन्जुरी टाइममा निर्णायक गोल गर्दा अल्जेरियाले नाइजेरियालाई २-१ ले पराजित गरेको हो।

सेनेगल र ट्युनियाबीचको खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएको थियो। त्यस समयमा दुवै टोलीले एक-एक पेनाल्टी अवसर गुमाएका थिए।
खेलको ७५औं मिनेटमा ट्युनिसियाका फेर्जानी सास्सी र ८१औं मिनेटमा सेनेगलका हेनरी सैभेटले पेनाल्टीमा गोल गर्न सकेनन्।


निर्धारित समय बराबरी भएपछि खेल अतिरिक्त समयतर्फ गयो। जसमा ट्युनियाका खेलाडीले आत्मघाती गोल उपहार दिँदा सेनेगललाई फाइदा पुग्यो।
खेलको १०१औं मिनेटमा ट्युनिसियाका ड्यलान ब्रोनले आत्मघाती गोल गर्नु नै सेनेगलको जितमा निर्णायक बन्यो।


उता अर्को सेमिफाइनल खेल पनि रोमाञ्चक बन्यो। खेलको ४०औं मिनेटमा नाइजेरियाका विलियम ट्रोस्ट इकोङ्गको आत्मघाती गोल गर्दा अल्जेरियाले १-० को अग्रता लियो।

७२औँ मिनेटमा नाइजेरियाले पेनाल्टी पायो। ओडियन इग्लुले पेनाल्टीलाई गोलमा परिणत गर्दै खेल १-१ को अवस्थामा पुर्‍याए।

निर्धारित ९० मिनेट बराबरीमा सकिएपछि इन्जुरी टाइममा रियाद महारेजले फ्रिकिकमा गोल गर्दै अल्जेरियालाई २-१ को जित दिलाउँदै फाइनल पुर्‍याए।

सेनेगल १७ वर्षपछि र अल्जेरिया २९ वर्षपछि फाइनल पुगेको हो। सन् २००२ मा उपविजेता बनेको सेनेगल पहिलो पटक उपाधि जित्ने योजनामा छ। यस्तै अल्जेरियाले यसअघि सन् १९९० मा एक पटक मात्र उपाधि जितेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell