PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

पहिरोले घर पुरिँदा उदयपुरमा दुई जना बेपत्ता



पहिलोपोस्ट

उदयपुरः उदयपुरको रौतामाई गाउँपालिकाको वडा नं १ र ८ मा पहिरोले घर पुरिँदा र बगाउँदा दुई बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गएराति १ः०० बजे गएको पहिरोका कारण रौतामाई गाउँपालिका -८ का रीतबहादुर रिठ्ठामगरको घर पहिरोले पुरेको छ।

राति माथिल्लो डाँडाबाट खसेको पहिरोले घर पुरिँदा रीतबहादुरका ५६ वर्षीय आमा रणमाया मगर पहिरोले पुरिएर बेपत्ता भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै उदयपुरका प्रहरी प्रमुख वीरबहादुर बुढामगरले जानकारी दिए। घटनास्थलमा आज बिहानै प्रहरी परिचालन गरिएको भए पनि स्थानीय रसुवाखोलाको बाढीका कारण तर्न समस्या हुँदा प्रहरी घटनास्थलमा पुग्न समस्या भइरहेको प्रहरी प्रमुख बुढामगरले बताए।

यता रौतामाई गाउँपालिकाको वडा नं १ मा पनि पहिरोको कारण रौता मुर्कुचीको अर्जुन तामाङको घर बगाएको छ। तामाङको घर पहिरोले बगाउँदा नौ वर्षका छोरा बेपत्ता भएको प्रहरीले जनाएको छ। पहिरोका कारण उदयपुरमा हालसम्म झण्डै एक दर्जन घर पहिरोले बगाएका प्रहरी प्रमुख बुढामगरले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell