PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

नेपालको खराब सुरुवात, पहिलो खेलमै कतारसँग ४ विकेटले पराजित



पहिलोपोस्ट

नेपालको खराब सुरुवात, पहिलो खेलमै कतारसँग ४ विकेटले पराजित
Photo Credit : Cricketingnepal

काठमाडौं : आइसीसी टी २० विश्वकप एसिया फाइनल क्वालिफायरको पहिलो खेलमै नेपाल पराजित भएको छ।

'लो स्कोरिङ' खेलमा नेपालले सोचे अनुसारको प्रदर्शन गर्न नसक्दा वरीयताका तल रहेको कतारसँग ४ विकेटले पराजित भएको छ। नेपालले लिएको १२३ रनको लक्ष्य कतारले ४ बल बाँकी छँदै ६ विकेट गुमाएर पूरा गर्‍यो। आइसीसी टी २० वरीयतामा नेपाल ११औं र कतार २१औं स्थानमा छ।

पहिलो खेलमा सिंगापुरसँग पराजित भएको कतारले नेपाललाई हराएपछि २ अंक जोडेको छ भने ग्लोबल क्वालिफायरको आशा समेत कायमै राखेको छ। पहिलो खेल हारेको नेपालले भोली दोस्रो खेलमा मलेसियासँग प्रतिस्पर्धा गर्नेछ।

कतारलाई पहिलो जित दिलाउन इमान उल हकले सर्वाधिक ४१ रन बनाए। यस्तै कमरान खानले २२ रन जोडे। नोउमन सरवारले नटआउट १५ रन योगदान गरे।

सामान्य लक्ष्य पछ्याउने क्रममा कतारले दोस्रो ओभरमै ओपनर फैसल जाभेदलाई गुमाएको थियो। सन्दीप लामिछानेले सोमबाट उनलाई क्याचआउट गराएका थिए। त्यसपछि पाँचौ ओभरक करण केसिले २२ रन बनाएका कमरान खानलाई लामिछानेबाट आउट गराए। १०औं ओभरमा लामिछानले करतको हातबाट मुहम्मद तनविरलाई क्याचआउट गराउदा कतार ६८-३ को अवस्थामा थियो।

१२औं ओभरमा लामिछानले जाहिर इब्राहिमलाई भेषावकरको हातबाट क्याचआउट गराएपछि कतारले चौथो विकेट गुमायो। नेपालका दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट फिल्डिङ गर्दा कतारका खेलाडी १४औं र १५औं ओभरमा रनआउट भए। ४१ रन बनाएका इमान उल हक र कप्तान तमुर साज्जद लगातार आउट भएपछि कतार १४.४ ओभरमा ९९-६ को स्थितीमा पुगेको थियो। यस बेला नेपालले खेलमा पर्कन सक्ने संकेत देखाएको थियो। तर सातौँ नम्वरमा ब्याटिङ गरेका मोहम्मद रिजलान र आठौं नम्वरमा ब्याटिङ गरेका नोउमन सरवारले सातो विकेटका लागि २५ रनको साझेदारी गर्दै कतारलाई जित दिलाए।

सरवारले नटआउट १५ रन बनाउँदा रिजलान ९ रनमा नटआउट रहे।

नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए। उनले ४ ओभरमा ३३ रन खर्चे। किफायती बलिङ गरेका बसन्त रेग्मीले ४ ओभरमा १४ रन मात्र खर्चिए भने विकेट लिन सकेनन्।

सिंगापुरको इन्डियन एसोसिएसन क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा  सबै विकेट गुमाएर १२२ रन बनाएको थियो। नेपालको लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३४ रन बनाए। कप्तान पारसले २८ र उपकप्तान ज्ञानेन्द्र मल्लले २३ रन जोडे।

कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले कतारविरुद्ध ओपनिङ गर्दै गतिलो सुरुवात दिलाएका थिए। यी दुईले पहिलो विकेटका लागि अहिलेसम्मकै उच्च साझेदारी गर्ने क्रममा ४९ रन जोडेका थिए।

तर छैटौँ ओभरमा पारस आउट भएपछि नेपाललाई सम्हालिन सकेन। नियमित अन्तरमा विकेट गयो।

पारसले १७ बल खेल्दै ४ चौका र १ छक्काको मद्दतमा २८ रन बनाए। ज्ञानेन्द्र मल्ल नवौँ ओभरमा २३ रन बनाएर आउट भए। उनले २४ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे। तेस्रो नम्बरमा ब्याटिङ गरेका शरद भेषवाकर पनि ७ रन बनाएर आउट भएपछि नेपाल १०.१ ओभरमा ६७-३ को अवस्थामा पुग्यो।

त्यसपछि क्रिज पुगेका सोमपाल र दीपेन्द्रले नेपालको इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए। तर सोमपाल १३.५ ओभरमा रनआउट हुन पुगे। सोमपालले ११ रन जोडे। विकेटकिपर विनोद भण्डारी ३ रन बनाएर आउट हुँदा नेपालले १७.४ ओभरमा १०७ रन हुँदा पाँचौ विकेट गुमायो।

१९औं ओभरको तेस्रो बलमा दीपेन्द्र बोल्ड भएपछि नेपालले ११२ रनमा छैटौँ विकेट गुमायो।

दीपेन्द्रले ३५ बल खेल्दै १ चौका र १ छक्का मद्दतमा ३४ रन बनाए। १९औँ ओभरकै अन्तिम बलमा करण केसी पनि बोल्ड हुँदा नेपालले सातौँ विकेट गुमायो। करण ४ रन बनाएर आउट भए। आठौँ नम्वरमा ब्याटिङ गरेका सन्दीपले एक चौका सहित ९ रन बनाए। नेपालले अन्तिम ३ बलमा ३ विकेट गुमाएको थियो। सन्दीप १९.४ ओभरा रनआउट भए भने त्यसपछि अभिनाश बोहरा र वसन्त रेग्मी क्रमश: आउट भए।

कतारका लागि इक्वाल हुसेनले ३ विकेट लिए। यस्तै कप्तान तमुर सज्जादले ४ ओभरमा १४ रन मात्र खर्चेर २ विकेट लिए। नोउमन सरवारले पनि २ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell