PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

मलेसिया विरुद्ध 'गर या मर'को स्थितिमा नेपाल, चिन्ता ब्याटिङ र पारसको



गोविन्दराज नेपाल

मलेसिया विरुद्ध 'गर या मर'को स्थितिमा नेपाल, चिन्ता ब्याटिङ र पारसको
Photo Credit : Cricketingnepal

काठमाडौं : कतारसँग पहिलो खेलमै ४ विकेटको अप्रत्यासित हार बेहोरेपछि आइसीसी टी २० विश्वकप क्वालिफायर (एसिया फाइनल)  मा नेपालको आगामी यात्रा चुनौतीपूर्ण बनेको छ।

क्वालिफायरमा माथिल्लो वरीयताको टोली र उपाधि जित्ने फेभरेट टिम को ट्याग लागे पनि पहिलो खेलमा नेपालले गरेको प्रदर्शन भने निराशाजनक नै रह्यो।

दोस्रो दिनको खेलपछि घरेलु टोली सिंगापुर २ खेलबाट ३ अंकसहित शीर्ष स्थानमा रहँदा नेपाल भने अझै अंकविहिन छ। पाँच राष्ट्र सम्मिलित यस क्वालिफायरबाट विजेता अर्थात एक टोलीमात्र ग्लोबल क्वालिफायर पुग्नेछ। जुन सन् २०२० मा अष्ट्रेलियामा हुने टी २० विश्वकप पुग्ने अन्तिम खुड्किलोको रुपमा रहेको छ।

फाइल फोटो

 

अक्टोबर-नोभेम्बरमा हुने उक्त क्वालिफायरमा पुग्न अहिले एसियाका सबै टोलीको बाटो खुल्ला रहेको छ। पाँचमध्ये नेपालमात्र अंकविहिन छ।

एक टोलीले मात्र युएईको टिकट काट्ने भएकोले नेपालको लागि अबको तीनवटै खेल महत्वपूर्ण छ। यस अर्थमा कि नेपालले अब कुनै पनि खेल हार्नुहुँदैन।

नेपालले बुधवार दोस्रो खेल मलेसियासँग खेल्दैछ। मलेसिया नेपालको लागि नौलो प्रतिद्वन्द्वी होइन। दश दिन अघिमात्र नेपालले मलेसियासँग उसैको मैदानमा दुई खेलको टी २० आई सिरिज खेलेको थियो र दुवै खेल जित्दै क्लिनस्वीप गरेको थियो।

तर अहिले समय फरक छ। स्थान फरक छ। प्रतियोगिता फरक छ। हार र जितले नेपालको आगामी बाटो फरक बन्नेछ। मलेसियासँगको खेलले नै नेपालको टी २० विश्वकपसम्म पुग्ने बाटोको नक्सा कोर्नेछ।

नेपालले हारबाट क्वालिफायर सुरुवात गर्दा मलेसियाले पहिलो खेलमा कुवेतलाई हराउदै २ अंक जोडिसकेको छ।

त्यसैले भोलि हुने खेल नेपालको लागि 'गर या मर' को अवस्थामा छ। मलेसियासँग खेलेपछि नेपालले अन्तिम दुई खेल खेल्नुअघि दुई दिनको रेस्ट पाउनेछ। त्यसैले अहिले नेपालले मलेसियासँगको खेलमा मात्र फोकस हुनु जरुरी छ। नेपालले मलेसियासागको खेलपछि शनिवार कुवेत र आइतवार घरेलु टोली सिंगापुरसँग अन्तिम खेल खेल्नेछ।

सम्भवत नेपाल-सिंगापुरको खेल नै यो क्वालिफायरको विजेताको लागि निर्णायक हुन सक्ने अनुमान यसअघि नै भइसकेको छ। त्यसको लागि नेपाल मलेसिया बीचको खेलको नतिजा पनि हेर्नुपर्छ। सिंगापुरले नेपालसँग खेल्नुअघि मलेसियासँग खेल्नेछ। पहिलो खेलमै कतारलाई हराएको सिंगापुरले वर्षाका कारण खेल रद्ध भएपछि कुवेतसँग १-१ अंक बाँडेको थियो।

कुवेत पहिलो खेलमा मलेसियासँग हारेको कारण उसको दुई खेलबाट १ अंकमात्र छ। मलेसियाले अहिलेसम्म १ खेलमात्र खेलेको छ र अपराजित रहँदै २ अंक जोडेको छ। यदि नेपालले मलेसियालाई हराएमा मलेसियाको लागि पनि आगामी यात्रा कठिन हुनेछ।

यदि नेपाल मलेसियासँग पराजित भएमा भने बाँकी खेल अघि नै नेपालको आगामी यात्रा समाप्त हुन सक्ने सम्भावना रहन्छ। बुधवार एक खेलमात्र हुनेछ भने बिहीवार रेस्ट डे रहेको छ। नेपालले कुवेतसँग खेल्नुअघि शुक्रवार अन्य दुई खेल हुनेछ। जसमा कुवेत र कतार तथा सिंगापुर र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ। यस खेलहरुबाट पनि नेपालको अगाडिको यात्रा कस्तो हुने केही हदसम्म निर्धारण हुनेछ।

 

चिन्ता ब्याटिङ र कप्तान पारसको

कतारविरुद्धको पहिलो खेलमा नेपाल सबै क्षेत्रमा कमजोर देखियो। थोरै लक्ष्य भएकोले बलरहरुले जितसुकै राम्रो गरेपनि डिफेन्ड गर्न कठिन थियो।

तर त्यसअघि नै नेपालले ब्याटिङमा कमजोर प्रदर्शन गरिसकेको थियो भने टोलीका कप्तान पारस खड्का घाइते भइसकेका थिए। नेपालको इनिङ्समा कुनै पनि ब्याट्सम्यानले ३५ रनको आँकडासमेत हुन सकेनन् भने अर्धशतकीय साझेदारी पनि हुन सकेन। सीधा भन्ने हो भने नेपालको ब्याटिङ 'फ्लप' नै रह्यो।

कप्तान पारस र उपकप्तान ज्ञानेन्द्र मल्ले पहिलो विकेटका लागि कीर्तिमानी ४९ रनको साझेदारी गर्नु नै नेपालको उपलब्धिको रुपमा रह्यो। मिडल अर्डरमा दिपेन्द्र सिंह ऐरीले केही धैर्य देखाए पनि अन्य खेलाडीले उनलाई गतिलो साथ दिन सकेनन्। औंलाको चोट लागेपछि कतारविरुद्ध नै पुनरागमन गरेका उनले ३५ बल खेल्दै १ चौका र १ छक्काको मद्दतमा ३४ रन बनाए। फिल्डिङतर्फ उनले दुई रनआउटका लागि उत्कृष्ट प्रदर्शन गरे।

फाइल फोटो

युवा टिमका कप्तान रोहित कुमार पौडेललाई नखेलाउनु सोमपाल कामीलाई पाँचौ नम्बरमा ब्याटिङ गराउनु ६ जना बलर खेलाउनु जस्ता रणनीति सफल नभएको भन्दै आलोचनासमेत हुन थालेको छ। नेपालले कमजोर प्रतिद्वन्द्वदी विरुद्ध नै धेरै बलर खेलाउनु उपयुक्त नभएको क्रिकेट जानकारहरुको भनाई छ। कतार विरुद्ध एक जना ब्याट्सम्यान 'सर्ट' भएको व्याख्या समेत हुन थालेको छ। हारमा सबै कमजोरी छताछुल्ल हुने कारण पनि यो सबै बाहिर आएको हो।

यस्तै पहिलो पटक नेपालको मुख्य प्रशिक्षक भएपछि उमेश पटवालको यो नै पहिलो प्रतियोगितात्मक खेल हो। त्यसले पनि उनलाई टिम सेट गर्न समय लागेको हुन सक्छ। तर अर्को खेलमा पनि यस्तै भयो भनेर भन्ने छुट कसैलाई हुने छैन।

फाइल फोटो

ब्याटिङ कमजोर भइरहेकै बेला नेपालको ओपनरको भूमिकामा देखिँदै आएका कप्तान पारस खड्काको चोटका कारण नेपाललाई समस्या थपिएको छ।

पहिलो इनिङ्समा ब्याटिङ गर्दा नै पारसलाई कम्मरमा समस्या भएकोले उनी दोस्रो इनिङ्स मैदानमा उत्रेनन्। पभेलियनमै बसेर पारसले खेल हेरे। पारस नहुँदा उपकप्तान ज्ञानेन्द्रले कार्यवाहक कप्तानको भूमिका निर्वाह गरेका थिए।

दोस्रो इनिङ्स खेल्न नसकेका पारसले भोलिको खेल खेल्ने वा नखेल्ने निश्चित छैन। त्यसको निर्णय भोलि बिहानसम्म हुने प्रशिक्षक र कप्तानले बताएका छन्। यदि पारस पूर्ण रुपमा फिट नहुने हो भने त्यो नेपालको लागि अर्को समस्या हुनेछ। पारस नखेल्दा नेपालको ओपनिङ देखि टिम कम्बिनेसमै असर प्रष्ट छ। पारस नहुँदा कसले ओपनिङ गर्ने टुङ्गो छैन भने मिडल अर्डरमा समेत फेरबदल हुन सक्छ।

 

अंकतालिका:

 

हेड टु हेडमा नेपाल अगाडि

टी २० क्रिकेटमा मलेसियासँगको हेड टु हेडमा नेपाल अगाडि छ। यस फर्म्याटमा नेपाल र मलेसियाबीच ६ खेल हुँदा नेपालले ५ खेल जितेको छ भने मलेसियाले १ खेल मात्र जितेको छ। जसमध्ये दुई जित नेपालले दश दिन अगाडि मलेसियामै हात पारेको थियो।

उक्त दुई खेल आइसीसी टी २० अन्तर्राष्ट्रिय मान्यता पाएको खेल थियो। त्यसअघिका चार खेल भने टी २० मात्र थियो।

 

२००७ एसीसी टी २० : नेपाल २१ रनले विजयी

२००९ एसीसी टी २० : मलेसियाले ६ विकेटले विजयी

२०१३ एसीसी टी-२० : नेपाल १९ रनले विजयी

२०१८ टी २० विश्वकप एसिया वेष्टर्न रिजन क्वालिफायर : नेपाल ८ विकेटले विजयी

२०१९ टी २० आई सिरिज

पहिलो खेल : नेपाल ७ विकेटले विजयी

दोस्रो खेल : नेपाल ६ रनले विजयी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell