
- खेमराज श्रेष्ठ-
काठमाडौं : सरकारले साउनदेखि मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ प्रणाली-भिसिटीएस) प्रयोगमा ल्याएसँगै साना ठूला सबै क्षेत्रका व्यवसायी तरङ्गित भए।
त्यसको असर राजस्व अनुसन्धान विभागले ६ महिना अगाडिदेखि विभिन्न उद्योगी/व्यवसायीका छाता संस्थासँग छलफल गरेर कार्यान्वयनमा ल्याएको भिसिटीएसको चर्को विरोध।
यतिसम्म कि भिसिटीएस कार्यान्वयन गर्नुपर्ने मात्रै होइन सरोकार नै नभएका उद्योगी/व्यवसायी समेत विरोधमा उत्रिए।
भिसिटिएसको बारेमा किन देशभरिका व्यवसायी आन्दोलित छन्? साना व्यवसायीसम्मले यो कार्यान्वयनमा ल्याउनुपर्छ? विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार, आयातकर्ता, उत्पादक, वितरक र डिलरलाई मात्रै भिसिटीएस लागू हुन्छ।
‘उपभोक्तालाई सामान बेच्ने किराना पसल, कपडा, जुत्ता, विद्युतीय सामान बेच्ने कुनै पनि व्यवसायीले भिसिटीएस कार्यान्वयन गर्नुपर्दैन्,’ उनले भने, 'ठूला मल, भाटभटेनी लगायतका डिर्पाटमेन्टल स्टोरले समेत यो व्यवस्थामा जानुपर्दैन।’
कसले पर्छ?
व्यवसायिक प्रयोजनको मालवस्तु एक स्थानबाट अर्को स्थानमा आन्तरिक ओसारपसार गर्ने आयातकर्ता, उद्योग (उत्पादक कम्पनी), वितरकले भिसिटीएसमा जानुपर्छ। राजस्व अनुसन्धान विभागले नि:शुल्क रुपमा उपलब्ध गराएको अनलाइन प्रणालीमा ती कम्पनीहरु आवद्ध हुनुपर्छ।
आयातको हकमा आयातकर्ता वा भन्सार एजेन्टले भन्सार विन्दुमा नै मालवस्तु तथा ढुवानी साधनको विवरण वेवसाइटमा इन्ट्री गर्नुपर्छ। भन्सार विन्दुमा ट्रक नम्बर, चालकको नाम र प्रज्ञापनपत्र इन्ट्री भएपछि अन्तिम विन्दुमा आयातकर्ताले ट्रक पुगेको जानकारी वेवसाइटमै दाखिला गर्छ। उद्योग (उत्पादक कम्पनी) ले आफ्ना उत्पादन बिक्री गर्न ट्रकमा हालेपछि विभागले दिएको अनलाइन प्रणालीभित्र गएर ट्रक नम्बर, चालकको नाम र चलानी दाखिला गर्नुपर्छ।
विभागले आन्तरिक राजस्व विभागसँग प्यान नम्बर लिङ्क गरिसकेको छ। त्यसमा सामानको प्रकार भने उल्लेख गर्नुपर्छ। त्यसपछि भेकल स्टार्ट भन्ने बटम क्लिक गरे पुग्छ। यसपछि क्यूआर कोडसहितको कागजलाई फोटोकपी गरी गन्तव्य विन्दुमा हिड्न मिल्छ।
उद्योगले अरु कुनै अतिरिक्त काम गर्नुपर्दैन। उद्योगले डिलरलाई सामान दिएपछि डिलरले प्राप्त भएको जानकारी अनलाइनमा दाखिला गर्छ।
उद्योगले आफ्ना बिक्रेतालाई बेचेको बिलविजक, बिक्री नभएर फिर्ता आएको सामान विगतको जस्तै दैनिक हिसाब खाता राखे पुग्छ।
उदाहरणका लागि बोटलर्स नेपालले उत्पादन गरेका पेय पदार्थ उद्योगबाट डिलरमा लैजानु अघि ट्रक नम्बर, चालकको नाम र चलानी अनलाइन प्रविष्ट गरेर लैजान सक्छ। त्यो सामान डिलरसम्म पुगेपछि उसैले त्यो सामान पाएपछि अनलाइनमा जानकारी गराए पुग्छ।
डिलर पनि विभिन्न पसलमा पेय पदार्थ बिक्री गर्न लैजादा ट्रक नम्बर, चालकको नाम र चलानी हालेपछि आफ्ना बिक्रेतालाई बिक्री गर्न लैजान्छ। डिलरले सामान बिक्री गरेर फर्किएपछि विगतकोजस्तै दैनिक खातामा विलविजक सहितको हिसाबकिताब राख्छ।
‘यो भेहिकल ट्रयाकिङ प्रणाली मात्रै हो। उद्योग, आयातकर्ता वा डिलरले आफ्नो दैनिक हिसाब खाता विगतमा जस्तै राख्ने हो। करका अरु केही विषय परिवर्तन भएका छैनन्,’ विभागका महानिर्देशक मैनालीले भने।
मैनालीका अनुसार यो प्रणालीले आयात गर्दा भन्सार बिन्दूमा उद्योगबाट मालवस्तु निकाल्नु भन्दा पहिले, ट्रान्सपोर्ट व्यवसायीले बिलविजक लिएर सामान छोड्नु अघि, वितरक तथा थोक बिक्रेताले क्रेतासम्म पुर्याउँदा यो सिस्टमले काम गर्छ। यसरी ढुवानी गर्दा लाग्ने संक्षिप्त विवरण वेवपेजमा अपलोड गरे पुग्ने उनले बताए।
उद्योगी/व्यवसायीलाई फाइदा के हुन्छ?
यो सिस्टमले सबैभन्दा बढी उद्योगी/व्यवसायीलाईनै फाइदा पुग्ने मैनालीले जानकारी दिए। भिसिटीएस लागू हुनेबित्तिकै कर्मचारीबाट हुने चुहावट रोकिन्छ। कुनै पनि उद्योगको सामान बिक्री गर्दा कर्मचारीबाट हुने अनियमितता रोकिन्छ।
‘हामीले निशुल्क रुपमा ल्याएको यो प्रणालीबाट उद्योगी/व्यवसायीलाई नै धेरै फाइदा छ। यसले उद्योग/व्यवसायमा हुने चुहावट रोक्छ। व्यवसायीले विदेशमै बसेर आफ्नो कम्पनीको कारोबार हेर्न सक्छन्,’ महानिर्देशक मैनालीले भने, 'राजस्व छल्ने काम बन्द हुन्छ। जसले राज्यको कानुन अनुसार उद्योग/व्यवसाय गरेर कर तिरेका छन् उनीहरुको व्यवसाय फष्टाउँछ।’
यसबाहेक सरकारले समेत उपभोग हुने सामानको सही तथ्यांक पाउँछ। अहिले मुलुकका कुन स्थानमा कुन सामान कति खपत छ भन्ने आधिकारिक तथ्यांक छैन। भिसिटीएस कार्यान्वयनमा आउनेवित्तिकै यो तथ्यांक सहज रुपमा सरकारले पाउन सक्छ।
भिसिटीएस कार्यान्वयनमा आएपछि राजस्वका चेकपोष्ट समेत हटेका छन्। ती क्षेत्रमा कागजात देखाउनुपर्ने बाध्यता समेत अन्त्य भएको छ। विभागका महानिर्देशक मैनालीका अनुसार राजस्व अनुसन्धानका १२ वटा चेकपोष्ट साउनदेखि खारेज गरिसकिएको छ।
कसलाई लागू हुन्छ?
उद्योगले किसानबाट किन्ने गहुँ, मकै, उखु जस्ता वस्तु खरिद गर्दा विवरण खुलाउनु पर्दैन। दुर्गमका साना व्यापारी तथा घरेलु उद्योगलाई यो प्रणाली लागू हुँदैन।
इन्टरनेट नभएका गाउँमा यो प्रणाली बाध्यकारी छैन। ‘इन्टरनेट नभएका दुर्गम क्षेत्रमा हामीले यो कार्यान्वयनमा ल्याएका छैनौं। साना तथा घरेलु उद्योगलाई समेत कार्यान्वयन गर्नुपर्दैन,’ उनले भने।
के हो भीसीटीएस प्रणाली
व्यवसायिक प्रयोजनको मालवस्तु एक स्थानबाट अर्को स्थानमा आन्तरिक ओसारपसार गर्दा ढुवानी साधन र मालसामानको विवरण विभागको वेवसाइटमा इन्ट्री गर्नु नै भिसिटीएस प्रणाली हो।
आयातको हकमा आयातकर्ता वा भन्सार एजेन्टले भन्सार विन्दुमा नै मालवस्तु तथा ढुवानी साधनको विवरण राख्नु पर्नेछ। ढुवानी सेवा सञ्चालन गर्ने कम्पनी मार्फत ढुवानी गर्ने थोकस्तरको बिक्रीको सामाग्री तथा साधनको विवरण कम्पनीले गर्नुपर्नेछ।
यस्तै उद्योग, वितरक वा थोक बिक्रेताले सोझै आफैंले मालवस्तु कारोबारको स्थलबाट सोझै बिक्री गरी पठाउँदा मात्र व्यवसायीहरुले विवरण प्रणालीमा राख्नुपर्नेछ। यो प्रणालीमा उद्योग, वितरक वा थोक बिक्रेताले आफ्नो उद्देश्य अनुरुप उपभोक्तालाई खुद्रास्तरमा बिक्री गर्दा विवरण उल्लेख गर्नुपर्दैन। खुद्रा स्तरको व्यवसायीलाई यो प्रणालीले कुनै असर गर्दैन।
भिसिटीएसमा कसरी आवद्ध हुने?
यो प्रणालीमा सहभागी हुन विभागको कार्यालय जानु पर्दैन। सिधै वेबसाइटमा गएर सुरुमा कम्पनीको प्रकार (ढुवानी सेवा कम्पनी, उद्योग, थोक, आयातकर्ता भन्सार एजेन्ट) छान्नु पर्छ।
यस्तै प्यान नम्बर, कम्पनीको नाम, इमेल, प्रदेश, जिल्ला, ठेगाना, सम्पर्क, प्रमाणपत्रक्रमश पेस गर्नुपर्नेछ। पासवर्डका लागि ८ अंक वा अक्षर प्रयोग गर्नुपर्छ। १५ वटा प्रक्रिया पूरा गरेपछि यूजरआइडी र पासवर्ड लिन सकिनेछ।
यसरी लिइएको यूजरआइडी र पासवर्ड प्रयोग गरी भिसिटीएस प्रणालीमा समाहित हुन सकिन्छ। त्यसपछि ड्यासबोर्डमा गएर व्यवसायीले आफ्नो शाखा अन्तर्गत यूजरआइडी र पासवर्ड बनाउन सक्नेछन्।
यस्तै २ नम्बरमा कन्साइनमेन्ट थप्नुहोस् भन्ने स्थानमा व्यवसायीले विलविजक, प्रज्ञापनपत्र, चलान, डेबिट/क्रेडिट, नोट, निकासी बिल लगायतको विवरण पेस गर्न सक्नेछन्।
कनसाइमेन्ट सूचीमा प्रयोगकर्ताले मेनिफेस्टो हेर्न सक्नेछन्। मध्य कनसाइनमेन्टबाट शाखा रहेको स्थानबाट थप्नु परेमा र कनसाइनमेन्ट रिर्पोटमा प्रयोगकर्ताले आफ्नो व्यावसायको बारेमा मिति, प्यान, सवारी साधनको नम्बरको आधारमा विभिन्न प्रकारका व्यवसायिक रिर्पोटहरु हेर्न सक्नेछन्।
यसैगरी गोदाम दर्ताका लागि पहिले गोदाम, शाखा, आयोजना साइट उल्लेख गर्नुपर्छ। यस्तै प्रदेश, जिल्ला, ठेगाना, सम्पर्क पेस गरी दर्ता गर्नु पर्नेछ।
ढुवानी व्यवसायीलाई कुनै समस्या छैन
यो प्रणालीले ढुवानी व्यवसायीलाई कुनै फरक पर्दैन। यो प्रणाली उद्योगी, माल/वस्तु आयतकर्ता, थोक बिक्रेतासँगमात्र सम्बन्धित रहेकोले ट्रक व्यवसायीले आवद्ध हुनुपर्दैन।
प्रणालीमा सवारी चालक र सवारी नम्बरलाई समेट्ने गर्छ। कुनै गाडी दुर्घटना भएर सवारी परिवर्तन गर्नु परेमा सिधै अनलाइन मार्फत विभागलाई जानकारी दिए पुग्छ। प्रहरीलाई जानकारी दिने झन्झटबाट मुक्त हुने विभागको दाबी छ।
नेपाल राष्ट्रिय ट्रक व्यवसायी महासंघका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले भिसिटीएसले ढुवानी व्यवसायी भन्दा उत्पादक र आयातकर्तालाई जवाफदेही बनाएको बताउँदै यो प्रणालीप्रति कुनै आपत्ति नरहेको बताए।
प्रणालीमा नगए के हुन्छ?
यो प्रणालीमा हालसम्म १४ हजार व्यवसायीले सहभागी जनाइसकेका छन् भने ११ हजार व्यवसायीले प्रयोगमा ल्याइसकेका छन्।
यो प्रणालीबारे बुझाउन अहिले राति ११ बजेसम्म विभागका कर्मचारीहरु व्यस्त छन्। विभागमा सयौं उद्योगी/व्यापारी प्रणाली बुझ्न आउने गरेका छन्। विभागले समेत प्रणालीका बारेमा बुझाउनकै लागि कारवाहीलाई प्राथमिकतामा राखेको छैन।
विभागले तीन महिनासम्म प्रणालीमा आउन समय दिएको छ। ‘हामीले सुरुमा बुझाउनकै लागि तीन महिनाको समय दिएका छौं। त्यो समयभित्र बुझेर अधिकांश उद्योगी/व्यवसायी आवद्ध हुने विश्वास लिएका छौं,’ महानिर्देशक मैनालीले भने। भिसिटीएसमा नआउनेलाई समेत ठूलो जरीवाना राखिएको छैन।
उनका अनुसार कारवाही समेत महानिर्देशकमा निहित हुनेगरि एक रुपैयाँदेखि पचास हजार रुपैयाँको जरीवाना राखिएको छ। ‘यो प्रणाली बुझाउँदै लैजानको लागि ठूलो जरीवानाको रकम नराखिएको हो। यसले उद्योगी व्यवसायीलाईनै फाइदा हुने भएकाले उहाँहरु आउनुहुन्छ भन्ने विश्वास हामीलाई छ,’ उनले भने।