
काठमाडौं: प्रतिबन्धित नेकपा कम्युनिष्ट पार्टी विप्लव समूहका उपत्यकाका ब्यूरो इन्चार्ज माइला लामाको साथबाट चन्दा संकलन गरेको चार सय जनासँग चन्दा लिन तयार पारिएको सूची फेला परेको छ। शनिबार राति पक्राउ परेका लामाको चन्दा उठाउन तयार पारिएको लिस्ट भेटिएको अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए।
लामाले सानादेखि ठुला व्यापारीबाट ५ लाखदेखि २० लाखसम्म चन्दा उठाउने तयारी गरेको भेटिएको थापाले बताए। उनलाई महाशाखाको टोलीले राति काठमाडौँको काडाँघारीबाट नियन्त्रणमा लिएको थियो। अहिले महाशाखामा राखिएका उनलाई म्याद थपका लागि अदालत पठाउने तयारी गरिरहेको छ।
लामा काठमाडौं उपत्यकामा भएका बम विस्फोटका प्रमुख योजनाकार भएको प्रहरीले दाबी गरेको छ। यही अभियोग उनलाई मुद्दा चलाउने प्रहरीले तयारी थालेको छ।
लामा २०६४ सालको संविधानसभा चुनावमा उम्मेदवार बनेर पराजित समेत भएका व्यक्ति हुन्।