काठमाडौं: ने क पाका अध्यक्ष पुष्पकमल दाहालले दुईटा कम्युनिष्ट पार्टीको एकता आजको भोलि नभएको बताएका छन्।
उनले पार्टी एकताको जग तत्कालिन एमाले नेता र आफूबीच शान्ति प्रक्रियाको क्रममा भएको संवाददेखि नै बसेको बताए। ‘अहिलेको अवस्था कुनै नाटकीय हिसाबले आएको होइन,’ नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औं स्मृति दिवसका अवसरमा आज बिहान कीर्तिपुरको चम्पादेवीमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘आफू र पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधवकुमार नेपालबीच शान्ति प्रक्रियाका क्रममा देखिने मात्रै होइन नदेखिने संवाद भएको थियो।‘
उनले तत्कालिन युद्धका बेला कम्युनिष्ट नेताहरुबीच भएका वार्ता र संवादका कुराहरु धेरैलाई थाहा नभएको उल्लेख गरे। ‘माधव नेपाल यहीँ हुनुहुन्छ। उहाँ र म बीच हामी भूमिगत अवस्थामै रहेका बेला पटकपटक कम्युनिष्ट एकताका बारेमा छलफल भएको विषय बाहिर आएकै छैन,’ उनले भने, ‘यहाँहरूले इतिहास खोज्नुहोस्- १२ बुँदे सहमति, १९ दिने जनआन्दोलन, शान्ति सम्झौता जस्ता ठूला राजनीतिक परिघटनाहरु पनि कम्युनिष्ट पार्टी एकतासँग जोडिएको छ।’
उनले पार्टी एकता करिब करिब निष्कर्षमा पुगिसकेको पनि बताए। ‘अब औपचारिकता दिनमात्रै बाँकी छ। एक दुई लिन भित्र एकता सकिन्छ,’ प्रचण्डले भने, ‘हाम्रो लक्ष्य यही श्रावण महिनाभित्रै बाँकी रहेका एकताका काम टुंग्याउने हो।‘
उनले यही महिनाभित्रै स्थायी कमिटी र केन्दीय कमिटीको बैठक लक्ष्य लिइएको सुनाए। बोल्ने क्रममा उनले पुष्पलालको सम्झना गर्दै आफूहरु पुष्पलालकै सन्तति र उनकै उत्तराधिकारी भएको बताए।