PahiloPost

May 15, 2024 | २ जेठ २०८१

खाली ठाउँ एक, विकल्प दुई: 'खाली ठाउँ भर्न' ने क पा भित्र सकस



विधुर ढकाल

खाली ठाउँ एक, विकल्प दुई: 'खाली ठाउँ भर्न' ने क पा भित्र सकस

काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भयो। पार्टी एकताको अन्तिम निर्णयका लागि बोलाइएको बैठक गृहकार्य नपुगेको भन्दै स्थगित गरिएको छ।

ने क पाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार नेताहरुको कार्यव्यस्तता र केही आन्तरिक गृहकार्य नपुगेका कारण बैठक स्थगित भएको हो। अर्को बैठक साउन ९ गते बिहीवारका लागि बोलाइएको छ।

ने क पा एकताको १४ महिना पुगिसक्दा अझै ३२ विभाग, तीन केन्द्रीय आयोग तथा सम्पर्क मञ्चहरुको गठन हुन सकेको छैन। त्यस्तै पोलिटव्यूरो गठनमा अन्यौलता कायमै रहेको छ।

गत वर्ष जेठ ३ गते एकता हुँदा तीन महिनाभित्र एकता टुंग्याउने बताइएको थियो। तर, त्यस्तो हुन सकेन। अन्तिम पटक दुवै अध्यक्षले यही असार मसान्तसम्म सबै प्रक्रिया टुंग्याएर देशभर अभियान चलाउने बताएका थिए। तर विभागमा भागबन्डा नमिल्दा एकता प्रक्रिया लम्बिएको ने क पाका एक स्थायी कमिटी सदस्यले बताए।

यसअघि असार ५ गतेको सचिवालय बैठकले एकतालाई टुंग्याउने बताइएको थियो। सो बैठकले केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्दै जिल्ला इन्चार्ज र सहइन्चार्ज तोकेको थियो। तर विभागहरुको टुंगो लगाउन सकेको थिएन। सो बैठकपछि सचिवालय सदस्य वामदेव गौतमले निर्णय नभए पनि आफू नै संगठन विभागको प्रमुख हुने पक्का भएको बताएका थिए।

त्यस्तै प्रवक्ता श्रेष्ठले निर्णय नभएको भन्दै 'वामदेव कामरेडलाई त्यस्तो लाग्या होला,' भन्ने प्रतिक्रिया दिएका थिए। उनले आज धुम्बाराहीमा बस्ने बैठकले टुंग्याउने बताएका थिए।

'आज बस्ने सचिवालय बैठकले निर्णय गर्ने भन्ने थियो। त्यसका लागि हिजो (सोमवार) नेताहरु छलफल गर्नु भएको थियो। छलफलमा टुंगो लागेन,' ती स्थायी कमिटी सदस्यले पहिलोपोस्टलाई भने, 'छलफलमा सहमति जुटेन। बैठक नै सार्ने निष्कर्ष निस्कियो।'

के मा विवाद?

आइतवारको सचिवालय बैठक अगाडि नेताहरुले शीर्ष तहमा छलफल गरी एकता अन्तिम चरणमा पुगेको र भागबन्डा मिलेको बताउँदै आएका थिए। उनीहरुकै भनाइ मान्ने हो भने पनि आइतवारको सचिवालय बैठकले सबै टुंगो लगाउनुपर्ने थियो। तर विवाद बल्झियो।

असार ३१ गते बसेको शीर्ष नेताहरुको बैठकले एकता प्रक्रियाको गृहकार्य पूरा गरेको र पाँच गतेको सचिवालय बैठकले अनुमोदन गर्ने महासचिव विष्णु पौडेलले बताएका थिए।  सो बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’का साथै महासचिव पौडेल र नेता रामबहादुर थापा सहभागी थिए।

सोही दिन अध्यक्ष प्रचण्डले समेत एकता टुंगिएको र 'फिल इन दी ब्ल्यांक'मात्र गर्न बाँकी रहेको बताएका थिए।

भागबण्डा मिलिसकेको अवस्थामा पनि खाली ठाउँ भर्ने बेला विकल्पहरु धेरै हुँदा खाली ठाउँ भर्न ने क पालाई सकस परेको हो।

ने क पाका ३२ केन्द्रीय विभाग मध्ये पूर्वएमालेको भागमा १८ र पूर्वमाओवादीका भागमा १४ विभाग पाउने गरी भागबन्डा मिलाइएको छ। तर, कुन विभाग कसलाई दिने र कसले नेतृत्व गर्ने विषयमा सहमति जुट्न नसकेको हो।

'विभागहरुमा कुरा मिलेको छैन। सबैलाई समेट्ने गरी छलफल भइरहेको छ। शीर्ष नेताहरु नै विभागको नेतृत्वमा बस्न हानथाप हुँदा समस्या देखिएको हो,' ती नेताले भने। ने क पा भित्रको शक्तिशाली मानिएका संगठन विभाग, विदेश विभाग, नीति तथा कार्यक्रम विभाग, स्कुल विभाग, अर्थ विभागमा नेताहरुको जोड छ।

संगठन विभागमा नेता वामदेव गौतम, रामबहादुर थापाको दाबी छ। गौतमले आफू पक्का भएको घोषणा गरिसकेका छन्। विदेश विभागमा वरिष्ठ नेता माधव नेपाल र नीति विभागमा अर्का वरिष्ठ नेता झलनाथ खनालको विषयमा नेताहरु सहमत छन्। तर, स्कुल विभागमा पुगेर विकल्प दुई वटा परेका छन्।

प्रचण्डले भनेजस्तै एउटा खाली ठाउँ भर्नका लागि ठाउँ एक विकल्प दुई हुँदा समस्या परेको छ। शक्तिशाली मानिएका तीन विभाग पूर्व एमालेको भागमा पर्दा स्कुल विभाग र अर्थ विभाग पूर्व माओवादी समूहले पाउनुपर्ने दाबी गरिररहेको छ। स्कुल विभागमा प्रवक्ता श्रेष्ठले दाबी गरिरहेका छ। अर्को तिर पूर्व एमाले समूहबाट उपप्रधानमन्त्री समेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेलले पनि दाबी गरिरहेका छन्।

सचिवालय सदस्यहरु भित्रैबाट एउटा विभागमा दुई आकांक्षी हुँदा सहमति जुट्न सकेको छैन। आइतबार सचिवालय बैठक अगाडि दुबै समूहले छुट्टाछुट्टै बैठक गरेका थिए। पूर्व एमाले समूह बालुवाटार र पूर्व माओवादी समूह प्रचण्ड निवास खुमलटारमा बैठक बसेका थिए।

बैठकमा पार्टी प्रवक्ता श्रेष्ठले स्कुल विभाग छाडन नसकिने भन्दै प्रचण्डमाथि दबाब दिएका थिए। सो अनुरुप सो बैठकले स्कुल विभाग नछाड्ने निर्णय गरेको थियो।

पार्टीको सिद्धान्त तथा कार्यदिशाहरुको बारेमा कार्यकर्ताहरुलाई प्रशिक्षित गर्ने यो विभागमा पोखरेललाई जसरी पनि रोक्ने रणनीतिमा पूर्व माओवादी समूह लागि परेको छ। पछिल्लो समय ने क पाभित्र अन्तरिम विधानमा जनताको जनवाद लेखे पनि पोखरेलले जनताको बहुदलीय जनवाद (जबज)को बारेमा बहस चलाएका थिए। उनले आफै जिल्ला जिल्लामा गएर यस विषयमा बहस चलाउने सार्वजनिक रुपमा घोषणा गरेका थिए।

माओवाद र २१ औं सताब्दीको जनवाद छाडेको माओवादी 'जनताको जनवाद'मा आएको थियो। २१ औं शताब्दीको जनवाद र जबज को विषयमा महाधिवेशनले निर्णय गर्ने सहमति भएको थियो। पछिल्लो समय पोखरेलले चलाएको जबजको बहसले प्रचण्डसमेत सशंकित भएका छन्। त्यसैले पनि स्कुल विभाग नछाड्ने अडानमा माओवादी समूह छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell