PahiloPost

Dec 7, 2019 | २१ मंसिर २०७६

राप्रपाबाट छिरेलगत्तै कांग्रेसको समानुपातिक सांसद बनेका केसीसँग ३० करोड बराबरको 'कालोधन', मुद्दा हाल्दै सम्पति शुद्धिकरण विभाग



पहिलोपोस्ट

राप्रपाबाट छिरेलगत्तै कांग्रेसको समानुपातिक सांसद बनेका केसीसँग ३० करोड बराबरको 'कालोधन', मुद्दा हाल्दै सम्पति शुद्धिकरण विभाग
केसीलाई कांग्रेस प्रवेश गराउँदै पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला र वरिष्ठ नेता रामचन्द्र पौडेल, फाइल फोटो

  • सुदर्शन सापकोटा/दिनेश खड्का-

काठमाडौं : सम्पति शुद्धिकरण विभागको अनुसन्धानले नेपाली कांग्रेसका सांसद सूर्यबहादुर केसीले स्रोत नखुलेको सम्पति आर्जन गरेको देखाएको छ। विभागले केसीविरुद्ध मुद्दा हाल्ने तयारीसमेत गरेको छ।

'मुद्दा हाल्ने अन्तिम चरणमा छौं। सबै कागजपत्रको अनुसन्धान भइरहेको छ,' विभागका एक अनुसन्धान अधिकृतले भने, 'अहिले पनि कोठा थुनेर केही फाइल अध्ययन गरिरहेका छौं।'

राप्रपाबाट नेपाली कांग्रेस प्रवेश गरेलगत्तै समानुपातिक सांसद बनेका केसीसँग ३० करोड रुपैयाँ बराबर 'कालोधन' रहेको विभाग स्रोतको दावी छ। यो विभाग प्रधानमन्त्री कार्यालय अन्तर्गतको निकाय हो। विभागले केही समयमै प्रधानमन्त्री केपी शर्मा ओलीलाई सांसद केसीको मुद्दाको सबै पक्ष बारे ब्रिफ गर्ने तयारी गरेको छ। उक्त ब्रिफिङपछि प्रधानमन्त्रीले निर्देशन दिएलगत्तै उनीविरुद्ध मुद्दा हाल्ने ती अनुसन्धान अधिकृतले जानकारी दिए।

विभागले पोलिटिकल्ली एक्सपोज्ड पर्सन (राजनीतिक पहिचान खुलेका) हरुको अनुसन्धान गर्दा केसीको कालोधन देखिएको हो।

'लगभग एक ट्रकजति त हामीले फाइल नै झिकायौं होला,' ती अधिकृतले भने, 'सबै फाइल अध्ययन गर्दा कालोधन देखिएको हो।' केसीसहित अरु ६ जनाविरुद्ध पनि मुद्दा हाल्ने तयारी विभागको छ।

यो मुद्दामा अख्तियार दूरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक पनि जोडिएका छन्। नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाउन ७८ लाख घुस लिएको सार्वजनिक भएपछि पाठकले आयुक्तबाट राजीनामा दिएका थिए। उनी ७८ लाख रुपैयाँ नै धरौटी राखेर छुटेका थिए। पाठकको समेत विभागले छानविन गरिरहेको छ। स्रोतका अनुसार यही कलेजसँगै केसीको मुद्दा पनि जोडिएको हो। केसी यो कलेजका संचालक हुन्।

'केही संस्थामा फ्रड गरेर कालोधन थुपारेको देखिन्छ,' ती अधिकारीले भने। सम्पति शुद्धिकरण तथा आतङ्कबादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विभागले अनुसन्धान गर्ने काम गर्छ।

केसीको बैंक तथा वित्तीय संस्थाहरुमा समेत शेयर लगानी छ। केसीको बैंक कारोबार पनि शंकास्पद देखिएको छ। उनको कारोबार र उजुरीका आधारमा अनुसन्धान गर्दा कालोधन देखिएको हो।

उनको बैंक कारोबारका बारेमा वित्तीय जानकारी इकाइले विभागलाई जानकारी गराएको थियो। अनुसन्धानका क्रममा राजस्वलगायतका कार्यालयहरुको पनि सहयोग लिइएको ती अनुसन्धान अधिकृतले जानकारी दिए।

'अब हामी एक पटक सरकारी वकिल कार्यालयसँग पनि समन्वय गर्छौं,' ती अधिकृतले भने, 'अनि मात्र मुद्दा हाल्ने छौं।'

गत र चालु गरी विभागले कुल एक दर्जन मुद्दा अदालतमा हालिसकेको छ। पर्याप्त आधार र प्रमाण नपुगेको भन्दै अधिकांश मुद्दाको फैसला विभाग अनुकुल भने आएका छैन।

सक्रिय नेतासँगै केसी पोखराका चर्चित ब्यवसायी पनि हुन्। उनी राप्रपा सहप्रवक्ता समेत थिए। राप्रपाबाट २०७४ कात्तिकमा नेपाली कांग्रेसमा प्रवेश गरेपछि समानुपतिकतर्फबाट अहिले सांसद छन्।

केसीको लगानीमा हिमश्री फुड्स प्रालि, हिमश्री फुड्स वेस्टन नेपाल, केसी कन्स्ट्रक्सन फर्म, टाक्स हाइड्रोपावर प्रालि, भगवती हाइड्रोपावर प्रालि, सिभिल हाइड्रोपावर प्रालि, गण्डकी हाइड्रोपावर प्रालि, मडक्यू -सिक्लेस हाइड्रोपावर प्रालि, युनाइटेड इदी मर्दी हाइड्रोपावर प्रालि, अपर सेती हाइड्रोपावर प्रालि, हिमश्री केसी ग्रुप पिएएर्स इण्डस्ट्रीज एण्ड ट्रेडिङ, माछापुच्छ्रे बैंक खुलेका छन्।

उनी नेपाल इन्जिनियरिङ कलेज, नेपाल मेडिकल कलेज, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज, नेपाल कलेज अफ इनफर्मेसन एण्ड टेक्नोलोजी, कालिका बहुमुखी पब्लिक क्याम्पस आदिका अध्यक्ष, संस्थापक तथा सञ्चालक समेत भएका छन्।



राप्रपाबाट छिरेलगत्तै कांग्रेसको समानुपातिक सांसद बनेका केसीसँग ३० करोड बराबरको 'कालोधन', मुद्दा हाल्दै सम्पति शुद्धिकरण विभाग को लागी १ प्रतिक्रिया(हरु)

Bharat prasad poudel [ 2019-07-17 16:26:23 ]
सुर्य बहादुर के सी ले त बिभिन्न क्षेत्रमा लगानी गरेर कमाएको हो तर के पि ओली प्रचण्ड जस्ता सर्वहारा वर्ग का नेता कार्यकर्ता हरू संग के कति अकुत सम्पत्ति छ भन्ने कुरा थाहा हुदाहुदै पनि किन चुपचाप बसिरहेको छ। सम्पत्ति शुद्धीकरण विभाग एउटा को सरकार हुँदा विपक्षी दलका नेताहरू पछि लाग्ने बिभाग नै राजनीतिक दलको मतियार वनेको छ। भन्दा फरक नपर्ला

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell