PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

ललित स्मृति यू-१८ च्याम्पियनसिप : पुलिस पहिलो पटक फाइनलमा, ब्रिगेड ब्वाइजसँग उपाधिका लागि खेल्ने



पहिलोपोस्ट

ललित स्मृति यू-१८ च्याम्पियनसिप : पुलिस पहिलो पटक फाइनलमा, ब्रिगेड ब्वाइजसँग उपाधिका लागि खेल्ने
PHOTO : ANFA

काठमाडौं : विभागीय टोली नेपाल पुलिस क्लब ललित स्मृति यू-१८ फुटबल च्याम्पियनसिपमा पहिलो पटक फाइनल पुगेको छ।

हाल भइरहेको चौथो संस्करणको प्रतियोगितको दोस्रो सेमिफाइनलमा बिहीवार जावलाखेल क्लबलाई ३-१ ले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो। पुलिसले अब डिफेण्डिङ च्याम्पियन ब्रिगेड ब्वाइज क्लबसँग उपाधिका लागि खेल्नेछ। बिहीवारै भएको पहिलो सेमिफाइनलमा ब्रिगेडले मनाङ मर्स्याङ्दी क्लबलाई ७-१ को फराकिलो अन्तरले पराजित गरेको थियो।

सन्जु सेनले दुई गोल गरेपछि पुलिसले जावलाखेललाई सहजै पराजित गरेको हो। एन्फा कम्प्लेक्स, सातदोबाटोमा भएको खेलमा सन्जुले खेलको २८औं मिनेटमा गोल गर्दै पुलिसलाई अग्रता दिलाए। जावलाखेलले ४४औं मिनेटमा बराबरी गोल फर्कायो। जावलाखेलले पेनाल्टी पाएपछि शिर्षक श्रेष्ठले बराबरी गोल फर्काए।

तर पहिलो हाफको इन्जुरी टाइममै पुलिसले अग्रता लियो। सन्जुले व्यक्तिगत दोस्रो गोल गर्दै २-१ को अग्रता दिलाए। ८९औं मिनेटमा रविन राईले गोल गर्दै पुलिसको जित पक्का गरेका हुन्।

यसअघि समूह चरणमा पनि यी दुई टोली भिड्दा पुलिस विजयी भएको थियो।

पुलिसले अब उपाधिका लागि ब्रिगेड ब्वाइजसँग आउने शनिवार खेल्नेछ।

एन्फाका पूर्व उपाध्यक्ष स्व ललितकृष्ठ श्रेष्ठको स्मृतिमा आयोजना भइरहेको यस प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार पाउनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell