
पेसावर: पाकिस्तानको उत्तर पश्चिमी प्रान्त डेरा इस्माइल खानमा आइतबार तालिबान लडाकुले गरेका दुई आत्मघाती आक्रमणमा सात जनाको मृत्यु भएको छ।
स्थानीय प्रहरीका अनुसार कोट्ला सेडानस्थित प्रहरी जाँच चौकीमा तालिबान लडाकुले बिहान ७:४५ बजे आत्मघाती विस्फोट गराउँदा दुई प्रहरीको मृत्यु भएको थियो। विस्फोटमा केही प्रहरी र सर्वसाधारण समेत घाइते भएका थिए।
घाइतेको उपचारका लागि स्थानीय अस्पताल लगिएकोमा त्यहाँ तालिबान लडाकुमा आबद्ध अर्की आत्मघाती महिलाले बम विस्फोट गराउँदा अरु दुई जना प्रहरी र तीन सर्वसाधारणको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। दुवै आक्रमणको जिम्मेवारी पाकिस्तानी तालिबान लडाकुले लिएको छ।
जिल्ला प्रहरी प्रमुख सलिम रियाजले तालिबानको आत्मघाती विस्फोटमा मृत्यु भएका दुई प्रहरीको शव अस्पतालबाट बाहिर निकाल्ने क्रममा अस्पतालको प्रवेशद्वारमा ती आत्मघाती महिलाले विस्फोट गराएको बताए।
उनले भने, 'करिब २८ वर्षकी आत्मघाती महिला खाली खुट्टा अस्पताल परिसरमा आएकी थिइन्।'
दुवै विस्फोटमा गरी आठ प्रहरी र पाँच सर्वसाधारण घाइते भएका छन्।
पाकिस्तानी तालिबान तहरिक–ए–तालिबान पाकिस्तानका प्रवक्ता मुहम्मद खुरासानीले स्थानीय सञ्चारमाध्यममा विज्ञप्ति पठाई विस्फोटको जिम्मेवारी लिएका छन्।
प्रहरीले यसबारे अनुसन्धान सुरु गरेको छ।
पछिल्ला वर्ष पाकिस्तानको सुरक्षा व्यवस्थामा उल्लेखनीय सुधार आए पनि साना आक्रमणहरु भने जारी छन्। यस्ता आक्रमण धेरैजसो उत्तरपश्चिमी तथा अफगानिस्तानसँग सीमा जोडिएका आदिवासी क्षेत्रमा हुने गरेका छन् ।