काठमाडौँ: आइसीसी टी २० विश्वकप एसिया फाइनल क्वालिफायरको पहिलो खेलमा नेपालले कतारलाई जितका लागि १२३ रनको लक्ष्य दिएको छ।
सिंगापुरको इन्डियन एसोसिएसन क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२२ रन बनाएको हो। नेपालको लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३४ रन बनाए। कप्तान पारसले २८ र उपकप्तान ज्ञानेन्द्र मल्लले २३ रन जोडे।
कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले कतारविरुद्ध ओपनिङ गर्दै गतिलो सुरुवात दिलाएका थिए। यी दुईले पहिलो विकेटका लागि अहिलेसम्मकै उच्च साझेदारी गर्ने क्रममा ४९ रन जोडेका थिए।
तर छैटौँ ओभरमा पारस आउट भएपछि नेपाललाई सम्हालिन सकेन। नियमित अन्तरमा विकेट गयो।
पारसले १७ बल खेल्दै ४ चौका र १ छक्काको मद्दतमा २८ रन बनाए। ज्ञानेन्द्र मल्ल नवौँ ओभरमा २३ रन बनाएर आउट भए। उनले २४ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे। तेस्रो नम्बरमा ब्याटिङ गरेका शरद भेषवाकर पनि ७ रन बनाएर आउट भएपछि नेपाल १०.१ ओभरमा ६७-३ को अवस्थामा पुग्यो।
त्यसपछि क्रिज पुगेका सोमपाल र दीपेन्द्रले नेपालको इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए। तर सोमपाल १३.५ ओभरमा रनआउट हुन पुगे। सोमपालले ११ रन जोडे। विकेटकिपर विनोद भण्डारी ३ रन बनाएर आउट हुँदा नेपालले १७.४ ओभरमा १०७ रन हुँदा पाँचौ विकेट गुमायो।
१९औं ओभरको तेस्रो बलमा दीपेन्द्र बोल्ड भएपछि नेपालले ११२ रनमा छैटौँ विकेट गुमायो।
दीपेन्द्रले ३५ बल खेल्दै १ चौका र १ छक्का मद्दतमा ३४ रन बनाए। १९औँ ओभरकै अन्तिम बलमा करण केसी पनि बोल्ड हुँदा नेपालले सातौँ विकेट गुमायो। करण ४ रन बनाएर आउट भए। आठौँ नम्वरमा ब्याटिङ गरेका सन्दीपले एक चौका सहित ९ रन बनाए। नेपालले अन्तिम ३ बलमा ३ विकेट गुमाएको थियो। सन्दीप १९.४ ओभरा रनआउट भए भने त्यसपछि अभिनाश बोहरा र वसन्त रेग्मी क्रमश: आउट भए।
कतारका लागि इक्वाल हुसेनले ३ विकेट लिए। यस्तै कप्तान तमुर सज्जादले ४ ओभरमा १४ रन मात्र खर्चेर २ विकेट लिए। नोउमन सरवारले पनि २ विकेट लिए।