
तेहरान: इरानले आफ्नो ड्रोन सुरक्षित रहेको बताएको छ। इरानका उपविदेश मन्त्री अब्बास आरागचीले ड्रोन खसालेको अमेरिकी दाबी अस्वीकार गरेका छन्।
इरानी सशस्त्र बलले पनि आफ्नो ड्रोन अमेरिकाले नखसालेको दाबी गरेको छ। सशस्त्र बललाई उद्धृत गर्दै सबै ड्रोन सुरक्षित फर्केको इरानी समाचार समिति इर्नाले जनाएको छ।
अमेरिकी जल सेनाले स्ट्रेट अफ हर्मुज जलमार्गमा इरानको ड्रोन खसालेको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दाबी गरेका थिए। उनले इरानी ड्रोन अमेरिकी पानीजहाजभन्दा करिब एक किलोमिटरनजिक आएपछि खसालेको अमेरिकी राष्ट्रपति ट्रम्पले दाबी गरेका थिए।
इरानले आफ्ना सबै ड्रोन सुरक्षित फर्केको इरानी सशस्त्र बलका प्रवक्ता ब्रिगेडियर जनरल अबोलफज्ल सिकार्चीले दाबी गरेका छन्। उनले इरानी ड्रोन खसालेको अमेरिकी दाबी अस्वीकार गरे।
उनले कुनै पनि इरानी ड्रोन अमेरिकी पानीजहाज नजिक नउडेको बताए। अमेरिकी राष्ट्रपति ट्रम्पका अनुसार बिहीबार ‘युएसएस बक्सर’ले आफूनजिक आएपछि आत्मरक्षाका लागि आक्रमण गरेर खसालेको दाबी गरेका थिए।
अमेरिकाले आफ्नो पानीजहाज नजिक इरानले ड्रोन उडाएर आफूलाई उत्तेजित बनाउने प्रयास गरेको आरोप लगाउँदै आफ्ना कर्मचारी, सामान र हित रक्षा गर्ने अधिकार अमेरिकासँग रहेको राष्ट्रपति ट्रम्पले बताएका थिए।
अमेरिका र इरानबीच सम्बन्ध तनावग्रस्त रहेको र यी घटनाहरूका कारण उक्त क्षेत्रमा युद्ध हुने सम्भावना बढेको छ।
अमेरिका सन् २०१५ मा इरानसँग भएको बहुपक्षीय पारमाणविक सम्झौताबाट बाहिरिएपछि इरानमाथि फेरि नाकाबन्दी लगाएको छ। त्यसको प्रतिक्रियास्वरुप इरानले पनि कडा अडान लिएपछि दुवैबीच तनाव चर्कदै गएको छ।
इरानले यसअघि अनुमतिबिना आफ्नो हवाई क्षेत्रमा उडेको भन्दै एउटा अमेरिकी ड्रोन स्ट्रेट अफ हर्मुजमै खसालेको थियो। अमेरिकाले भने उक्त ड्रोन आक्रमणमा पर्दा इरानको हवाई क्षेत्रबाहिर पर्ने समुद्री क्षेत्रमा रहेको दाबी गर्दै आएको छ।