PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

नाटक ‘तीनकुने’ले उठाएको प्रश्न: महिला महान, बाध्य कि कमजोर?



मन्दिरा खत्री

नाटक ‘तीनकुने’ले उठाएको प्रश्न: महिला महान, बाध्य कि कमजोर?

काठमाडौं: समाजको चरित्र फरक फरक छ। त्यसैले मानिसहरुको स्वभाव फरक छ, प्रवृत्ति फरक छ, समाजका पात्रहरु र उनीहरुको भोगाइ फरक फरक छन्। समाजभित्रकै भिन्नाभिन्नै कथा भएर पनि आपसमा मेल खानु वा एकअर्कासँग कुनै न कुनै ढङ्गले जोडिनु संयोग मात्र हो त?

नाटक ‘तीनकुने’ हेरिसकेपछि उठ्ने प्रश्न हो यो। पोषण पाण्डे लिखित ‘भिनाजुको स्वेटर’, रमेश विकलको ‘एउटी अवकासप्राप्त वेश्याको आत्महत्या’ र बिएस राईको ‘चम्पाको नाम’ आपसमा गुँथेर प्रस्तुत गरिएको छ, नाटक 'तीनकुने'। तीनवटै कथाले तीन बेग्लाबेग्लै समयका, फरक पात्रहरु र फरक भोगाइ प्रस्तुत गर्छन्। तीन बेग्लाबेग्लै समयका र फरकफरक कथा भए पनि नाटकको कथा एउटैजस्तो लाग्छ।  

तीनकुनेको कथा सुरु हुन्छ, सतिशको बैठक कोठाबाट। उनकी पत्नी गर्भवती छिन्। व्यस्त साहित्यकार पतिबाट उनी समय, प्रेम र साथको अपेक्षा गर्छिन् तर उनले गरेको अपेक्षा निराशामा परिणत हुन्छ। यहाँ सामाजिक बन्न साहित्यकारहरुको भिडमा मिसिएर आफूलाई व्यस्त देखाउने पुरुष र एक्लिएकी महिलाको मनोदशा चित्रण गरिएको छ। उनीहरु दुवै आमाबुवा बन्दै छन्। तर, दुवैको मनोविज्ञान र सोचमा आकाश पातालको फरक छ।

सतिशको उपेक्षाकै कारण हुनसक्छ उनीमाथि पत्नीको विश्वास गुम्दै गएको छ। यतिसम्म कि आफ्नै बहिनी पति सतिशसँग नजिकिनु र जिस्किनुले पनि उनको तनाव उत्कर्षमा पुग्छ।

नाटक मञ्चन भइरहेकै बेला अर्थात् साउन १ गते एउटा खबर सार्वजनिक भयो- ‘गत असार १ गतेदेखि हराइरहेकी लक्ष्मी परियारको हत्यामा उनकै श्रीमानको संलग्नता खुलेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएअनुसार लक्ष्मीका श्रीमान् रमेश साली नाता पर्ने अनु परियारसँग प्रेम सम्बन्धमा थिए। गुपचुप रहेको सम्बन्ध एकाएक लक्ष्मीको कानमा पुगेपछि बहिनी अनु र श्रीमान रमेशको संलग्नतामा हत्या भएको हो।'

समाजमा यस्ता घटनाहरु बारम्बार सुनिन्छन्। आफ्ना भनिएकाहरुबाट विश्वास गुम्छ। शंका उत्पन्न हुन्छ। यस्तै घटनाहरुको प्रभाव हुनसक्छ, नाटकमा लेखककी पत्नीले आफ्नी बहिनी पतिसँग निकट भएको, भिनाजु सालीबीच सामान्य जिस्किएकोसमेत सहन सक्दिनन्। र, बहिनीको हत्या गर्ने प्रयाससम्म गर्छिन्।

पति-पत्नीको यो जोडीलाई घरको एउटा कोठाले जोड्छ। भावनाले जोड्दैन। त्यो कोठा समाजको प्रतीक हो। त्यो कोठा अर्थात् त्यही समाज पारिवारिक समय बिताउने, प्रेम साट्ने ठाउँमात्र नभएर चम्पाको भट्टी पनि हो। यहाँ तिनै लेखक, विद्वानदेखि ज्याला मजदुरी गरी खानेहरु जम्मा हुन्छन्। रक्सीको मातमा आफ्ना दु:खसुख, आक्रोश, कुण्ठा, पीर, व्यथा सबै बिसाउँछन्। भट्टीमा चम्पाले आश्रय दिएकी एक महिला छिन्। उनको परिचय अस्थिर छ। उनको मनोविज्ञान पनि अस्थिर छ। किनकि उनी समाजले जसरी चिन्छ त्यसैगरी चिनिन्छिन्। जसरी प्रयोग गर्छन्, त्यसैगरी उपयोग भइदिन्छिन्। यो बानी व्यवहारको मूल्य उनी आफैंलाई महँगो पर्छ। र, चम्पाले उनलाई आफ्नो पतिसँग लागेको आरोपमा निकालिदिन्छे। त्यसपछि यहाँ अर्को प्रश्न उठ्छ अरुले चाहेजस्तो बन्नुपर्ने कुनै महिलाको कमजोरी हो या महानता? महिलाहरु पुरुषसरह आफ्नो छुट्टै पहिचान बनाउन किन प्रयास गर्दैनन् भन्ने अनुभूति हुन्छ।

लेखक/साहित्यकारको झुण्ड भट्टीमामात्र सीमित छैन। उनीहरु वेश्यालय पनि धाउँछन्। तात्पर्य हो नाटकमा देखाइएको कोठा अर्थात् समाज वेश्यालय पनि हो, जहाँ पुग्छ एकदिन मुख्य पात्र सतिश पनि। त्यहाँ उसको भेट रीता नामकी वेश्यासँग हुन्छ। कथाकी पात्रको रुपमा। तर रीतासँग उनको कुनै शारीरिक निकटता हुँदैन। बरु वैचारिक र भावनात्मक रुपमा नजिकिन्छन्। तर, रीताको रहस्यमयी चरित्र बुझ्नुअघि नै कथा टुंगिन्छ। किनकि रीताले आत्महत्या गर्छे। आत्महत्या गर्नुअघि उनले लेखेको पत्रकै कारण सतिशकी पत्नीको पनि दु:खद अन्त्य हुन्छ।

पात्रहरुको मनोविज्ञान प्रस्तुत गरेर जीर्ण सामाजिक अवस्था चित्रण गरिएको छ नाटकमा। परिकल्पनाकार एवं निर्देशक सुलक्षण भारतीले नाटक भिन्नाभिन्नै कथाहरुको सम्मिश्रण भएको महसुस हुन दिँदैनन्। फरक फरक कुनाका पात्रहरु र भिन्नाभिन्नै घटनाहरुले नै सिंगो समाज बनाउँछ भन्ने देखाएका छन्।

दुर्व्यवहार, शारीरिक र मानसिक हिंसा, उपेक्षा, अपमानले गाँजेको छ समाजलाई। जसको सिकार सबैभन्दा बढी महिला हुन्छन्। हाम्रोजस्तो पुरुषप्रधान सामाजिक संरचनाले महिलालाई जहिले पनि भावनात्मक वा अन्य बहानामा अबला र कमजोर बनाएर शोषण गरिरहन्छ। यौन शोषण र दुर्व्यवहारका अनेक स्वरुपले उनीहरुलाई पीडित र कमजोर बनाएको छ। नाटकले तीनै कमजोर महिलाका प्रतिनिधि पात्रहरुमार्फत समाज देखाएको छ।

तीनकुनेमा सुलक्षण भारती, सिर्जना अधिकारी, रेनु योगी, रोशनी कार्की, सबिना थापा, सरिता भुजेल, प्रकाश गुरागाई, निशान खत्री, जयराम ढकाललगायत कलाकारहरुले अभिनय गरेका छन्। असार २७ गतेदेखि कौशी थिएटरमा मञ्चन भइरहेको तीनकुने साउन १२ सम्म प्रदर्शन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell