
आइसीसी क्रिकेट विश्वकप २०१९ को टिम अफ दि टुर्नामेन्टमा च्याम्पियन इंग्ल्याण्डबाट सर्वाधिक खेलाडी अटाएका छन्।
आइसीसीले सार्वजनिक गरेको टिममा इंग्ल्याण्डको चार खेलाडी पर्न सफल भएका छन्। इंग्ल्याण्डबाट ओपनर ज्यासन रोए, जो रुट, अलराउण्डर बेन स्टोक्स र फास्ट बलर जोफ्रा आर्चर परेका छन्।
यस्तै उपविजेता न्यूजिल्याण्डबाट २ खेलाडी पर्दा सेमिफाइनल पुगेका भारत र अष्ट्रेलियाबाट पनि २-२ खेलाडी अटाएका छन्। लिग चरणबाटै बाहिरिए पनि अलरउण्ड प्रदर्शन गर्न सफल बंगलादेशका शकिब अल हशन पनि टिममा परेका छन्।
टिमको कप्तानको रुपमा न्यूजिल्याण्डका केन विलियमसन छन्। यस्तै किवी टोलीबाट फास्ट बलर लकी पर्गुसन पनि परेका छन्। भारतबाट ओपनर रोहित शर्मा र फास्ट बलर जसप्रित बुमराह तथा अष्ट्रेलियाबाट विकेटकिपर ब्याट्सम्यान एलेक्स केरी र फास्ट बलर मिचेल स्टार्क परेका छन्।
विलियमसन यस विश्वकपको प्लेअर अफ दि टुर्नामेन्ट घोषित भएका थिए। यस्तै रोहित शर्माले सर्वाधिक ६४८ रन बनाएका थिए। उनले एकै विश्वकपमा सर्वाधिक (५) शतक प्रहार गर्ने कीर्तिमान समेत बनाए।
अष्ट्रेलिया मिचेल स्टार्कले सर्वाधिक २७ विकेट लिए। उनले एकै विश्वकपमा सर्वाधिक विकेट लिने ग्लेन म्याग्राको कीर्तिमान तोडे। सन् २००७ मा म्याग्राले २६ विकेट लिएका थिए।
१२ औं खेलाडीको रुपमा न्यूजिल्याण्डका ट्रेन्ट बोल्ड समावेश भएका छन्।