PahiloPost

Dec 12, 2019 | २६ मंसिर २०७६

'जीना यहाँ मरना यहाँ, इसके सिवा जाना कहाँ', 'नेवार मुस्लिम पहिचान' खोजीको कथा



सहयोग रञ्जित

'जीना यहाँ मरना यहाँ, इसके सिवा जाना कहाँ', 'नेवार मुस्लिम पहिचान' खोजीको कथा

काठमाडौँ: 'जीना यहाँ मरना यहाँ, इसके सिवा जाना कहाँ'  

उमेरले ५५ नाघिसकेका ख्वाजा असद शाहले हामीलाई सुनाएको गीत हो यो। काठमाडौँमा जन्मेका ख्वाजा मामाघर वटुमा हुर्के। रैथाने नेवार समुदायको घना बस्तीमा हुर्केका उनी नेवारी कला संस्कृतिसँग घुलमिल छन्। नेवारहरुकै बीच उठबस भएकाले नेपाल भाषामा उनको राम्रै पकड छ।

सात पुस्तादेखि ख्वाजाको परिवार इन्द्रचोकमा बस्दै आएको छ। वर्षौँदेखि आकाश भैरव मन्दिर अगाडि रहेको 'इन्द्रचोक कश्मिरी बजार'मा ख्वाजाको पुस्तौनी पोते पसल छ।

धर्मले मुस्लिम उनी नेवार संस्कार र संस्कृतिमा पोख्त छन्। कुराकानीका क्रममा उनी बीचबीचमा नेपाल भाषामै बोल्थे। उनलाई नेपाल भाषामै कुरा गर्न सजिलो लाग्छ। ख्वाजाको पसल वरिपरि मुसलमानका तीसभन्दा बढी पोते पसल छन्।

काठमाडौँवासी प्राय: पोते किन्न इन्द्रचोक पुग्छन्। तर त्यस स्थानको इतिहास र त्यहाँका 'नेवा: मुस्मां' (नेवार मुस्लिम) का बारेमा कमैलाई ज्ञान छ।

 

भाषाले जोडेको सम्बन्ध

अधिकांश नेवार बौद्ध र हिन्दु धर्म मान्छन्। त्यसो भए मुसलमानहरू कसरी नेवार भए त? उत्तर खोज्न त पहिला नेवार के हो भनेर बुझ्नुपर्छ।

लक्ष्मण राजवंशीले 'नेवा: संस्कृति मह्सीका' किताबमा दिएको नेवारको परिचय यस्तो छ:

'नेवारको पहिचान भन्ने बित्तिकै दर्शनको कुरा आउँछ। त्यसपछि मात्रै संस्कृतिको कुरा आउँछ। … नेवारहरूले कुनै व्यक्ति वा शक्तिलाई देवता मानेका छैनन्। वास्तवमा मानिसमा निहीत शक्ति नै मानिसलाई देवस्थानमा राख्ने ऊर्जा हो। त्यस्तो शक्तिबाट आफूलाई देवस्थानमा स्थापित गर्न सकिन्छ। यही नै नेवार दर्शनको विशेषता हो।'

राजवंशीका अनुसार नेवारले अजिअजिमा र अजा परम्पराका पूर्वजलाई देवता पुज्दै आएका छन्। पछि भित्रिएको हिन्दु धर्मले उपत्यकाको धर्म दर्शनलाई ओझेलमा पारेको र कालान्तरमा हिन्दु दर्शन र संस्कृतिको रङले नेवार सभ्यताको आफ्नोपन नै पतन हुँदै गएको उनको विश्लेषण छ। बौद्ध दर्शनले पनि नेवार दर्शनलाई प्रभावित गर्‍यो। नेवारहरू हिन्दु नेवार र बौद्ध नेवार भई विभाजित भए।

धर्मका कारण विभाजित भए पनि नेवारहरू भाषाका माध्यमबाट एकजुट भइरहे। नेपाल भाषाका महाकवि सिद्धिदास महाजुले 'भाषा म्वा:सा जाति म्वाई' (भाषा जीवित रहे मात्रै जाति जीवित हुन्छ)  भनेर भन्नुको तात्पर्य त्यही रहेको नेवार बुद्धिजीवीहरू भन्ने गर्छन्।

नेवार संस्कृतिका अध्येता रास जोशी नेवार कुनै जाति विशेष नभई भाषाले एकीकृत गरेको समुदाय हो भन्छन्। काठमाडौँ आएपछि भाषाले एक भएका विभिन्न समुदाय नेवारका रूपमा चिनिएको उनको धारणा छ।

तिनै समुदायमा एक समुदाय हो 'नेवा: मुस्मां।'

लिच्छवीकालदेखि नै थिए काठमाडौँमा मुसलमान

नेवार मुसलमानबारे अध्ययन गरेका जोशी उपत्यकामा लिच्छवीकालदेखि नै मुस्लिमले प्रवेश गरेको प्रमाण भेटिएको बताउँछन्। चितलाङमा भेटिएको एक अभिलेखमा यसबारे चर्चा गरिएको जोशीको भनाइ छ।

पहिला नेपालबाट अरबमा कस्तुरी निकासी हुने गर्थ्यो। अरबका मुसलमान अत्तर (पर्फ्युम) बनाउन ती कस्तुरीको प्रयोग गर्थे। कस्तुरीका कारण नेपालसँग सम्बन्ध राम्रो बन्दै गएपछि मुसलमानहरू नेपाल आवतजावत गर्न थाले। सन् ७८९ मा अरबी ग्रन्थ 'हुददु अल अलाम' नाम गरेको अरबी ग्रन्थमा नेपालबाट अरबमा कस्तुरी निकास हुने गरेको उल्लेख रहेको जोशीले बताए।

नेपालमा स्थायी रूपमा मुसलमानको प्रवेश भने मल्लकालबाट भएको मानिन्छ। जोशीका अनुसार रत्न मल्लको पालामा घोषित रूपमा नै मुस्लिम नेपाल प्रवेश गरेका थिए। मल्लले नै उनीहरूलाई वटुमा बसोबास गर्ने व्यवस्था मिलाएका थिए।

खासमा उनीहरू काश्मिरबाट तिब्बत जाने क्रममा काठमाडौँ आइपुगेका थिए। काठमाडौँमा बस्ने क्रममा उनीहरू यहाँका नेवार समुदायसँग यति धेरै घुलमिल भए कि यहीँ रोकिए।

रास भन्छन्, 'मुसलमानहरू काठमाडौँ मात्रै आएनन्। आफूसँगै धेरै प्रविधि समेत भित्राए। पछि नेवारहरूले ती प्रविधिलाई आत्मसात् गरे।'

काठमाडौँ आएका मुसलमानले बहुमूल्य पत्थरका साथै सिक्का छाप्ने प्रविधि नेपालमा भित्राएको जोशी बताउँछन्। नेपालमा पहिलो पटक महेन्द्र मल्लका पालामा मुद्राका रूपमा सिक्का निकालिएको विश्वास छ। दिल्लीका सुल्तान हुमायुसँग अनुमति लिएर ती सिक्का कश्मिरी मुसलमानले बनाएका थिए।

मुद्राका अलावा मुस्लिमले काठमाडौँमा धेरै किसिमका गहना भित्र्याएका छन्। ती गहना र प्रविधि नेवारले अहिले आफ्नै जस्तै बनाइसके। काठमाडौँमा 'ताय, न्यापुसिख:' जस्ता गहना मुस्लिमले भित्र्याएको मानिन्छ। 'ताय' ताबिजबाट आएको हो भने 'न्यापुसिख:' अहिले पनि लगाउने गरिन्छ। यस्तै चुरा र मेहेन्दी भित्र्याउने पनि मुस्लिम नै थिए।

नेवार समुदायमा चुरा र मेहेन्दी बनाउने परम्परा नै थिएन। सचिका र धागो बनाउने काम उनीहरूले अहिलेसम्म गरिआएका छन्। पोते अहिले नेवार समुदायमाभन्दा अरू समुदायमा प्रचलित छ। इन्द्रचोकमा रहेको कश्मिरी बजारमा पोते किन्न धेरै जसो गैरनेवार पुग्ने गरेका छन्। उस्ताद परम्परा पनि उनीहरुसँगै नेपाल भित्रिएको हो।

जोशी भन्छन् '  आधुनिकतासँगै उनीहरूले गर्दै आएको पेसामा केही फरक आएको छ। तर, उनीहरूको मुख्य काम भनेकै पत्थर काट्ने हो। काठमाडौँमा सुनका गहना त बनाउने गरिन्थ्यो तर पत्थरको काम गर्ने कुनै जाति थिएन। पत्थरलाई मिलाएर काटेर त्यसलाई टल्काउने काम मुस्लिमले नै सुरु गरे। धेरै प्रविधि नेवार समुदायले आफ्नो बनाइरहँदा गैरनेवारले पनि मुस्लिमले भित्र्याएका प्रविधि प्रयोग गरिरहेका छन्।'

व्यापारकै सिलसिलामा इस्लाम धर्म मान्ने मुसलमान हिन्दु र बौद्ध दर्शन मान्ने नेवार समुदायसँग घुलमिल भए। काठमाडौँमा मात्रै नभएर उनीहरू पाटन र भक्तपुरसम्म पोतेको व्यापार गर्न पुगे। अहिले पाटनको मंगलबजार र भक्तपुरको गोलमढी, सुकुलढोका वरिपरि पोते व्यवसायी गर्ने रैथाने मुसलमान भेट्न सकिन्छ।

उनीहरूले व्यापारमात्रै गरेको भए नेवारसँगको सम्बन्ध प्रगाढ बनाउन सक्दैन थिए। यी दुई भिन्न समुदायको मिलनको आधार बन्यो भाषा।

कश्मिरबाट आएका मुसलमानले नेपाल भाषा सिके। त्यसलाई आफ्नै भाषा जसरी सम्मान गरे।

जोशी भन्छन्,' त्यसबेला काठमाडौँमा जातीय व्यवस्था कट्टर थियो। नेवारका घरमा पानी नचल्ने मानिसलाई राखिँदैन थियो। त्यो जातिसँग नेवारको घरधुरी नै जोडिँदैन थियो। तर, त्यस्तो कट्टरताबीच नेवारको घर मुस्लिमको घरसँगै जोडिएको थियो। नेवारको भान्छादेखि जात्रासम्म मुस्लिमलाई कुनै रोकटोक भएन। नेवार र मुसलमान एकापसमा मिलेर बसेका उदाहरण थुप्रै छन्।'

यता पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकामा विजय हासिल गरेर राज्य गर्न थालेपछि काठमाडौँमा पहाडिया मुसलमान भित्रिए। उनीहरू भने घोडचढी र बम बारुद बनाउनेमा दख्खल राख्थे। शाहले ती मुसलमानलाई भने बागबजारमा बस्ने व्यवस्था मिलाएका थिए।

शाहले काठमाडौँमा कुमारीको आशीर्वाद लिएर राज्य सञ्चालन गरेका थिए। उनले नेवार संस्कृतिमाथि हस्तक्षेप गरेनन्।

नेपाल भाषा टाइम्सका सम्पादक सुरेश किरण मानन्धर शाहले यहाँको संस्कृति मानेकाले मात्रै नेवारले उनलाई राजाका रूपमा मान्यता दिएको बताउँछन्। उसो त शाहले काठमाडौँमा रहेका इसाई धर्मावलम्बी नेवारलाई देश निकाला गरेका थिए। प्रताप मल्लको शासनकालमा नेपाल भित्रिएका इसाईहरू पनि नेपाल भाषा कै माध्यमबाट नेवारसँग घुलमिल भएका थिए।

शाहले राज्य विस्तारका क्रममा काठमाडौँमा रहेका १२५ इसाई नेवारलाई देश निकाला गरेपछि उनीहरू भारतको बेतियासम्म पुगेको मानिन्छ। मानन्धरका अनुसार बेतियामा रहेका ती नेवार इसाईले बोल्ने भाषामा अहिले पनि नेपाल भाषाको प्रभाव छ।

पृथ्वीनारायणले मुसलमानलाई भने लखेटेनन्। कारण थियो, शाहले आफूसँगै मुसलमान काठमाडौँ भित्र्याएका थिए। उनीहरूको बारुद बनाउने कला र घोडचढी कला शाहलाई आवश्यक थियो। तर, शाहले कश्मिरबाट आएका मुसलमानलाई दिँदै आएको मल्लकालीन सुविधाबाट भने बञ्चित गरिदिए।

त्यहीबेलादेखि काठमाडौँमा बस्दै आएका मुसलमान आफ्नो पहिचानका लागि संघर्ष गर्दैछन्। 

 

पहिचानको खोजी

शाहकाल प्रारम्भ भएयता काठमाडौँमा विभिन्न जातजातिका मानिस भित्रिए। तर, नेवार र मुसलमानबीचको मल्लकालीन सम्बन्ध भने टुट्न सकेन।

त्यसैका उदाहरण हुन्, ख्वाजा असद शाह।

मुस्लिमको घरमा केही पर्‍यो भने पहिला नातेदार भन्दा यहीँ कै नेवार समुदायका मानिस पुग्ने गरेको बताउँछन् उनी। ख्वाजा आफ्नै बाल्यकालमा घटेको एक घटना सम्झन्छन्-

'बाल्यकालमा काठमाडौँको वटुमा रहेको आफ्नो मामाघर आएका थिए। खेल्दाखेल्दै उनी घरबाट तल खसे। उनी खसेको उनको परिवारलाई थाहै भएन। वटुमै रहेका एक नेवार दाइले मलाई बोकेर परोपकार पुर्‍याए। आमालाई म लडेर अस्पतालमा टाँका लगाउनु परेको सूचना दिने पनि नेवार नै थिए। जन्म दिने आमाबुबा त छँदैछन्। तर यहाँ हामी मुस्लिमका धेरै नेवार आमाबुबा छन्।'

पहिला वटु पुरै नेवार बस्ती थियो। तर त्यहीँ पछि एक घर मुस्लिमको हुन्थ्यो भने दायाँ बायाँ घर नेवारको हुन्थ्यो।

अहिले पनि त्यहाँ मुसलमान समुदायको बाक्लो उपस्थिति छ। तर, राज्य व्यवस्था परिवर्तन भएसँगै धेरैले ऐतिहासिक पक्ष भुलेका छन्। उनीहरूलाई आधुनिक 'मुसलमान' को वर्गमा राखेको पाइन्छ।

अहिले नयाँ पुस्ताका मुसलमान आफूलाई नेवार मुस्लिमका रूपमा स्थापित गराउन पहिचानको खोजीमा हिँडेका छन्। पहिचानका लागि भन्दै कश्मिरी बजारका मुसलमान युवाहरू मिलेर 'नेवा: मुस्लिम समाज' गठन गरेका छन्।

समाजका अध्यक्ष निसार उद्दीन भन्छन्,' हामी नेवार सँगसँगै उपत्यका आएका हौँ। उनीहरू सँगै हाम्रा पूर्वज हुर्के। हामी हुर्किदैछौँ। तर बाहिरबाट मानिसहरू यहाँ आएसँगै हामीलाई हेर्ने दृष्टिकोण नै परिवर्तन भयो। मानिसहरू हामीलाई भारतबाट आएको भन्छन्। त्यसो होइन। हामी त मल्लकालदेखि यहाँ आएका हौँ।'

कश्मिरी बजारमा पुग्ने अधिकांश नेपालीले उनीहरूसँग हिन्दीमा कुरा गर्ने गरेका छन्।

समाजका केन्द्रीय सदस्य रज्जा उद्दीनलाई यसप्रकारको व्यवहारले दु:खी तुल्याउँछ।

भन्छन्, 'म मुसलमान हुँ। तर अस्ति भर्खर मैले मेरो छोरीको पासनी गरेँ। हिन्दु जस्तै नहोला तर हामीले भात खुवायौँ। तर मानिसहरू हामीलाई नै बाहिरबाट आएको भनेर सोच्छन्। त्यही भ्रम चिर्न यो समाज खोलिएको हो।'

त्यसो हुनुमा नेपालीहरूले भारत, अरब र पश्चिमाहरूले 'मुस्लिम आतंकवाद' भनेर बनाएको सिद्धान्त मुख्य कारण रहेको बताउँछन् अध्येता जोशी।

‘नराम्रो कुरा त हाम्रोमा पनि छ। तर आतंकवादसँग मुस्लिम समुदायलाई जोड्नु नै गलत हो। नेपालमा रहेका मुस्लिमसँग त्यसको कुनै सम्बन्ध नै छैन,’ जोशी भन्छन्, ‘उनीहरू यहाँ मिलेर बसेका छन्। उनीहरूको मस्जिदमा जान रोकटोक छैन। एक जना व्यक्तिले गरेको गल्ती एउटा पुरै समुदायमा थोपर्नु राम्रो होइन।'

भारत र पश्चिमाको प्रभाव नेपालमा परेको र मुस्लिमको ऐतिहासिक पक्षबारे जानकार नहुँदा यस्तो समस्या आएको जोशीको ठहर छ।

बाहिरी प्रभावका कारण मुसलमानले उपेक्षित महसुस गरे पनि नेवार समुदायमा भने मुसलमानलाई हेर्ने परम्परामा परिवर्तन भएको छैन। 'म आफैँ इन्द्रजात्रामा स्वंयमसेवकको काम गर्छु। कश्मिरी बजारका धेरै जना जात्रामा सरिक हुन्छन्,’ रज्जा भन्छन्,  ‘सबै साथी नेवार छन्। केही रोकटोक छैन। हामी नेवार मुस्लिम भनेर नै परिचित हुन चाहन्छौँ। त्यो हाम्रो इतिहास हो।'

इतिहास भनेर मात्रै हुँदैन। त्यसलाई सरकारले आधिकारिकता पनि दिनुपर्छ। त्यसलै अब हुने जनगणनामा समाजले आफ्नो पहिचानका रूपमा 'नेवार मुसलमान' लेखाउने तयारी गरिरहेको छ।

भाषाका कारण नै कश्मिरबाट आएका मुसलमान अहिले 'नेवा: मुस्मां'  बने। अहिले नेवार समुदायमा नै नेपाल भाषा बोल्ने क्रम घट्दो छ। यता आफ्नो पहिचान स्थापित गर्न नेवार मुसलमान समुदाय भने आफ्ना सन्तानलाई नेपाल भाषा सिकाउने तयारी गरिरहेको छ।

जोशी यसलाई नयाँ अध्यायको सुरुवातका रूपमा व्याख्या गर्छन्। ‘यो नेवा: मुस्मांको पुनरावृत्ति हो। उनीहरू धेरै वर्षपछि आफूहरू पनि नेवार नै हौँ भनेर खुलेर बाहिर आएका छन्,’ जोशी भन्छन्, ‘कसैले पनि उनीहरूलाई गैर ठान्नु हुँदैन। उनीहरूले काठमाडौँको सभ्यताको विकासमा दिएको योगदानको कदर हुनुपर्छ। अब दुवै समुदायसँग मौका छ।'



'जीना यहाँ मरना यहाँ, इसके सिवा जाना कहाँ', 'नेवार मुस्लिम पहिचान' खोजीको कथा को लागी २ प्रतिक्रिया(हरु)

Pushpa Raj Bhattarai [ 2019-07-20 02:33:38 ]
आफ्नो इतिहास र संस्कृति नैं आफ्नो पहिचान हो । आफ्नो पहिचान खोज्नु जरूरी छ तर आफैंले अध्ययन र अनुसन्धान गरेर, अरूको बहकाउमा लागेर हैन । अरूले माया गरेको भन्दा आमा वाउले झापट हानेको राम्रो हो, किनकी परिवारले कुभलो चिताउंदैन तर अरूले के गर्छ पत्तै हुंदैन ।

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Pushpa Raj Bhattarai [ 2019-07-20 02:32:01 ]
आफ्नो इतिहास र संस्कृति नैं आफ्नो पहिचान हो । आफ्नो पहिचान खोज्नु जरूरी छ तर आफैंले अध्ययन र अनुसन्धान गरेर, अरूको बहकाउमा लागेर हैन । अरूले माया गरेको भन्दा आमा वाउले झापट हानेको राम्रो हो, किनकी परिवारले कुभलो चिताउंदैन तर अरूले के गर्छ पत्तै हुंदैन ।

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell