उपत्यकाको पहिचानमात्र थिएनन् ढुंगेधारा, यहाँको पानीको प्यास पनि तिनैले मेट्थे। बस्ती पातलो थियो, मुहानहरु जताततै। जसै काठमाडौं उपत्यकामा जनघनत्व बढ्यो, व्यवस्थापन गर्नेहरु सक्रिय भएनन्। अनि शहरीकरणको कुरुप नमुना स्थापित भयो। त्यससँगै यहाँका पानीका स्रोतहरु सुक्दै गए। मल्लकालमा निर्मित राजकुलोमाथि त सडकमात्र होइन, कंक्रिट घर नै बने। पोखरी र ढुंगेधाराका मूल स्रोत धर्तीमै गायव। कति पोखरीमाथि नै पिल्लर ठडियो, कम्प्लेक्स नै बन्यो। कुनै बेला हजारौंको तिर्खा मेटाएको ढुंगेधारा नै प्यासी बन्यो। उपत्यकामा रहेका सयौं ढुंगेधारामा पानी नआएको वर्षौं भइसक्यो।
सरोकारवालाहरुले पनि यस विषयलाई महत्व दिएनन्। सबैको ध्यान मेलम्ची ल्याउनैमा रह्यो। तर, वर्षौंदेखि रहेको ढुंगेधारामा प्राण भर्ने मति आएन। अनि काकाकुल बन्यो काठमाडौं।
तर, अहिले भने मनसुनसँगै पानीका लागि तिर्खाएका केही ढुंगेधारामा पानी रसाउन सुरु भएको छ। पाटनका ढुंगेधारामा त प्राण नै भरिएको छ। कति त जलमग्न। पाटनको सुन्धारामा पानी आउँदा मानिसहरु दंग। सँगै रहेको सौग हिटीमा त पहिलेको भन्दा धेरै पानीको भेल छुटेको छ। केही ढुंगेधारा भने निकास नपाएर दुबानमा परेका छन्। पाटनको गुइत हिटी, भोला हिटी यसका उदाहरण हुन्।
पानी आउँदा घरायसी प्रायोजनका लागि सहज भएको छ। पिउनका लागि भने सोच्नै पर्छ।
पानी कहाँबाट अविरल आइरहेको छ कसैलाई थाहा छैन। भक्तपुरमा बल्ल ढुंगेधाराको निर्माणका बारेमा अध्ययन गर्न र ढुंगेधारामा पानी ब्युताउँन 'हिटी पुच:' गठन गरेर काम सुरु भएको छ। नगरपालिकाले पनि उनीहरुलाई सहयोग गरिरहेकै छ। तर, अन्य शहरमा त्यस्तो देखिँदैन।
यत्ति नै प्रयास ढुंगेधारालाई ब्युताउँन सरकारी पक्षले गर्ने हो भने प्राकृति स्रोतबाट आएको पानी काठमाडौंवासीले घरायसी प्रयोजनका लागि भए पनि गर्न पाउथे।
अहिले मनसुनसँगै आएको पानी मनसुनसँगै बिदा हुने पक्का छ। त्यसपछि कलकल पानी बगिरहेका यी धारा फेरि आफैँ प्यासी रहिरहनेछन्। -
- शब्द : सहयोग रञ्जित/तस्बिर : रोजन श्रेष्ठ