PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

चोरसँग वडाअध्यक्षको जम्काभेटः घाइते बनाएर भागेका चोर प्रहरी फन्दामा



पहिलोपोस्ट

चोरसँग वडाअध्यक्षको जम्काभेटः घाइते बनाएर भागेका चोर प्रहरी फन्दामा

काठमाडौः गत शुक्रवार दिउँसो करिब ४ बजेतिर धादिङ खाजा घरबाट खाजा घर फर्किएका थिए फन्द्रा तामाङ। धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष हुन् तामाङ। काठमाडौंको बनियाँटारमा बस्दै आएका अध्यक्ष तामाङ घर पुग्दा घरको ढोका खुल्लै थियो।

छोरा पनि सँगै बस्ने भएकाले पक्कै छोरा नै आएको होला भन्दै घरभित्र छिरे। एकछिनमा दुई युवक झोला बोकेर घरबाट निस्किए। अपरिचित व्यक्ति घरबाट निस्किएपछि अध्यक्ष तामाङ झसङ्ग भए। शंका पस्यो, चोर नै हुन्। अध्यक्ष तामाङले दुई जनालाई रोक्न खोजे। दुई जनाको अगाडि उनको के लाग्थ्यो र!

केही समय उनीहरु बिच लछापछार पर्‍यो। अध्यक्ष चिच्याउन लागे। त्यसपछि उनीहरुले आफ्नो साथमा भएको रड निकालेर अध्यक्ष तामाङको पेटमा हाने। रड प्रहार भएपछि तामाङ प्रतिकार गर्न सकेनन्। ‘ केही समय दुई पक्षबिच लछापछारदेखि मुक्कामुक्कीसम्म चलेको देखियो,‘ महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले बताए।

अध्यक्ष तामाङ भूइँमा ढलेपछि उनीहरु भाग्न सफल भए। घरमा कोही नभएको मौका छोपी उनीहरुले चोरी गर्ने योजना बनाएका थिए। यो रहस्य आइतवार उनीहरु पक्राउ गरेपछि खुल्यो। प्रहरीले अध्यक्ष तामाङको घरमा चोरी गर्ने दुई जनालाई आइतवार पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पदम गौतम र भारत घर भएका १९ वर्षीय सुमन सोहानी रहेका छन्। सुमन कवाडी खरिद गर्ने व्यक्ति समेत हुन्। उनीहरुले अहिलेसम्म काठमाडौंका ६ स्थानमा २० लाख रुपैयाँभन्दा बढी रकम चोरी गरेको प्रहीको अनुसन्धानमा देखिएको छ। ‘ राजधानीमा उनीहरु चोरी गर्दै हिड्ने गरेको देखियो। उनीहरुको समुहमा कोही छन् कि भनेर अरु पनि खोजी गरिरहेका छौं,‘ डिएसपी बोगटीले भने।

चोरको आक्रमणमा पेट र हातमा गम्भीर चोट लागेका अध्यक्ष तामाङको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell