'हेलो! म जया बोलेको। तपाइलाई भेट्नु छ।' असार २८ गते कल आयो।
'को जया, के काम?' सौरभ( नाम परिवर्तन) एकछिन अलमल पर्छन्। तर जयाको फोन आउने क्रम रोकिदैन।
दिनभर जसो समय समयमा फोन आइरहन्छ। जया खानले आफूलाई परिचय दिँदै सम्पर्क बढाइरहन्छिन्। उनीहरुको सम्पर्क अब फोनमा मात्र सीमित रहदैन। फेसबुक, इमो हुदै भिडियो च्याटसम्म पुग्छ।
असार १ गते बेलुका उनीहरु भेटघाट हुने तय हुन्छ। झापा बिर्तामोड नगरपालिका वडा नम्वर ४ स्थित कूमारी बैंक छेउमा भेट्न बोलाइएको हुन्छ। राति ९ बजेतिर उनीहरुको भेट हुन्छ। शारीरिक सम्पर्क राख्ने निर्णयसम्म पुग्छन् उनीहरु। व्यापारीले होटलमा जाने बताउँछन्। तर उनी मान्दिनन्।
नजिकै आफ्नो साथीको फ्ल्याट रहेको भन्दै गल्ली भित्रबाट घरको माथिल्लो कोठामा पुर्याउछिन्। केही दिनको चिनजानले उनीहरुको सम्बन्ध यसरी अर्कै तरिकाले बढ्दै थियो। तर एक्कासी २-३ जनाको समूह कोठाभित्र पस्छन्।
एकाएक दुवै जना हच्किन्छन्। 'को हो? के हो?' साथमा ल्याएको पेस्तोल देखाउँदै व्यापारीलाई नियन्त्रणमा लिएर कपडा खोल्न लगाईइ नाँगै बनाइ भिडयो खिच्न थाल्छन्। ‘ पचास लाख रुपैयाँ दिने भा दिए नत्र सामाजिक सञ्जालमा भिडियो हाल्दिन्छु,' धम्की आयो। व्यापारीको होसहवास नै उड्छ। सौरभलाई ठूलो झड्का लाग्छ।
साउन ५ गतेसम्म दिने शर्त राखी फिरौती मागी सो फिरौती रकम नदिए ज्यान मार्ने धम्कीसमेत दिई केटीलाई उनीहरुले नै छाडी सौरभलाई चिनजानको साथी मेराज खानको जिम्मा लगाएर जान्छन्। सौरभ र उनीहरुबीच चालिस लाख रुपैयाँ दिने सहमति हुन्छ।
साउन ५ गते घटनाले टुइष्ट लिन्छ। प्रहरीले चार जनालाई नियन्त्रणमा लिन्छ। त्यसै मध्ये एक युवती हुन्छिन् सौरभलाई फ्ल्याटसम्म पुर्याउने। तर नाम भने रितु फियाक लिम्बु। अर्थात जया। उनीहरुले नै योजना बनाएर सौरभबाट रकम लुट्ने योजना बनाएको खुल्छ।
रितुले फेसबुकमा जया नामको नक्कली आइडी बनाएर फिरौती मागेको अनुसन्धानमा देखिएको घटनाको अनुसन्धान गरिरहेका डिएसपी मोहन थापा बताउँछन्।‘ केटीको प्रयोग गरेर लुट्ने योजना बनाएको देखियो। घटनाको थप अनुसन्धान भइरहको छ,‘ डिएसपी थापाले भने।
प्रहरीले झापा बिर्तामोड नगरपलिका वडा नम्वर ४ भद्रपुर रोड बिजुली अफिस पश्चिम बस्ने वर्ष २९ को मेराज खान, भारत पश्चिम बंगाल,जिल्ला दार्जिलिङ २७ वर्षीय सञ्जु क्षेत्री भन्ने सुजन शंकर र बिर्तामोड नगरपालिका वडा.४ बस्ने वर्ष २५ को प्रकाश दासलाई पक्राउ गरेको छ।।
उनीहरुको साथबाट बा.१५ च ७३३९ नम्वरको कार नक्कली पेस्तोलसमेत भेटिएको डिएसपी थापाले जानकरी दिए। सञ्जु क्षेत्री भन्ने सुजन शंकर २०७४ सालमा २ जना महिलालाई जवरजस्ती यौन धन्दा (वेश्यवृति) मा लगाएकोले मानव वेचविखन तथा ओसारपसार मुद्धामा झापा जिल्ला अदालतबाट १० वर्ष कैद सजाय तोकिएकोमा फरार अभियुक्त भएको खुलेको छ।