PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ललितपुर महानगरविरुद्ध उत्रिए स्थानीय : पलेस्वाँ पुखु ब्युताउने प्रयास, स्थानीयलाई सघाएको भन्दै महानगर प्रहरी प्रमुख निलम्बित



सहयोग रञ्जित

ललितपुर महानगरविरुद्ध उत्रिए स्थानीय : पलेस्वाँ पुखु ब्युताउने प्रयास, स्थानीयलाई सघाएको भन्दै महानगर प्रहरी प्रमुख निलम्बित

जब पाटन क्षेत्रमा ठूलो पानी पर्छ तब मंगलबजार आसपासका क्षेत्र डुबानमा पर्छन्। यस वर्ष पनि मनसुन अगावैको बर्षाका कारण पुल्चोकबाट मंगलबजार जाने सडक जलमग्न भयो। मनसुनसँगै आएको बर्षाले धेरैका घरभित्र पानी पस्यो।

बर्षैपिच्छे मंगलबजार डुबानमा पर्दै गएपछि स्थानीयले डुबान हुनुको कारणबारे बहस गर्न थाले। पहिला पाटनको न: टोलमा रहेका पोखरीहरु नभएका कारण मंगलबजारसम्म डुबानमा परेको निश्कर्ष विज्ञहरुले निकाले।

अहिले न: टोलका स्थानीय फेरि त्यहाँ रहेका चारवटा पलेस्वाँ (कमल) पोखरी ब्युताउँन अग्रसर भएका छन्। विशेष गरी उनीहरु हाल पर्यटक बसपार्क रहेको स्थानमा रहेको पोखरी र महानगर भवन पछाडि रहेको पलेस्वाँ पोखरी ब्युताउँन आन्दोलन गरिरहेका छन्। तर, पोखरी रहेको स्थानमा ललितपुर महानगरपालिकाले फेरि पोखरी बनाउनुको साटो उल्टै बसपार्क संचालनकै लागि ठेक्का दिएपछि स्थानीय आक्रोशित छन्।

विगत केहीदिन देखि न: त्वाका स्थानीयले पर्यटक बसपार्क रहेको क्षेत्रमा धर्ना र विरोध कार्यक्रम गर्दै आएका थिए। स्थानीय मिलेर साउन १ गते पलेस्वाँ पोखरी भएको बसपार्क क्षेत्रमा पूजा आयोजना गर्दै पोखरी शिलान्यासको कार्यक्रम गरेका थिए।

आज पनि पोखरी ब्युताउँने सम्बन्धमा स्थानीय छलफलमा थिए। न:त्वामा छलफल चल्दै गर्दा एक्कासी त्यहाँ केही प्रहरी भ्यान पुगे। प्रहरीको उपस्थिति बाक्लिएको देखेपछि स्थानीयले प्रहरी र महानगर विरुद्ध नाराबाजी गरेका थिए। नाराबाजीपछि प्रहरी टोली त्यहाँबाट फर्कियो। स्थानीयले पोखरी फेरि ब्युताउँन र महानगरपालिका प्रमुख चिरिबाबु महर्जनको राजीनामा माग गरेका थिए।

न:त्वा पलेस्वाँ पुखु संरक्षण समितिका अध्यक्ष बाबुराजा महर्जन भन्छन्, 'हामी छलफलमा मात्रै थियौं। यहाँ एक्कासी प्रहरी परिचालन गरेपछि स्थानीय आक्रोशित बने।'

महर्जनका अनुसार पोखरीको आवश्यक्तालाई मध्यनजर गर्दै हाल पर्यटक बसपार्क रहेको स्थानमा फेरि पलेस्वाँ पोखरी बनाउनेबारे महानगरको पटकपटक ध्यान केन्द्रित गराइएको थियो।

महर्जन भन्छन्, 'पोखरीको विषयलाई लिएर हामी केही दिनअघि मेयरलाई भेट्न गयौं। तर, कार्यव्यस्तता भन्दै उनले हामीलाई भेटेनन्। त्यसपछि उप प्रमुख गीता सत्याललाई भेट्ने भन्यौं। कार्यालयमा हुँदाहुँदै पनि उपमेयरले सुरुवातमा त भेट्न मानिनन्। स्थानीयले महानगर परिसरमै नाराबाजी गरेपछि उपमेयर आइन् र त्यहाँ पोखरी नै बनाउने भनिन्।'

सत्यालको आश्वासनपछि स्थानीय महानगरबाट फर्के। तर, महानगरले केही दिनपछि पर्यटक बसपार्कलाई पोखरीका रुपमा ब्युताउँने नभइ पुन: पर्यटक बसपार्ककै रुपमा संचालन गर्ने ठेक्का दियो। महानगरको सो कदमपछि स्थानीय आक्रोशित बने र सडक संघर्षमा उत्रे।

ऐतिहासिक ढुंगेधारा तथा मुहान संरक्षन समितिका अध्यक्ष सुशील श्रेष्ठका अनुसार पहिला न: टोलमा चारवटा कमल पोखरी थिए। चार पोखरीमध्ये हाल भने एउटा पोखरी 'स्वीमिङ पुल शैली' मा जीवित छ। तीनवटा पोखरीको अस्तित्व नै समाप्त भइसकेको छ।

उनी भन्छन्, 'पोखरी छँदा नै २०२१ सालबाट नै यहाँको पोखरी अतिक्रमण सुरु भयो। चार वटामध्ये तीनवटा अस्तित्व नै बिलिन भइसकेको पोखरी रहेको स्थानमा हाल महानगरपालिका रहेको भवन, त्रि-पद्यम विद्याश्रम माध्यमिक विद्यालय, पर्यटक बसपार्क बनिसकेको छ। यस्तै, महानगरपालिका भवन पछाडि फाउन्टेन सहितको कृतिम पोखरी रहेको स्थानमा अर्को पोखरी थियो।

पर्यटक बसपार्क रहेको खुल्ला स्थान, यहाँ पहिला पलेस्वाँ पुखु थियो

यी सबै पोखरीहरु मंगलबजार प्रवेश गर्ने पानीको भेल नियन्त्रण गर्न बनेको श्रेष्ठ बताउँछन्। अहिले तिनै पोखरी नहुँदा सो क्षेत्रमा पानीको अभाव हुनुका साथै डुबानमा पर्ने गरेको उनको तर्क छ।

स्थानीय श्याम महर्जन चारवटा पलेस्वाँ पोखरीको रहेको स्थानमा जन्मराजले दण्ड दिने स्थान रहेको किम्बदन्ती रहेको बताउँछन्। कालान्तरमा लिच्छवी कालमा रातो मछिन्द्रनाथको रथ जात्राको क्रममा पुल्चोकबाट रथ तान्ने बेलामा मानिसहरुलाई दण्ड दिइरहेको दृश्य देखिँदा मानिसहरु बेहोश हुने गर्थे। पछि मिननाथले यमराजलाई सो स्थानमा मानिसले नदेख्ने गरी कार्य गर्न भनेपछि त्यहाँ चारवटा कमल पोखरी निर्माण गरिएको कथन छ।

सो पोखरीमा टीका भैरबबाट राजकुलो मार्फत् पानी आउँथ्यो भने त्यहाँको पोखरीबाट नजिकै रहेका ढुंगेधारामा पानी जान्थ्यो।

२०२१ सालमा भएको नापीले न:त्वामा रहेको पलेस्वाँ पुखु व्यक्तिको नाममा दर्ता गरेको स्थानीय बताउँछन्। २०२६ सालमा त पोखरीमा पानी रहेकै अवस्थामा घर निर्माण गर्न नक्सा पास गरिएको थियो। त्यसबेला पनि स्थानीयले पोखरी अतिक्रमणको विरोध गरेका थिए। स्थानीय पोखरी ब्युताउँन सर्वोच्च अदालतसमेत पुगेका थिए। उनीहरु सो स्थानमा पोखरी नै हुने फैसला सर्वोच्चले गरेको दावी गर्छन्।

पंचायतकालमा सो पोखरीमा राजकुलोबाट आउने पानी रोकियो। फलश्वरुप पोखरी सुक्दै गयो र फोहोर फाल्ने स्थानका रुपमा परिणत भयो। त्यसैको असर - पोखरी अतिक्रमण बढ्दै गयो। पोखरी रहेकै क्षेत्रमा महानगरपालिका र विद्यालयका भवन ठडिए। स्थानीयको विरोधले गर्दा हाल बसपार्क रहेको क्षेत्रमा भने भवन बन्न पाएन।

'दमन भए पहिला महानगरकै भवनमा पोखरी'

स्थानीयले हाल बसपार्कमा रहेको पलेस्वाँ पोखरी र महानगरको भवन पछाडि रहेको कृत्रिम पोखरी फेरि ब्युताउँने माग गरिरहेका थिए। तर, आज प्रहरीको आगमन र महानगरको वेवास्तासँगै स्थानीयहरु थप सडक संघर्ष गर्ने तयारीमा छन्।

ढुंगेधारा संरक्षण समितिका श्रेष्ठ भन्छन्, 'पहिला त हामी यहाँको एउटा पलेस्वाँ पोखरी ब्युताउँ भन्दै आवाज उठाउँदै थियौं। तर, प्रहरी नै परिचालन गरेर दमन गर्ने हो भने पहिला त्यो महानगरपालिका रहेको भवन नै भत्काउने हो। त्यहाँ पोखरी बनाउने हो। कि महानगरले हामी पलेस्वाँ पोखरी बनाउँछु भन्नु पर्‍यो। नभए त्यही भवनमै पोखरी बनाउने होअब यो आन्दोलन न: त्वाको मात्रै रहेन। अब यो पोखरी निर्माण गर्न उपत्यकाका मानिसहरुलाई यहाँ ल्याउने हो।'

महानगरले सहयोग नगरे पनि स्थानीयहरुको सहयोगमा नै पोखरी बनाएर छाड्ने उनले बताए।

संघर्ष समितिका अध्यक्ष महर्जनले सम्पदा जोगाउने दायित्व स्थानीय निकायको भए पनि स्थानीय निकाय आफैँ सम्पदा अतिक्रमणमा लागेको बताए।

नगर प्रहरी प्रमुखको निलम्बन

यता, पलेस्वाँ पुखु निर्माणमा सहभागी भएको भन्दै ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख कदमलाल महर्जनलाई महानगरपालिकाले निलम्बन गरेको छ।

साउन १ गते पोखरीको शिल्यान्यास कार्यक्रममा सहभागी भएको र महानगरको निर्णय विरुद्ध मानिसहरुलाई पोखरी निर्माणका लागि उक्साएको भन्दै उनलाई निलम्बन गरिएको महानगरले जनाएको छ।

ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेमप्रसाद भट्टराईले भने, 'नयाँ टेन्डर आह्वान हुँदा पोखरी बनाउनुपर्छ भनेर महानगरको कर्मचारी नै लागे। पोखरी त महानगरले बनाउने हो। बसपार्क बनाउने निर्णयमा असहयोग गरेका कारण उनलाई निलम्बन गरिएको हो।'

उसो त महर्जनले आफूले ठेक्का नपाएकाले स्थानीयलाई उचालेको आरोप समेत महानगरले लगाएको छ। भट्टराई भन्छन्, 'पहिला बसपार्क संचालनको ठेक्का उनैको मातहत थियो। यसपटक उहाँले टेन्डर पाउनु भएन। टेन्डरको सबै प्रक्रिया पूरा भएपछि पोखरी बनाउनु पर्ने माग उठ्यो।'

यता निलम्बित नगर प्रहरी प्रमुख महर्जनले भने महानगरले लगाएको आरोपको खण्डन गरेका छन्। पहिलोपोस्टसँगको कुरामा उनले भने, 'उक्त बसपार्कसँग मेरो कुनै सम्बन्ध छैन। मैले ठेक्का लिएको पनि छैन। म न: टोलको मंका खल: को अध्यक्ष हुँ। महानगरको कर्मचारीको साथै म यहाँको स्थानीय हुँ। साथीहरु सबै जना १ गते पोखरीमा पूजाका लागि भेला भए। म टोलको नेतृत्व गरिरहेको मान्छे जानु पर्दैन? हो त्यहीँ गयो भनेर मलाई निलम्बनको पत्र दिइयो।'

फोटो : कदमलाल महर्जनको फेसबुकबाट

उनले मानिसहरुलाई उकासेको आरोपप्रति पनि आपत्ति जनाउँदै भने, 'यहाँ पोखरी थियो। सबैलाई थाहा छ। पहिला पनि यहाँ भवन बनाउने भन्दा हाम्रै पुर्खाले रोकेका थिए। अहिले स्थानीयले यहाँ पोखरी ब्युताउँने माग गरिरहेका छन्।'

महर्जन निकै तनावमा देखिएका थिए। 'म महानगरको कर्मचारी हुँ। महानगरले भनेको कुरा पालना गर्नु मेरो कर्तव्य हुँ। तर एउटा कार्यक्रममा सहभागी हुँदैमा महानगरको नीति विरुद्ध गयो भनेर, मान्छेलाई उक्सायो भनेर गलत आरोप लगाउनु भएन नि,' उनले भने, 'मलाई निलम्बन गर्ने निर्णय साउन २ गते भएको रहेछ। मलाई ३ गते प्रशासन विभागका प्रमुखले बोलाएर पत्र दिनु भयो। मैले किन गरेको भनेर सोधेँ। पोखरी बनाउन लागेको भनेर निलम्बन गरेको भनेर जवाफ दिइयो। मैले पनि आज हाजिर गरेर पत्र बुझ्छु भनेँ। अनि निर्णय को बाट भएको भनेर सोधेँ। मैले जवाफ पाइन। अहिले निकै तनावमा छु। ठीक भएपछि कानूनी बाटोको बारेमा सोचौंला।'

पलेस्वाँ पोखरी बनाउन संघर्ष गरिरहेका बाबुराजा महर्जन पनि नगर प्रहरी प्रमुखलाई अन्याय भएको बताउँछन्। भन्छन्, 'उहाँ यो टोलको अगुवा हो। महानगरको कर्मचारी भए पनि उहाँ पोखरी निर्माण हुनुपर्छ भनेर स्थानीयसँग आउनु भयो। उल्टै उनी विरुद्ध आरोप लगाएर निलम्बन गरियो। यो त उनी प्रति अन्याय भएको हो। पोखरी ब्युताउँनुपर्छ भनेकै कारण उनलाई हटाइएको हो भने उनलाई पुन: नियुक्त गरिनुपर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell