PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

सांसद् छक्कबहादुर लामाका छक्कै पार्ने कुरा, 'मन्त्री बनेको पत्तो नपाउँदै देशमा नयाँ व्यवस्था आयो'



कुञ्जरमणि भट्टराई

सांसद् छक्कबहादुर लामाका छक्कै पार्ने कुरा, 'मन्त्री बनेको पत्तो नपाउँदै देशमा नयाँ व्यवस्था आयो'

साधारण पहिरन। हातमा कालो झोला। छातीमा सांसदको लोगो। सिंहदरबार नजिकैको प्रतीक्षालयमा भेटिए उनी। पर्खाइ हाम्रै थियो।

त्यति सामान्य रुपमा भेटिन्छन् जस्तो लागेको थिएन।

शाही कालका मन्त्री, दोस्रो पटक सांसद बनिसकेका। सामान्यतया सांसद अनि मन्त्री बनेपछि नेताहरुको चुरीफुरी बेग्लै हुने गर्छ। तर, उनी फरक निस्किए।

जिज्ञासाको समाधान गर्न धेरै समय कुर्नुपरेन। भने, ‘म कोट पनि लगाउँछु। टोपी लगाउन छाडेको छैन। विशेषगरी म साधारण पहिरन रुचाउँछु।’

उनका अनुसार मानिस ठूलो पदमा बसेरमात्र जीवनमा सुखी हुन सक्दैन। तर, समान्यमै पनि रमाउन सक्छ।

आफ्नो धरातल भुल्न नहुने कुरालाई उनी दोहोर्‍याउँछन्। देश परिवर्तन गर्न नसकिए पनि आफू रुपान्तरण हुनुपर्छ भन्ने मान्यतामा छ उनको। भन्छन्, ‘मेरो धरातल त तलै हो नि। कमसेकम आफूलाई त रुपान्तरण गर्न सक्नुपर्छ। देश रुपान्तरणका लागि त टिम मिल्नुपर्छ।’

आदर्शकका यस्ता गफ दिइरहने अरु कोही होइनन्, छक्कबहादुर लामा हुन्। हुम्ला जिल्लाका प्रत्यक्ष निर्वाचित स्वतन्त्र सांसद। नाम जस्तै उनका जीवनका विविध पाटा छक्कै पार्ने खालका छन्।

 

छवाङबाट छक्क बहादुर

उनको नामको कथा रोचक छ। उनको खास नाम छवाङ लामा। उनका बुबा लामा। सायद बाबुकै लाइनमा लागेका भए उनी पनि लामा बन्ने थिए। तर उनको जीवनले अर्कै बाटो रोज्यो।

उत्तरी भेगका जनजातिलाई मूल प्रवाहमा ल्याउनका लागि राजा महेन्द्रले विद्यालयको स्थापना गरेका थिए। जनजागृति महेन्द्र पाठशाला। उनले पनि त्यहाँ अध्ययन गर्ने अवसर पाए। विद्यालय जाँदा उनको नाम थियो छवाङ लामा। तर, त्यहाँ उनको नाम फेरियो। उनी छवाङबाट छक्कबहादुर भए।

नेपाली भाषा अध्यापन गराउने शिक्षकले सहजताका लागि उनको नाम फेरिदिए। उनले हाँस्दै भने, 'जनजातिको नाम फेर्दै वेद पढाए।’

शिक्षाप्रति उनको झुकाव बढ्दै गयो। शिक्षकहरु आफ्ना समस्याका कारण विद्यालय उपस्थित हुन सकेनन्। शिक्षक चाहियो भन्दै पटकपटक आवाज उठाउँदै काठमाडौं आए। मुकाउँदै भने, ‘शिक्षा लिनका लागि आफैँ शिक्षक खोज्दै हिँडे। शिक्षक लिन धेरै पटक डेलिगेशन आएँ। आएपिच्छे नै शिक्षक लिएर फर्कन्थेँ।'

तर, अहिले उनी शिक्षक होइन, नेता कार्यकर्ताका साथमा जिल्ला पुग्छन्। उनी सांसद भएपछि पाँचपटक जिल्ला पुगेका रहेछन। चुनाव जितेपछि जिल्ला फर्कँदैनन् भन्ने जनताको आवाजसँग अछुतो छैनन् उनी। जिल्ला जान मन हुँदाहुँदै पनि जान नपाएकोमा गुनासो गर्छन्।

‘फर्केर आएन भन्ने गुनासो सुन्छु। आरोप खेप्नुपर्छ तर मेरो पनि आफ्नै बाध्यता छ। कम्तीमा एकपटक जिल्ला पुग्न डेढ लाख जोहो गर्नुपर्छ,’ उनी भन्छन्, ‘गए पनि पूरै जिल्ला घुम्न भ्याइँदैन। पूरै जिल्ला घुम्ने हो भने दुई महिनाले पनि पुग्दैन। जिल्लामा बस्दा खर्च झनै बढ्छ।’

 

छक्कै पार्दै चुनाव जितेर २७ वर्षपछि संसदमा

उनी पछिल्लो पटक जिल्लामा १६ दिन बसे। त्यतिखेर धेरै कार्यकर्तासँग भेटघाट भयो। सरकारी कार्यालयको निरीक्षण मात्र गर्न भ्याए। ‘एउटा क्षेत्र पुग्दा मात्रै एक लाख खर्च हुन्छ। अरु खर्चको त के कुरा गर्नु,’ उनले सुनाए। उनको बुझाई -‘कर्णालीको लाइफ महँगो छ।’

उनले त चुनावको बेला पनि पूरै जिल्ला घुमेका रहेनछन्। समय अभावका कारण दक्षिणी बेल्टको मात्र भ्रमण गरेको सुनाए।

चुनावमा पनि पूरै जिल्ला नै नपुगी सांसद कसरी बने त? आफूले पहिले गरेका कामहरुले जनताको मन जितेको उनको दावी छ। कार्यकर्ताले नै जिल्ला घुमेर उनलाई जिताएको सुनाए।

‘मैँले जिल्लामा लामो समय एनजिओ चलाएँ। त्यसले जनतासँगको सम्बन्ध बलियो बनाएको थियो। विकास निर्माणमा मैले खेलेको भूमिका पनि जनताले बिर्सिएका छैनन्,' उनले आत्मविश्वासी स्वरमा सुनाए, 'त्यही आधारमा जनताले २७ वर्षपछि सांसद बनाए। छक्कबहादुर लामा को हो भन्ने जनाताले राम्ररी चिनेका छन्।’

उनले चुनाव जित्दाको क्षण पनि रोचक नै छ। उनले सबैलाई छक्क पार्दै चुनाव जितेका थिए। हेटौँडा महाधिवेशनपछि तत्कालीन माओवादीमा प्रवेश गरेका छक्कबहादुरले चुनावमा टिकट पाएनन। वाम गठबन्धनले छिमिदोर्जे लामालाई आधिकारिक उम्मेदवार बनायो। त्यही झोकमा उनी कलम चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बने। छक्क बहादुर उम्मेदवारमात्र बनेनन्। उनले नेपाली कांग्रेसका मंगलबहादुर शाहीभन्दा ४७ मत बढी ल्याएर विजयी भए।

उनको पार्टीले उनलाई र मतदातालाई समेत कारबाही गरेको थियो। ६० वर्षीय छक्कबहादुर  भन्छन्, ‘पार्टीले कारबाही फुकुवा गरेपछि उतै फर्किएँ। तर, स्वतन्त्र सांसदकै रुपमा छु। औपचारिकता दिएको छैन।’

 

संसद छिर्दाको त्यो अनुभव

२०४८ सालमा नै सांसद बनेकाले उनलाई पछिल्लोपटक संसद छिर्दा खासै नौलो लागेन।

‘पहिले सिंहदबारभित्रको सानो भवनमा बस्थ्यौँ। अहिले छुट्टै ठूलो भवनमा। तै पनि खासै नौलो महसुस भएन,’ उनले भने।

उनको बुझाइमा अहिलेका सांसद निकै मर्यादित छन्। उनलाई त्यतिबेला सांसदहरु काँचो माँटो जस्तो लागेको रहेछ। ल क्याम्पस अध्ययन गरेका छक्कबहादुरले त्यतिबेला संसद ल क्याम्पस जस्तो देखेका रहेछन्। 

‘संसदलाई ल क्याम्पस जस्तो देख्थेँ। ल क्याम्पसमा जस्तै जतिखेरै ढुंगामुढा झगडा। अहिले संसद निकै जिम्मेवार देख्छु,’ उनले भने, ‘त्यतिबेला पनि प्रतिपक्षलाई बजेट दिइँदैनथ्यो। अहिले पनि यस्तै देख्छु। यस्तो दलीय विभेद हुनु दु:खद् पक्ष हो।’

उनी सार्वजनिक सवारीमा यात्रा गर्छन्। संसद भवनबाट वासस्थान धापासी पुग्न दुईवटा साधन फेर्नुपर्छ। उनलाई निजी सवारीमा यात्रा गर्ने रहर नभएको भने हैन। टेक्नोलोजी फ्रेण्डली हुन नसकेको पनि सुनाउन भ्याए उनले।

‘दुई पांग्रे सवारी चढ्ने रहर नलागेको हैन। त्यसका लागि अनुमतिपत्र लाइसेन्स लिएको छैन। गाडी चढ्न सकिँदैन। म हुम्लाका लागि आर्थिक रुपमा सबल भए पनि यहाँका लागि त्यस्तो छैन,’ उनले गुनासो गरे, ‘हुम्लाका लागि म आर्थिक स्थिति बलियो भएको मान्छे हुँ। तर, यहाँ त गाह्रो छ। गाडी लिए पनि म चलाउन जान्दिनँ। खर्चिलो हुन्छ। धान्नै नसकिने।’

सार्वजनिक यातायातमा यात्रा गर्दा उनले नेताहरुसँग जनता सन्तुष्ट नभएको अनुभव गरेका छन्। जनता असन्तुष्ट हुनु स्वभाविक भएको स्वीकार पनि गर्छन्। नेताहरुप्रति जनताहरुको सोच नै नकारात्मक भइसकेको उनको बुझाइ छ।

२०४८ सालमा जनमोर्चाबाट सांसद बन्दाको बखत सम्झिए, ‘त्यतिबेला जनतामा आशा थियो। आमूल परिवर्तन हुन्छ भन्ने सोच थियो। त्यो सोचमाथि कुठाराघात भयो। नेताहरुसँग जनताको विश्वास हरायो। त्यसले गर्दा भोट माग्ने र भोट दिएर जिताउने दुवैले अफ्ठ्यारो महसुस गरिरहेका छन् जस्तो लाग्छ।’

 

बाध्यताले मन्त्री बन्नु परेको क्षण

उनी शाही कालमा केही समय स्थानीय विकास तथा भौतिक योजना मन्त्रालयको सहायक मन्त्री पनि बने। उनले आफू मन्त्री बनेको पत्तो नपाउँदै देशमा नयाँ शासन व्यवस्था लागू भयो।

त्यतिबेला आफू रहरले नभइ बाध्यताले मन्त्री बनेको सुनाउँछन् उनी।

 ‘म रहरले नभइ बाध्यताले मन्त्री बनेको थिएँ। कुरा बुझिनसक्नुको छ। म राजाको कब्जामा, छोरी माओवादीको। मन्त्री बन्नु मेरो बाध्यता थियो। म सिमिकोट बस्ने सिमिकोट आर्मीको कब्जामा थियो। बर गाउँ माओवादीको कब्जामा थियो। म क्रान्तिकारी धारबाट आएको मान्छे,' उनले भने।  

विद्यालय गएकी १५ वर्षीय छोरीलाई अभियानमा संलग्न गराउन माओवादीले लिएर गएको रहेछ। उनीहरुसँग गएको तीन महिनामा छोरीलाई आर्मीले मारिदियो। दुई छोरी माओवादीमा गएका थिए। राजा ज्ञानेन्द्र सुदूरपश्चिमको भ्रमणमा गएका थिए। 'त्यतिबेला मैले कैलाश मण्डल नामको किताब लेखेको थिएँ। राजालाई मेरा चिनजानका व्यक्तिहरुले मेरो किताब दिए,’ मन्त्री बन्ने कथासँग जोडिएको प्रसंग सुनाए।

छक्कबहादुरका बारेमा बुझेपछि राजा ज्ञानेन्द्रले उनलाई मन्त्री बनाउने सोच बनाएछन्। एकपटक तिब्बतबाट फर्किएकामात्र थिए। एक दिन दरबारबाट फोन आयो। उनी पन्छिन खोजे। आफू बिरामी भएको अनेक बहाना गरे। तर, राजाले यहाँलाई सम्मान गर्न लागिएको मात्रै हो भनेर उनलाई सम्झाइयो।

‘मलाई भने डर लागेको थियो। राजाले केही गर्न पो आँटे कि? आफू त कम्युनिस्टधारबाट आएको मान्छे। छोरीहरु माओवादीमा छन्। अटेर गर्न पनि सकिनँ। युद्ध चलिरहेको छ। नमान्दा आर्मीसँग बसेको छु,’ त्यतिखेरको दोमनलाई पोखे उनले।

उनको श्रीमतीको निर्णय गर्ने क्षमताको खुलेर प्रशंसा गरे उनले। 'मलाई अहिले पनि सांसद बनाउने उही नै हो,' उनले भने, ‘अरु मान्छे मन्त्री बन्नका लागि विभिन्न उपाय गर्छन्। हाम्रो त घरमा नै आएको छ। जे भए पनि होस् स्वीकार गर्नुस् भनिन्। अनि मानेँ।’

उनी मन्त्री बनेपछि राजासँग तीन पटक भेट भएछ। छक्कबहादुर हुम्लामा थिए। त्यो क्षण सम्झँदै भने, ‘जताततै आन्दोलन मच्चियो। जनताले विरोध गर्न थाले। कर्फ्यू लाग्न थाल्यो। त्यसको परिणमा स्वरुप अर्को युग सुरु भयो। मन्त्री बनेकोजस्तै नभइ सकियो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell