PahiloPost

Dec 12, 2019 | २६ मंसिर २०७६

प्रहरीको विवादित 'इन्काउन्टर'मा मारिएका कुमार पौडेल आखिर को हुन्?



विधुर ढकाल

प्रहरीको विवादित 'इन्काउन्टर'मा मारिएका कुमार पौडेल आखिर को हुन्?

सर्लाहीको लालबन्दी नगरपालिकाका वडा नम्बर १ र १० लाई एउटा कच्ची सडकले छुट्याउँछ। लखनदेही खोलाबाट पूर्वतर्फ करिब ५ सय मिटर दुरी तय गरेपछि पुगिने दुई वडाको साँधको यो ठाउँमा गत असार ५ गते एउटा अकल्पनीय घटना भयो। १० वर्ष लामो हिंसात्मक द्वन्द्व सकिएको अर्को दशकपछि यहाँ भएको 'कारवाही'ले धेरैलाई झस्क्यायो। यहाँको बाँसघारीमा प्रहरीको 'कारवाही'मा कुमार पौडेल मारिए।

प्रहरीको 'इन्काउन्टर'मा मारिएका पौडेल सर्लाही वाग्मती नगरपालिका २ का स्थानीय थिए। उनको परिचय त्यतिमै सकिँदैन। उनी नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सर्लाहीका जिल्ला इन्चार्जसमेत थिए। यो बाँसघारीमा उनको हत्या भयो या मुठभेडमा मारिए अझै प्रष्ट खुलेको छैन। दुई दशक अघिको जनयुद्धताका भएका 'हत्या' जस्तै लाग्ने यो घटनाले देशलाई त्यतिखेर तरंगित पार्‍यो जतिखेर प्रहरीले मुठभेडमा मृत्यु भएको दाबी गरिरहँदा सत्तारुढ दलकै नेता जनार्दन शर्माले 'प्रहरीले कुमारको हत्या गरेको' अभिव्यक्ति संसदमै दिए।

यति चाहीं पक्का हो २०३० साल मंसिर २३ गते जन्मिएका कुमार पौडेलको मृत्यु प्रहरीकै गोलीबाट भयो। अन्योल चाहिँ - त्यो नियोजित हत्या थियो, या अप्रत्यासित मुठभेड भन्नेमात्र हो।

आखिर को हुन् त कुमार पौडेल?

प्रतिबन्धित नेकपाका जिल्ला इञ्चार्ज कुमार पौडेलको राजनीतिक पहिचान भने २०६२/०६३ सालको आन्दोलनपछि भएको हो। सुकुम्बासी समस्या समाधानको नारासहित सर्लाही जिल्लामा प्रभावशाली नेताका रुपमा उनी स्थापित हुँदै थिए। तत्कालीन नेकपा एमालेको युवा संगठन प्रजातान्त्रिक युवा संघमा जोडिए। तर भूमिगत रुपमा भने उनको नाता माओवादीसँग पनि बराबरी नै थियो। फेरि चुरेभावर पार्टीमा खुल्लमखुल्ला रुपमा देखिए।

लोकतन्त्र स्थापनापछि तराई मधेशमा भएको आन्दोलनका कारण चुरे तथा भावर क्षेत्रमा बसोबास गर्ने पहाडी मूलका बासिन्दा तथा आदिवासी थारु समुदायले आफ्नो अस्तित्व रक्षाका लागि अभियान नै छेडेका थिए। मध्य तराईको महेन्द्र राजमार्गदेखि दक्षिण पाँच किलोमिटरसम्म र राजमार्गबाट उत्तरको चुरे पहाडसम्म छुट्टै चुरेभावर प्रदेशको माग गर्दै आन्दोलनसमेत चल्यो। त्यसबाट प्रभावित भएर उनी पनि आन्दोलनमा जोडिए। त्यसअघि उनी तत्कालीन माओवादीले बनाएको गाउँ जनसरकार प्रमुख रहिसकेका थिए।

'गरिब किसानको पक्षमा लाग्ने केटो हो। देशलाई माया गर्ने मान्छे हो। गरिबको हित हुनुपर्छ। सुकुम्बासीले जग्गा पाउनुपर्छ भन्थ्यो', कुमारका ७२ वर्षीय बाबु खिलकराज पौडेलले सम्झिए, 'बुबा म चुरेभावरको जिल्ला अध्यक्ष बनेँ भन्दै आयो। मैले छोरा यो गल्ती गरिस्, राजनीतिको पछि लाग्नु हुन्न भनेँ। मधेशी पहाडीको नारा लगाएर नहिँड पनि भनेको थिएँ।'कुमारका बाबु खिलकराज

मधेश आन्दोलन तराईका जिल्लाहरु (हालको प्रदेश नम्बर २ का जिल्ला)मा पहाडी मूलका नागरिक त्रासमा थिए। त्यस्तैमा राजमार्ग आसपास चुरेभावरको सक्रियता बढ्यो।

'यही पार्टीले नै हाम्रो रक्षा गर्छ। सुकुम्बासीको व्यवस्था गर्छ भन्थ्यो', खिलकराजले भने।

२०५३ सालमा कुमारले केही अवधि सर्लाहीकै कालिन्जोर गाविसमा प्राविधिक सहायकका रुपमा पनि काम गरेका थिए। उनका बूढा मावली खलकका टीकाजंग थापा पुराना पञ्च थिए। कमल थापा (राप्रपा अध्यक्ष) स्थानीय विकासमन्त्री हुँदा टीकाजंगकै पहलमा उनले यो जागिर पाएका थिए। तर धेरै टिक्न सकेनन्। गाविस अध्यक्षसँगको विवादपछि उनले जागिर छाडे र राजनीतितिर लागे।

त्यसपछि उनी एमालेको प्रजातान्त्रिक युवा संघ (पछि युवा संघ नेपाल)मा जोडिए। एमालेमा पसेसँगै उनले केही समय ढुंग्रेखोला गाविसमा जागिर खाए। तर त्यहाँ पनि टिकेनन्। ढुंग्रेखोला गाविसका अध्यक्षसँग पनि उनको कुरो मिलेन। जागिर छाडे। त्यतिखेर सुकुम्बासीका अधिकारको माग उठाइरहेको थियो, माओवादीले। सुरुमा एमालेकै आवरणमा उनले माओवादीलाई सहयोग गर्दै आएका थिए। त्यसैको पुरस्कारस्वरुप २०६० सालमा उनलाई माओवादीले गाविसको जनसरकार प्रमुख नै बनाइदियो।

राजनीतिमा लागेका उनी स्नातक तहमा भर्ना त भए तर पढाइ पूरा गर्न सकेनन्। २०७० सालमा सर्लाहीकै हरिवनको चतुर्भुजेश्वर बहुमुखी क्याम्पसमा उनी भर्ना भएका थिए।

'राजनीतिमा अगाडि बढिसक्नुभएको थियो। राजनीतिमा लागेको मान्छे अलिअलि सर्टिफिकेट पनि चाहिन्छ भर्ना हुनुस् भनेर मैले नै भर्ना गराइदिएको हुँ', त्यतिबेला विद्यार्थी राजनीतिमा रहेका एक स्थानीयले सुनाए, 'म दोस्रो वर्ष हुँदा पहिलो वर्षमा भर्ना हुनुभएको हो। पहिलो वर्षको परीक्षा दिनुभयो। त्यसपछि दिनुभएन।'

२०६३ सालमा चुरेभावर पार्टीमा प्रवेश गरे पनि सुरुदेखि नै उनी र पार्टी नेतृत्वबीच खटपट भइरह्यो। चुरेभावर पार्टीका केन्द्रीय उपाध्यक्ष बाबु थापा र उनको समूहबीच पार्टी संयोजकको विषयमा 'खुकुरी हानाहान' नै भएको थियो। थापा समूहले उनलाई सर्लाहीकै वाग्मती पुलमा आक्रमण गरेका थिए। र, त्यसको भोलिपल्टै थापामाथि पौडेल समूहले आक्रमण गरेको सर्लाहीका एक पुराना पत्रकारले पहिलोपोस्टसँग भने। त्यतिबेला पौडेलले प्रहरीको बन्दुकसमेत खोसेका थिए।

यी सबै भइरहँदा स्थानीयबीच भने कुमार चर्चित बनिसकेका थिए। २०४५ साल चैत १ गते स्थापना भएको सागरनाथ वन विकास परियोजनाको अतिक्रमित जमिनमा बस्दै आएका हजारौँ सुकुम्बासीका लागि उनी अभिभावक जस्तै बनिसकेका थिए।

सर्लाही, रौतहट तथा महोत्तरीलगायत जिल्लामा रहेको सागरनाथ वन विकास परियोजना पूर्व-पश्चिम राजमार्गदेखि दक्षिण, पूर्वमा भव्सी खोला र पश्चिममा वाग्मती नदी बीचमा रहेको राष्ट्रिय वन क्षेत्र हो। सरकारले यो अतिक्रमित क्षेत्र खाली गराउन पटकपटक प्रयास गर्दै आएको छ। त्यसलाई पौडेलको नेतृत्वसहितको टोलीले असफल बनाइरह्यो।

सुकुम्वासीको समस्या सम्बोधन गर्न भन्दै चुरेभावर पार्टी प्रवेश गरेका उनले सानो पार्टीमा लागेर समस्या समाधान नहुने ठाने। तत्कालीन प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको पालामा यो क्षेत्र फेरि खाली गराउने प्रयास भयो। त्यतिखेर वनमन्त्री थिए अग्नि सापकोटा र गृहमन्त्री थिए शक्ति बस्नेत। उनीहरुकै निर्देशनमा सुकुम्बासी हटाउन प्रहरी परिचालन भयो। त्यसको कडा विरोधमा उत्रियो मोहन वैद्य समूह। वैद्यले त्यतिखेर पार्टी फुटाइसकेका थिएनन्। पार्टीभित्रैबाट जन्मेको क्रान्तिकारी धारले सुकुम्बासीको पक्षमा वकालत गरेपछि पौडेल वैद्यतिर खिचिए। २०६८ माघ ७ गते तत्कालीन एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादी (हाल नेकपा क्रान्तिकारी माओवादी) नेता सीपी गजुरेलले उनलाई सिन्धुलीमा पार्टी प्रवेश गराए। योसँगै उनी केही समय एमाओवादीको सर्लाही जिल्ला सदस्यका रुपमा खटिए।

२०६९ सालमा मोहन वैद्यले पार्टीमा विद्रोह गर्दै नेकपा-माओवादी गठन गरे। पौडेल पनि वैद्यकै समूहमा लागे। उनी सर्लाहीको जिल्ला सदस्य भए। त्यस्तै सोही पार्टीको युवा संगठन राष्ट्रिय युवा जनस्वयंसेवक संघको जिल्ला अध्यक्षको जिम्मेवारी मिल्यो उनलाई।

२०७० को संविधानसभा निर्वाचन बहिस्कार गर्ने अभियानमा उनी सक्रिय थिए। २०७१ साल मंसिरमा नेत्रविक्रम चन्द विप्लवले वैद्य नेतृत्वको नेकपा-माओवादी फुटाएर अर्को दल नेकपा माओवादी गठन गरे। कुमार पनि विप्लवसँगै लागे। विप्लवको नयाँ पार्टीको जिल्ला सेक्रेटरी भए उनी। यसअघि नै सर्लाहीमा उनको राजनीतिक दबदबा चाहीं सुरु भइसकेको थियो।

विप्लवले पार्टीको नाम परिवर्तन गरी पछिल्लो समय नेकपा बनाएपछि उनले सर्लाही जिल्ला इन्चार्जको भूमिका पाएका थिए। त्यहाँ पनि उनले आफ्नो भूमिका सुकुम्बासी मुद्दामा केन्द्रित गर्दै लगेका थिए। २०७३ सालमा सागरनाथ परियोजनाले त्यहाँको अतिक्रमित बस्तीमा लगाइएको मकै बाली नष्ट गर्‍यो। त्यसविरुद्ध पौडेलकै नेतृत्वमा प्रतिकार भयो। त्यो घटनाले कुमारको राजनीतिक कदलाई केन्द्रसम्मै पुर्‍यायो।

यस्ता छन् पौडेलविरुद्धका अभियोग

पौडेलविरुद्ध वन मुद्दा चलिरहेको थियो। मूर्तिया क्षेत्रको वन मासेर बस्ती बसालेको अभियोगमा पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २०७२ मै ७५ करोड बिगोसहितको मुद्दा परेको थियो। त्यस्तै, उनीमाथि जिल्ला वन कार्यालय सर्लाहीले पटकपटक वारेन्ट जारी गरेको थियो। यी सबै घटनाले उनलाई अर्धभूमिगत राजनीतितिर धकेलिरहेको थियो।

गत वर्ष फागुनयता उनी परिवारबाट पनि टाढै रहे। 'फागुनयता भेट भएको थिएन। फागुनमा आएको थियो', कुमारका बाबु खिलकराजले भने, 'ठीक छु भन्ने खबर आउँथ्यो। कहिलेकाहीँ घरमा भाइ र बुहारी (कुमारकी पत्नी) लाई फोन गर्थ्यो।'

उनी पछिल्लो समय सार्वजनिक रुपमा देखिएका थिएनन्।

'उहाँसँग भेट नभएको धेरै भएको थियो। गत वर्ष हो एक पटक लालबन्दी बजारमा भेट भएको। मोटरसाइकलमा मास्क र हेल्मेट लगाएका थिए। हेल्मेट खोल्न पनि मानेका थिएनन्', एक स्थानीय पत्रकारले भने, 'दाइ जोखिम छ हेलमेट खोल्न नभन्नुस् न भनेका थिए।'

प्रहरी प्रशासन उनीविरुद्ध कडा रुपमा परिचालन भएको थियो। त्यसको उदाहरण हो संसदको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दिएको विवरण। २०७२ सालमा सागरनाथ र परवानीपुर सामुदायिक वनबाट बाटो मासी अवैध रुपमा काठ बेचबिखन गरेको अभियोगमा जिल्ला वन कार्यालयले उनीविरुद्ध मुद्दा हालेको प्रहरी महानिरीक्षक खनालले बताएका थिए।

कुमारले सार्वजनिक जग्गा अतिक्रमण गर्न उक्साउने, प्रेरित गर्ने र खाली ठाउँमा ल्याई बसोबास गराउने गरेको तथा त्यसरी ल्याइएका व्यक्तिबाट आर्थिक लाभ लिने गरेको आरोप खनालले लगाएका थिए।

खनालको दाबीलाई नै मान्ने हो भने पछिल्ला महिनाहरुमा जबरजस्ती चन्दा संकलन गरी व्यापारी, व्यवसायी, जनप्रतिनिधि र सर्वसाधारणलाई आर्थिक शोषण गर्न र आतंकित बनाउन उनी सक्रिय थिए।

त्यस्तै गाउँपालिकाका र नगरपालिकाका मेयर, वडाध्यक्षहरुसँग कम्तीमा १० लाख रुपैयाँ चन्दा नदिए भौतिक कारवाही गर्ने चेतावनी पौडेलले दिँदै आएको महानिरीक्षक खनालको दाबी छ।

यतिमात्र होइन, उनीमाथि २०७३ साउन ७ गते हरिवन नगरपालिका वडा नम्बर १० स्थित लु २ त ६६१९ नम्बरको ट्याक्टरमा आगजनी गरेको, २०७४ जेठ ११ गते वाग्मती नगरपालिका वडा नं ३ स्थित सागरनाथ वन विकास परियोजनाको कम्पाउन्डमा पाइप बम राखेको अभियोग पनि छ।

उनीविरुद्ध २०७५ असार २९ गते परियोजनाको अतिक्रमित ६ सय हेक्टरमा वृक्षारोपण गर्दा प्रेसर कुकर बम पड्काएर अवरोध गरेको तथा २०७५ चैत २६ हरिवनपुर नगरपालिका वडानम्बर ८ स्थित एनसेलको टावरमा आगजनी गरेको मुद्दा पनि छ।

त्यस्तै, २०७६ वैशाख २३ गते वाग्मती नगरपालिका वडा नम्बर ४ स्थित वाग्मती खोलामा सविन्द्रकुमार श्रेष्ठले सञ्चालन गरेको बा १ क ७८४७ नम्बरको स्काभेटरमा आगजनी गरेको अभियोग पनि उनीमाथि लागेको थियो।

सुकुम्बासीसँग सोझै जोडिएको सागरनाथ परियोजना के थियो र कुमार पौडेल त्यही परियोजनाविरुद्ध लागेर कसरी सुकुम्बासीका मसिहा बने? अर्को अङ्कमा।



प्रहरीको विवादित 'इन्काउन्टर'मा मारिएका कुमार पौडेल आखिर को हुन्? को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell