PahiloPost

Dec 10, 2019 | २४ मंसिर २०७६

निर्मला प्रकरणः पत्रकार खेम भण्डारीलाई अवहेलना मुद्दामा शर्तसहितको सजाय, शर्त नमाने कैद र जरिवाना



पहिलोपोस्ट

निर्मला प्रकरणः पत्रकार खेम भण्डारीलाई अवहेलना मुद्दामा शर्तसहितको सजाय, शर्त नमाने कैद र जरिवाना

काठमाडौँः निर्मला प्रकरणलाई 'ट्विस्ट एन्ड टर्न' गराउने  'शक्तिशाली व्यक्ति  भनिएका' पत्रकार खेम भण्डारीलाई कञ्चनपुर जिल्ला अदालतले जरिवानासहितको जेल सजाय सुनाएको छ।

जिल्ला अदालत बार एसोसिएसनले विचाराधीन मुद्दालाई प्रभावित पारेको र अवहेलना भन्दै दायर मुद्दामा अदालतले सोमबार पत्रकार भण्डारीलाई एक घण्टा जेल र एक रुपैयाँ जरिवाना हुने आदेश सुनाएको हो। 

न्यायाधीश राजेन्द्र आचार्यको एकल इजलासले यस्तो आदेश गरेको हो।

अदालतले भण्डारीलाई शर्तसहितको सजाय सुनाएको छ।

'आदेश भएको छ। तर केही शर्त राखिएका छन्। उनले शर्त पूरा गरेर अदालतमा उपस्थित भएको खण्डमा सजाय मिनाहा हुनेछ' अदालतका श्रेष्तेदार हरिकृष्ण अवस्थीले भने।

शर्त पूरा गर्नका लागि तीन दिन समय दिइएको छ। तोकिएको अवधिमा शर्त पूरा गरेमा सजाय मिनाहा हुनेछ। तीन दिन सम्मका लागि सजाय स्थगनमा छ। आदेश बुझेपछि उक्त समय सुरु हुनेछ।

के छन् शर्त

अदालतले पत्रकार भण्डारीले आफ्नो फेसबुकमा लेखिएको स्टाटस हटाउनुपर्ने, आत्मालोचनासहित माफी माग्नुपर्ने उत्लेख गरेको छ। आत्मालोचनासहित माफी मागेमा सजाय स्थगन हुने आदेशमा उल्लेख छ।

पत्रकार भण्डारीले आफूले अदालतको निर्णय सम्मान गरे पनि माफी माग्ने सम्भावना नरहेको बताएका छन्। उनले फेसबुकमा लेखेका छन् 'बरू फाँसी भोग्छु, यस प्रकरणमा माफी माग्ने कुनै सम्भावना छैन।'

विचाराधीन विषयमा अदालतलाई प्रभावित गर्नेगरी समाचार लेखेको भन्दै जिल्ला बारले मुद्दा दायर गरेको थियो। निर्मला प्रकरणमा जोडिएका आठ प्रहरीविरुद्ध चलाउन लागिएको मुद्दामा हदम्याद लगायतका प्राविधिक विषयमा अदालतले सहयोगका लागि एमिकस क्यूरी गठन गरेको थियो।

सो विषयलाई पत्रकार भण्डारीले मानसखण्ड दैनिक पत्रिकामा 'निर्मला हत्याकाण्ड : न्यायिक प्रक्रिया नै बिथोल्ने यस्तो डिजाइन!' शीर्षकमा समाचार छापेका थिए।

समाचारमा 'एमीकसका रुपमा पठाइएका अधिवक्ता हरेन्द्रराज विष्ट अभियुक्त तथा वर्खास्तीमा परेका एसपी डिल्लीराज विष्टका नातासम्बन्धी भएको दावी गरेको' उल्लेख छ। न्यायिक प्रक्रिया नै बिथोल्ने डिजाइन भएको शीर्षकमा दावी गरिए पनि समाचारमा 'दैनिक मानसखण्डको संक्षिप्त अनुसन्धानले अधिवक्ता र पूर्व एसपी विष्ट नाता सम्बन्धमा पर्ने देखाए पनि ठोस जानकारी प्राप्त हुन सकेको छैन' लेखिएको छ।

पूर्व एसपी विष्टले हरेन्द्रलाई आफूले अहिलेसम्म देख्दा पनि नदेखेको र चिन्दा पनि नचिनेको दावी गरे। एसपी विष्टले भने, 'वंशावली अनुसार कतै केही आफ्नो पर्ने भए थाहा छैन, तर मैले उनलाई अहिलेसम्म देखेको पनि छैन।'

भण्डारीविरुद्ध बम दिदीबहिनीमध्ये दिदी अनिता र तत्कालीन एसपी दिल्लीराज विष्टका छोरा किरणले पनि छुट्टाछुट्टै गाली बेइज्जती मुद्दा दायर गरेका छन्।

 

पढ्नुस्ः- निर्मला प्रकरणलाई 'ट्विस्ट एन्ड टर्न' गराउने ती शक्तिशाली व्यक्ति (#WhoKilledNirmala शृङ्खला २६)



निर्मला प्रकरणः पत्रकार खेम भण्डारीलाई अवहेलना मुद्दामा शर्तसहितको सजाय, शर्त नमाने कैद र जरिवाना को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell